+

च्याम्पियन्स लिग : रियल मड्रिडको फराकिलो जित, आर्सनल र सिटी रोकिए

२०८३ मंसिर  ९ गते ९:२२ २०८३ मंसिर ९ गते ९:२२

काठमाडौं । किलियन एमबाप्पेको दुई गोल मदतमा रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार पीएसभी आइन्डहोभनलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा सुरुवातमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै पाँच गोल गरेको हो ।

च्याम्पियन्स लिगमा रियलले शतप्रतिशत जित यात्रालाई कायम राख्दै लगातार ५ खेल जितेको छ ।

इभान पेरिसिचले ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसभीलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम रह्यो ।

फेडेरिको भलभर्डेले ५०औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए । त्यसपछि जुड बेलिङघहमले ६०औं मिनेटमा गोल गरेपछि रियलले अग्रता लियो । एमबाप्पेले ६४औं र ८४औं मिनेटमा गोल गरे । यस्तै भिनिसियस ज्नियरले ८७औं मिनेटमा गोल गरे ।

लगातार पाँचौं जितपछि रियल १५ अंक जोड्दै च्याम्पियन्स लिगको अंक तालिकामा शीर्ष स्थानमा छ ।

प्रिमियर लिग क्लबहरु आर्सनल र म्यानचेष्टर सिटी भने आफ्ना खेलमा बराबरीमा रोकिएका छन् ।

आर्सनल अग्रता लिएर पनि कायम राख्न नसक्दा जर्मनीको बोरुसिया डर्टमुन्डसँग १–१ को बराबरीमा रोकियो । भिक्टोर योकेरेसले घरेलु मैदानमा १०औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएपनि डर्टमन्डका म्याक्सिमिलयन बेइरले ५५औं मिनेटमा बराबरी गोल फर्काए । दोस्रो बराबरीपछि ५ खेलबाट ११ अंक जोडेको आर्सनल पाँचौ स्थानमा छ । डर्टमन्ट १० अंकसहित सातौं स्थानमा उक्लेको छ ।

म्यानचेस्टर सिटीले दुई पटक पछि रेको स्थितीमा पुनरागमन गर्दै इटालियन क्लब नापोलीसँग २–२ को बराबरी खेल्यो । रासमस होएलन्डले ५५औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । आयुउब बोउड्डीले ६७औं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि नोए लाङले ७६औं मिनेटमा गोल गर्दै नापोलीलाई २-१ को अग्रता दिलाएका थिए तर राएन चेर्कीले ८६औं मिनेटमा गोल गर्दै सिटीको हार टारे । यस सिजन पहिलो बराबरी खेलेको सिटी १० अंकसहित छैटौं स्थानमा छ ।

अर्को इंग्लिस क्लब एस्टन भिल्ला भने टर्किस क्लब गालातासारेसँग १–० ले पराजित भयो ।

अन्य खेलमा आरबी लाइपजिगले लेन्सलाई ३–१, रियल बेटिसले स्लोभान ब्राटिस्लाभलाई २–० तथा कोमोले एइके एथेन्सलाई, पोर्टोले फेयनुर्डलाई र बोड/गिल्मटले एलएएसकेलाई समान १–० ले हरायो ।

च्याम्पियन्स लिग रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय