७ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद आयोजनाको जिम्मा पाएसँगै कर्णालीले सर्वाधिक सामना गर्ने प्रश्न थियो, ‘के कर्णाली प्रदेशले बसोबास व्यवस्थापन गर्न सक्छ ?’ जवाफमा कर्णाली सरकारका प्रतिनिधिहरू नै अनकनाउँथे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि बसोबास, पानी र पूर्वाधारको अभाव देखाउँदै पटकपटक प्रतियोगिताको मिति नै परिवर्तन गरेको थियो । पाँचौं पटक मिति सारेर कर्णालीले पहिलो पटक दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ ।
अब ‘बसोबास व्यवस्थापनमा कर्णाली अब्बल छ’ भनेर निर्धक्क भन्न सकिने स्थानमा उभिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल बताउँछन् ।
‘१० हजार खेलाडी र प्रतिनिधिहरूको व्यवस्थापन गर्नु सामान्य विषय थिएन,’ अनलाइनखबरसँग कुरा गर्दै हमालले भने, ‘फिल्डमा गएपछि कन्फिडेन्स आउँदो रहेछ । अहिले थाहा भयो, बजारमा कयौँ सुविधासम्पन्न होटेलहरू खुलिसकेका रहेछन् ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकास मन्त्री जितबहादुर मल्ल र प्रदेश खेलकुद परिषद्का सदस्यसचिव रविन्द्र चन्दले पनि ‘बसोबास व्यवस्थापन’ प्रमुख चुनौती रहेको बताउँदै आएका थिए । अन्य खेल क्षेत्रका जानकारहरूले पनि कर्णालीका लागि सबैभन्दा ठूलो चुनौती नै बसोबास व्यवस्थापन हुने आकलन गरिरहेका छन् ।
प्रदेश सरकारले सोही भाष्यलाई चिर्न भन्दै प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष हमालको संयोजकत्वमा बसोबास व्यवस्थापन उपसमिति गठन गरेको छ । जिम्मेवारी पाएलगत्तै फिल्डमा खटिएको उपसमितिले बसोबास व्यवस्थापनमा कुनै पनि समस्या नरहेको दाबी गरेको छ ।
‘हामीले तीन चरणमा खेलाडीको बसोबास व्यवस्थापन गर्ने योजना बनाएका छौँ । करिब साढे १० हजार खेलाडी र प्रतिनिधिहरूको बसोबास व्यवस्थापन हाम्रो जिम्मेवारी रहेको छ,’ उपसमिति संयोजक हमालले भने, ‘बाहिर चर्चा गरिए जस्तो बसोबासमा कुनै समस्या हुँदैन । उत्कृष्ट व्यवस्थापन हुन्छ ।’
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने ८ मंसिरदेखि नै सञ्चालन हुँदै छन् । त्यसका लागि केही प्रदेशका खेलाडी टोलीहरू आइतबारसम्म कर्णालीको राजधानी वीरेन्द्रनगर आइसकेका छन् । अन्य प्रदेशका खेलाडीहरू पनि सोमबारसम्म वीरेन्द्रनगर आइपुग्ने उपसमिति संयोजक हमालले बताए ।
उनका अनुसार, बास व्यवस्थापन उपसमितिले बनाएको पछिल्लो कार्यतालिकाअनुसार दशौँ खेलकुद प्रतियोगिताका खेलाडी, पाहुनाका लागि पर्याप्त होटेल तथा बेड संख्याको व्यवस्थापन गरिएको छ । समितिले पटकपटक अनुगमन र सर्वेक्षण गरेर होटेल र बेड संख्याको यकिन तथ्याङ्क निकालेको छ ।
‘दुई–तीन वर्ष अगाडिको होटेल संख्या र बेडको आधारमा व्यवस्थापन चुनौतीपूर्ण छ भन्ने चर्चा चलाइएको रहेछ,’ उपसमिति संयोजक हमालले भने, ‘पछिल्ला दुई वर्षमा राजधानी वीरेन्द्रनगरमा राम्रा र स्तरीय होटेल तथा रेस्टुरेन्टको विकास भइसकेको रहेछ । हामी पनि फिल्डमै गएपछि थाहा पायौँ ।’
हमालका अनुसार, उपसमितिले ५ हजार ९०० बेड संख्या सुनिश्चित गरेको छ । ३५ सय खेलाडीका दरले तीन सिफ्टमा १० हजार ५०० खेलाडीको व्यवस्थापन गरिने छ । पहिलो चरणमा ५७ वटा होटेलमा खेलाडी व्यवस्थापन गरिने छ भने अरू ४२ होटेल होल्डमा राखिएको छ ।
‘होल्डमा राखिएका होटेलमा दर्शक, अन्य प्रदेशबाट आउनुभएका पाहुना र कर्णालीकै विभिन्न जिल्लाबाट आउने पाहुनाको बसोबास व्यवस्थापन गर्छौं,’ उपसमिति संयोजक हमालले भने, ‘१०औँ राष्ट्रिय खेलकुदमा प्रतियोगितामा भाग लिन, हेर्न वीरेन्द्रनगर आउने खेलाडी र खेलप्रेमीहरूले वासस्थान नपाएर फर्किनुपर्ने स्थिति आउने छैन ।’
उपसमिति संयोजक हमालका अनुसार विगतका वर्षमा गरिएको होटेल अनुमानका आधारमा दुई हजार २०० जति होटेल बेडहरूको संख्या बस्न सक्ने अनुमान गरिएको थियो । ‘हामीलाई पनि होटेल अनुगमन गर्नुभन्दा पहिला सकिँदैन कि भन्ने लागेको थियो,’ उनले भने, ‘हामीले अहिले बेड तोकेका बाहेक ७ हजार बढी होटेल बेड रहेछन् ।’
तर, पनि समितिले करिब ६ हजार बेडमात्रै लिस्टमा राखेको हमालले बताए । त्यसो गर्नुका पछाडि स्तर मेन्टेन, सरसफाइ जस्ता कुराहरूको हिसाबले उक्त बेड संख्यालाई मात्रै यकिन गरिएको उनको भनाइ छ ।
प्रतियोगिताको उद्घाटनमा प्रधानमन्त्री बालेन शाह आउने चर्चा छ । तर प्रधानमन्त्री आउने या नआउने आधिकारिक जानकारी नभएकाले बसोबासको विषयमा अहिलेसम्म कुनै यकिन नगरिएको हमालले बताए । ‘भीभीआईपी प्रोटोकलको जिम्मेवारी राखेपकै हो । त्यो विषयमा हामीलाई खासै जानकारी छैन,’ हमालले भने ।
उनका अनुसार बसोबास व्यवस्थापनमा मुख्य चुनौती खेलाडीको स्तर र बजेटअनुसार होटेल छनोट गर्नु हो । विभागीय टोलीका खेलाडीले आफ्नो सुविधाअनुसार फरकफरक मूल्यका होटेल खोज्ने भएकाले एउटै मापदण्डमा व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताए ।
केही खेलाडी एक हजारदेखि १२ सय रुपैयाँसम्मको होटेलमा बस्न तयार रहेको र कतिपयले ७०० रुपैयाँमै पनि बस्ने गरेको उनको भनाइ छ । होटलको मूल्यअनुसार सुविधा फरक हुने भएकाले सस्तो होटेल रोज्ने खेलाडीलाई त्यसअनुसारको सुविधा स्वीकार गर्न आग्रह गरिएको हमालले बताए ।
‘हामीले सस्तो होटेल खोजिदिएका छौँ भने खाना, पानी र बसोबासको सुविधाबारे अनावश्यक गुनासो नगर्न आग्रह पनि गरेका छौँ,’ उनले भने । सातै प्रदेशका प्रतिनिधिसँग होटेल व्यवस्थापनबारे निरन्तर समन्वय भइरहेको उनले बताए ।
बसोबास व्यवस्थापनका लागि अहिलेसम्म नेपाल आर्मीको फुटबल टिम आएर आफ्नो ब्यारेकमा बसिसकेको अवस्था छ । गण्डकी र सुदूरपश्चिमको टिम आएर आफ्ना मातहतका होटेलहरूको व्यवस्थापन गरिसकेको छ । कोशी, लुम्बिनी र बागमतीको टिम सोमबार दिउँसोसम्म कर्णाली प्रदेशमा खेलाडीसहित आइपुग्ने उनले बताए ।
उपाध्यक्ष हमालका अनुसार, कर्णाली प्रदेशमा भौतिक पूर्वाधार, खेलस्थल, होटेल व्यवस्थापन र भेन्युको विषयमा सम्पूर्ण रूपमा तयारी पूरा भएको छ । ‘राष्ट्रिय खेलकुद परिषद्ले गर्ने आफ्नो भूमिकाका कामहरू के–कति गरेका छन्, उहाँहरूलाई नै थाहा होला । तर हाम्रोतर्फको सबै जिम्मेवारी पूरा गरिसकेका छौं’, उनले भने ।
प्रतिक्रिया 4