News Summary
Generated by OK AI. Editorially reviewed.- युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघले ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ सञ्चालन गर्ने सम्झौता गरेका छन् ।
- सम्झौताअनुसार मन्त्रालयले नीतिगत नेतृत्व र डिजिटल प्रणाली चलाउनेछ भने महासंघले मेलाको व्यवस्थापन, रोजगारदाता परिचालन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने छ ।
- मेलामा रिक्त पद संकलन, मेलास्थलमै अन्तर्वार्ता र प्रारम्भिक छनोट गरी रोजगार मिलान गरिनेछ, साथै प्रत्येक प्रदेशमा १० वटा तालिम सञ्चालन गरिने छ ।
३ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने भएको छ ।
रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारी अवसर सिर्जना गर्ने तथा उद्योग–व्यवसायको वास्तविक जनशक्ति आवश्यकता अनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो ।
बिहिबार मन्त्रालयमा श्रममन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा मेला सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।
सम्झौतामा मन्त्रालयका तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघ तर्फबाट उपाध्यक्ष तथा रोजगार परिषद् उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगार सम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्ने छ भने महासंघले मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयन नेतृत्व महासंघले गर्ने छ ।
यसका लागि महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा आन्तरिक रोजगारीका अवसर विस्तार गर्नु, श्रम बजारको माग अनुसार दक्ष जनशक्ति विकास गर्नु र सिपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने मुख्य उद्देश्य रहेको महासंघ उपाध्यक्ष तथा रोजगार परिषद् सभापति पाण्डेले जानकारी दिए ।
मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदाता सहभागी गराइ उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्ति विवरण संकलन गरिने छ ।
रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिने छ ।
त्यसैगरी रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निकायको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० वटा तालिम सञ्चालन गरिने छ । यसलाई दिगो सञ्चालन गर्न महासंघले थप सहकार्य गर्ने छ भने तालिमका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउने छ ।
मेला व्यवस्थित बनाउन मन्त्रालयले जबफेयर डट श्रमसन्सार डट जीओभी डट एनपी प्रणाली सञ्चालनमा ल्याउने छ । मेलामा सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइने छ ।
यसका लागि महासंघ, मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सिप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिने छ ।
प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा विकास साझेदारको सहभागिता र सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ ।
सरकार र निजी क्षेत्रबीचको सहकार्य थप प्रभावकारी बनाउँदै सिपयुक्त जनशक्ति विकास, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्योग–व्यवसायको जनशक्ति आवश्यकता सम्बोधन गर्न मेला महत्त्वपूर्ण हुने विश्वास महासंघले लिएको छ ।
प्रतिक्रिया 4