+
+
Shares
नियात्रा :

शे-फोक्सुण्डोको अनुपम सौन्दर्य, डोल्पाको अपार सम्भावना

शे–फोक्सुण्डो पदमार्गको मुख्य आकर्षण भनेको यात्राको सुरुदेखि गन्तव्यसम्म बदलिँदै जाने भौगोलिक बनावट र प्राकृतिक दृश्यहरू हुन् । यस पदमार्गमा यात्रा गर्दा कतै जंगल, हरियालीको माझबाट खोला, नदी, नालाको कलकल आवाजसँगै अघि बढ्न पाइन्छ भने कतै सुख्खा भूभाग, उजाड पहाड र फरक भौगोलिक स्वरूपले यात्रुलाई आकर्षित गर्छ ।

छवि रावत छवि रावत
२०८३ मंसिर १२ गते ७:१७

नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाले भरिपूर्ण देश हो। यहाँका हिमाल, पहाड, तालतलैया तथा धार्मिक र सांस्कृतिक सम्पदाले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छन् । यिनै अनुपम गन्तव्यहरूमध्ये डोल्पाको स्थान विशिष्ट छ । प्राकृतिक सौन्दर्य, भौगोलिक विशिष्टता, मौलिक संस्कृति र ऐतिहासिक सम्पदाले सम्पन्न डोल्पाको पहिचान देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत विस्तार गर्न सकिने प्रशस्त सम्भावना छ । विशेषगरी शे–फोक्सुण्डो तालको अनुपम सौन्दर्यले यस क्षेत्रलाई प्रकृतिप्रेमी, पदयात्री तथा साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि आकर्षक गन्तव्य बनाएको छ ।

हालै मलाई आफ्नी जीवन संगिनी डा. दुर्गा वि.सी.(रावत) तथा अन्य सहयात्रीहरूसँग डोल्पाको भ्रमण गर्ने अवसर प्राप्त भयो । पाँच दिनभन्दा लामो यात्राका क्रममा हामीले डोल्पाका मनमोहक प्राकृतिक दृश्यहरूको अवलोकन गर्दै प्रसिद्ध शे–फोक्सुण्डो तालसम्म पुग्ने अवसर पायौँ । नीलो र स्वच्छ पानी, चारैतिर देखिने मनोरम पहाड, शान्त वातावरण र प्रकृतिको अनुपम छटाले हाम्रो यात्रालाई अविस्मरणीय बनायो । तर, यो यात्रामा प्राकृतिक सौन्दर्यको अवलोकनका साथै डोल्पाको स्थानीय जनजीवन, पर्यटन विकाससँग सम्बन्धित केही चुनौती र सुधारका सम्भावनालाई पनि नजिकबाट अनुभव गर्ने अवसर मिल्यो ।

प्राकृतिक विविधताको अनुपम अनुभव

शे–फोक्सुण्डो पदमार्गको मुख्य आकर्षण भनेको यात्राको सुरुदेखि गन्तव्यसम्म बदलिँदै जाने भौगोलिक बनावट र प्राकृतिक दृश्यहरू हुन् । यस पदमार्गमा यात्रा गर्दा कतै जंगल, हरियालीको माझबाट खोला, नदी, नालाको कलकल आवाजसँगै अघि बढ्न पाइन्छ भने कतै सुख्खा भूभाग, उजाड पहाड र फरक भौगोलिक स्वरूपले यात्रुलाई आकर्षित गर्छ । हिमालको काखमा अबस्थित ग्रामीण बस्ती, १५औँ शताब्दीमा निर्मित बोन धर्मको प्रतिनिधित्व गर्ने पल सेनतेन थासुङ्ग तासोलिङ्ग गुम्बा र फोक्सुन्डो ताल नजिक अवस्थित रिग्मो गाउँले पदमार्गलाई अझ मनमोहक बनाउँछ ।

यससँगै विभिन्न कोणबाट देखिने विशाल हिमशृङ्खलाहरूको मनोरम दृश्यले पदयात्रालाई झनै रोमाञ्चक बनाउँछ । एउटै यात्रामा यति धेरै प्रकारका भौगोलिक तथा प्राकृतिक दृश्य अनुभव गर्न पाउँदा मन यसै आनन्दित हुन्छ । शे–फोक्सुण्डो तालको नीलो सौन्दर्य पनि अनुपम छ ।

यसैले शे–फोक्सुण्डो पदमार्गलाई नेपालको प्राकृतिक तथा भौगोलिक विविधता अनुभव गर्न सकिने महत्वपूर्ण पदयात्रा गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिन्छ । यसको उचित प्रचार प्रसार, व्यवस्थित मार्गनिर्देशन, सूचना बोर्ड र दक्ष स्थानीय गाइडको व्यवस्था गर्न सके यस क्षेत्रको पर्यटकीय आकर्षण अझ विस्तार हुने देखिन्छ ।

पर्यटकीय सूचनाको अभाव

यात्राका क्रममा अनुभव भएको एउटा प्रमुख समस्या पर्याप्त सूचना तथा मार्ग निर्देशनको अभाव हो । कतिपय स्थानमा स्पष्ट दिशासूचक बोर्ड, पद मार्गसम्बन्धी जानकारी, दूरी मापन तथा नजिकै रहेका पर्यटकीय स्थलहरूको विवरण पर्याप्त रूपमा उपलब्ध थिएन । पदमार्गको करिब ७ किमि दूरीमा इन्टरनेट तथा मोबाइल नेटवर्कको पहुँच समेत नभएकाले भवितव्यमा उद्धार तथा एवं यात्रुहरू अन्योलमा पर्ने, महत्वपूर्ण पर्यटकीय गन्तव्य छुटाउने र बाटो पहिचान गर्न अनावश्यक समय खर्च गर्नुपर्ने अवस्था देखियो ।

डोल्पाको पर्यटन विकासको योजना बनाउँदा तीन पक्षलाई ध्यान दिनुपर्छ– प्राकृतिक सम्पदाको संरक्षण, स्थानीय समुदायको सशक्तीकरण र व्यवस्थित तथा जिम्मेवार पर्यटन प्रवर्द्धन। यसलाई आत्मसात् गर्न सके डोल्पा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्छ

विशेषगरी पहिलोपटक डोल्पा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि भरपर्दो सूचना अत्यन्त आवश्यक हुन्छ । पर्यटकीय गन्तव्यसम्म पुग्ने बाटो, दूरी, अनुमानित समय, जोखिमपूर्ण क्षेत्र तथा वैकल्पिक मार्गबारे स्पष्ट जानकारी उपलब्ध हुनु सुरक्षित र सहज यात्राका लागि अनिवार्य छ । सम्बन्धित निकायले प्रमुख पदमार्ग, चोक, बाटो छुट्टिने स्थान तथा पर्यटकीय गन्तव्यहरूमा स्पष्ट दिशासूचक बोर्ड राख्न आवश्यक छ ।

पदमार्ग स्थलमा मोवाईल नेटवर्कको उचित प्रबन्ध, नक्सा, सूचना केन्द्र, डिजिटल म्याप, क्यूआर कोड तथा आधिकारिक वेबसाइटमार्फत आवश्यक जानकारी उपलब्ध गराउन सकेमा उपयुक्त हुने देखिन्छ ।

स्थानीय युवालाई दक्ष पर्यटकीय गाइड बनाऔँ

डोल्पाको पर्यटन विकासमा स्थानीय समुदायको सहभागिता अत्यन्त महत्वपूर्ण छ । स्थानीय बासिन्दासँग आफ्नो भूगोल, संस्कृति, परम्परा, रहनसहन र प्राकृतिक सम्पदाबारे महत्वपूर्ण ज्ञान हुन्छ । उचित तालिम र अवसर प्रदान गर्न सके उनीहरू दक्ष पदयात्रा गाइड, पर्यटन सहयोगी तथा सांस्कृतिक परिचायक बन्न सक्छन् ।

संघीय, प्रदेश तथा स्थानीय सरकार, पर्यटनसम्बन्धी निकाय र निजी क्षेत्रले समन्वय गरी स्थानीय युवालाई लक्षित व्यावसायिक तालिम सञ्चालन गर्नुपर्छ । यस्ता तालिममा पदयात्रा तथा पर्यटक मार्गदर्शन, प्राथमिक उपचार, उद्धार तथा आपत्कालीन व्यवस्थापन, आधारभूत अंग्रेजी तथा अन्य विदेशी भाषा, अतिथि सत्कार, पर्यटन व्यवस्थापन र वातावरण संरक्षणसम्बन्धी विषय समावेश गर्न सकिन्छ । यसले पर्यटकलाई सहज र सुरक्षित यात्रा प्रदान गर्नुका साथै स्थानीय युवालाई रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्नेछ ।

अर्कोतिर पर्यटनबाट स्थानीय नागरिकले आर्थिक लाभ पनि पर्याप्त रुपमा गर्न सकेका छैनन् । डोल्पामा स्थानीयस्तरमै होमस्टे, होटल, स्थानीय यातायात, गाइड सेवा, परम्परागत खाना, हस्तकला तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिने प्रशस्त सम्भावना छन् । पर्यटकलाई स्थानीय संस्कृति, परम्परा र जीवनशैलीसँग परिचित गराउँदै स्थानीय उत्पादन तथा सेवाको उपभोग गर्न प्रोत्साहित गर्न सकिन्छ । यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारी सिर्जना, युवा पलायन न्यूनीकरण र समुदायको आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा सहयोग पुग्नेछ ।

समन्वय र पूर्वाधार आवश्यक

डोल्पालाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार, पर्यटनसम्बन्धी संघसंस्था, निजी क्षेत्र, संरक्षणकर्मी तथा स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक छ । यसका लागि प्रमुख प्रवेशद्वार तथा पर्यटकीय क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने; पदमार्गमा स्पष्ट दिशासूचक बोर्ड, नक्सा तथा दूरीसम्बन्धी जानकारी राख्ने; स्थानीय युवालाई तालिम दिई दक्ष पर्यटकीय गाइडका रूपमा विकास गर्ने; डोल्पाको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको प्रचारप्रसार गर्ने; पर्यटकका लागि आधारभूत सुविधा, सञ्चार तथा आपत्कालीन उद्धार प्रणालीको विकास गर्ने; र प्राकृतिक वातावरण, जैविक विविधता तथा स्थानीय मौलिक संस्कृतिको संरक्षण गर्दै दिगो पर्यटनलाई प्राथमिकता दिने काम अघि बढाउनुपर्छ ।

पर्यटन विकासका नाममा डोल्पाको मौलिकता र प्राकृतिक सम्पदामा नकारात्मक असर पर्नु हुँदैन ।

शे–फोक्सुण्डोको यात्रामा रमाइलो त भयो नै, मैले डोल्पाको अपार पर्यटकीय सम्भावना र त्यसको विकासका लागि आवश्यक सुधारबारे सोच्ने अवसर पनि पाएँ । नेपालमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण धेरै पर्यटकीय गन्तव्य छन् । तर प्राकृतिक सुन्दरता मात्रले पर्यटनको पूर्ण विकास सम्भव हुँदैन। त्यसका लागि आधारभूत पूर्वाधार र प्रभावकारी व्यवस्थापन उत्तिकै आवश्यक हुन्छ ।डोल्पालाई पनि दिगो, जिम्मेवार तथा समुदायमा आधारित पर्यटनको नमुना क्षेत्रका रूपमा विकास गर्न सकिन्छ। सम्बन्धित सरकारी निकाय, पर्यटन व्यवसायी, विकास साझेदार तथा स्थानीय समुदायले यस विषयलाई गम्भीरतापूर्वक लिएर व्यावहारिक कदम चाल्नेछन् भन्ने अपेक्षा छ ।

मेरो विचारमा डोल्पाको पर्यटन विकासको योजना बनाउँदा तीन पक्षलाई ध्यान दिनुपर्छ– प्राकृतिक सम्पदाको संरक्षण, स्थानीय समुदायको सशक्तीकरण र व्यवस्थित तथा जिम्मेवार पर्यटन प्रवर्द्धन। यसलाई आत्मसात् गर्न सके डोल्पा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्छ ।

-कोहलपुर, बाँके

लेखक
छवि रावत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?