१२ मंसिर, काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिक भावना, कर्तव्य र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना र व्यवस्थित बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।
शनिबार भक्तपुर नगरपालिका– १ मा आयोजित कार्यक्रममा उनले नागरिक भावना, कर्तव्य र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना र व्यवस्थित बनाउन सकिने बताएका हुन् ।
उनले भक्तपुरमा तुलनात्मक रूपमा सरसफाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रगति भइरहेको पनि बताए ।
भक्तपुरको पहिचान क्षेत्रले मात्र नभई यहाँका जनताको इमानदारी, अनुशासन र सचेतनाले बनेको उनको टिप्पणी थियो ।
निर्वाचनमा बहुमत आउनुले मात्र सबै कुरा सही नहुने तर्क गर्दै राजनीतिक निर्णय र त्यसको दीर्घकालीन प्रभावबारे सोच्नुपर्ने नगरप्रमुख प्रजापतिले बताए ।
सुशासन र कानुनी शासन व्यवहारमा देखिनुपर्ने बताउँदै उनले सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने प्रवृत्तिको आलोचना गरे ।
प्रजापतिले विगतमा काठमाडौंको रानीपोखरी पुनर्निर्माण तथा अन्य स्थानका काममा भक्तपुरको नेतृत्व र जनशक्ति परिचालन गरी सफलता हासिल गरिएको अनुभव सुनाए ।
प्रतिक्रिया 4