८ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपाल बाहिरिएको हो ।
पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाएपनि अन्यबाट उल्लेख्य योगदान हुन सकेन । ५० बल खेलेका उनी अन्तिम विकेटका रूपमा आउट भए ।
मयनपछि बसिर अहमदले ११ रन बनाए । अन्यको दोहोरो अंकमा रन बन्न सकेन । ६ जना शून्यमै आउट भए ।
पाकिस्तान शाहीन्सका लागि मोहम्मद हस्नेन र सुफ्या मोकिमले ३-३ विकेट लिए भने इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट लिए ।
त्यसअघि रासिद खानले लिस्ट ए करियरमा पहिलो ५-विकेट प्रदर्शन गर्दा नेपालले पाकिस्तान शाहीन्सलाई १६८ रनमा अलआउट गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा अलआउट भएको थियो । रोहेल नाजिर ८३ बलमा ६४ रन बनाएर नटआउट रहे । हसन नवाजले २८ रन बनाए । अहमद दनियालले १६, हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन बनाए ।
नेपालका लागि रासिदले ८ ओभरमा ३९ रन दिएर ५ विकेट लिए । लिस्ट ए डेब्यू गरेका अभिशेष गौतमल २ तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले १-१ विकेट लिए ।
नेपालले पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो ।
योसँगै समूह ‘बी’ मा तीनवटै खेल जितेको पाकिस्तान ए समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गर्दा भारत ए दोस्रो भएर सेमिफाइनलमा पुगेको छ ।
प्रतिक्रिया 4