+
+
Shares

एमाले पङ्क्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

‘अहिले यसो कम्युनिस्ट आन्दोलनमा हेर्‍यो भने अलि–अलि आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसमा पनि हेर्‍यो भने अब कहिले सकिँदैन, अब बर्बाद भयो भन्ने बढी देखिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १५:१७
फाइल तस्वीर

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले दक्षिणपन्थी, स्वेच्छाचारी र फासिस्ट प्रवृत्तिविरुद्ध लड्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने बताएका छन् ।

दैलेखमा आयोजित नेकपाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निराशा र हतासाको मनोविज्ञान बढेको भन्दै त्यसबाट मुक्त भएर अगाडि जानुपर्ने बताएका हुन् ।

‘हामी युद्ध मोर्चा होस्, चुनावी मोर्चामा जितेको बेला विपक्षलाई एकदम कमजोर ठान्दिने, अनि हारेको बेला विपक्षलाई भयंकर ठूलो ठान्ने, कहिले जितिन्न, कहिले हराउन सकिन्न जस्तो ठान्ने,’ उनले भने, ‘अहिले यसो कम्युनिस्ट आन्दोलनमा हेर्‍यो भने अलि–अलि आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसमा पनि हेर्‍यो भने अब कहिले सकिँदैन, अब बर्बाद भयो भन्ने बढी देखिन्छ ।’

यहाँनेर उनले एमाले नेताहरूले सहकार्यका लागि आग्रह गर्दै आएको बताए । ‘अझ हाम्रो पङ्तिमा भन्दा एमालेका साथीहरूमा अलि बढी त्यो छ । जहाँ गयो भने पनि पार्टी मिलाऊँ, गठबन्धन गरौँ, छिटो एकता गरौँ, के गर्ने हो जहाँ गए पनि लौ कमरेड लाग्नुपर्‍यो भन्ने । त्यो लेभलको हतासा पनि हुन जरुरी छैन’, नेता पुनले भने ।

चुनाव जितेको अवस्थामा संयमी र धैर्यतापूर्वक आफ्नो शक्तिलाई सही ढंगले प्रयोग गर्नुपर्ने र हारेको बेलामा सम्हालिएर अगाडि बढ्न सक्नुपर्ने उनको आग्रह छ ।

तथापि, आफूहरू सडक र सदनको संघर्षमा भने एमालेसँग पनि सहकार्य गर्नुपर्ने पक्षमा रहेको उनले बताए । संविधान र वर्तमान व्यवस्था रक्षाका लागि तयार हुने प्रजातान्त्रिक शक्तिहरूसँग पनि सदन र सडक दुवै मोर्चामा सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

‘संविधान व्यवस्था रक्षाको लागि तयार हुनेहरूलाई सदनमा, सडकमा चाहिँ सहकार्य गर्ने कुरा अहिलेको आवश्यकता हो,’ उनले भने, ‘त्यो कुरामा चाहिँ हामी आम जनतालाई, कार्यकर्तालाई तयार गर्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?