९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लगातार दुई खेल जितेको सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।
सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा बुधबार भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्यो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले १४ अंक जोडिन् ।
सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ को प्रदर्शन गर्यो । दोश्रो क्वाटरमा ३ अंक जोडेको मधेश बाँकी क्वाटरमा अंकविहीन रह्यो । सुदुरपश्चिमले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो ।
अब बागमती र मधेशबीच हुने खेलको विजेता क्वारफाइनल पुग्नेछ ।
बुधबारै भएको समूह ‘ए’ को अर्को खेलमा दिभा महर्जनको २० अंक सहयोगमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ ले सहजै हरायो । पहिलो क्वाटरमा ८–० ले पछि परेको पुलिसले बाँकी क्वाटरको नतिजा आफ्नो पक्षमा पार्यो । पुलिसले दोश्रो क्वाटरमा २०–३, तेश्रोमा १०–५ र चौथोमा १८–३ स्कोर गर्यो ।
अब एपीएफ र कर्णालीबीचको खेलले यो समूहबाट क्वाटरफाइनल पुग्ने दुवै टोलीको टुंगो लाग्ने छ ।एपीएफले पहिलो खेलमा पुलिसलाई पराजित गरेको थियो ।
फुल कोर्टमा बिहीबार एपीएफ र कर्णाली, मधेश र बागमती, समूह सी मा रहेको कोशी र गण्डकी तथा समूह डी मा लुम्बिनी र आर्मी बीच प्रतिस्पर्धा हुनेछ । समुह सी र डी मा दुई-दुई टिम मात्र रहेकोले दुवै टिमले क्वाटरफाइनल खेल्ने पक्का छ । बिहीबारको खेलपछि क्वाटरफाइनल समिकरण पनि तय हुनेछ ।
यसैगरी थ्री अन थ्रीमा नेपाल आर्मीले कोशी प्रदेशलाई १३–८ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । आर्मीकी दिब्यान्सी कार्कीले ६ स्कोर गरिन् । ३ टिम रहेको समूह ‘ए’ बाट आर्मी विजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
समूह ‘बी’ बाट बागमती पनि विजेताका हैसियतले क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल रह्यो । बागमतीले मधेशलाई ८–३ ले पन्छायो । बागमतीकी आरुषा महर्जनले ४ अंक बटुलिन् ।
बिहीबार कोशी र एपीएफ, मधेश र कर्णाली, गण्डकी प्रदेश र सुदूरपश्चिम तथा पुलिस र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । बिहीबार फुल कोर्टसँगै थ्री अन थ्री दुवैमा क्वाटरफाइनल समीकरण तयार हुनेछ ।
प्रतिक्रिया 4