News Summary
Generated by OK AI. Editorially reviewed.- मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँ पुराना सांस्कृतिक घर, साँघुरो गल्ली र स्याउ उत्पादनका कारण पर्यटकीय केन्द्र बनेको छ।
- अध्यक्ष मोहनसिंह लालचनका अनुसार पर्यटकीय याममा मार्फा गाउँमा दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गर्ने गरेका छन्।
- सडकमार्ग सहज बन्दै गएपछि मुक्तिनाथ र माथिल्लो मुस्ताङबाट फर्किएका पर्यटक मार्फा गाउँभित्र पस्न थालेका छन्।
१४ मंसिर, मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँको नाम नसुनेका सायद बिरलै छन् । यदि नसुनेकै भए पनि ‘क्यारा राम्रो स्याउ बारी मार्फा गावैमा’ गीतले मार्फा गाउँका ताजा स्मरण गराइदिइहाल्छ ।
मार्फा गाउँ स्याउको राजधानीका रूपमा परिचित छ । यद्यपि यो गाउँ स्याउले मात्र होइन, त्यहाँका एकापसमा जोडिएका पुराना सांस्कृतिक घर र त्यसभित्रको साँघुरो गल्ली अर्को विशेषता हो । कुनै बेला खेतीयोग्य जमिन सञ्चय गर्न बनेको मार्फाको गुजमुज्ज बस्ती पछिल्लो समय पर्यटकको आकर्षक केन्द्र बनेको छ ।
मार्फाका स्थानीय सुरेन्द्र हिराचनका अनुसार मार्फा गाउँ धवाङबाट स्थानान्तरण भएको हो । खेतीयोग्य जमिनको कमी, खानेपानी र सिँचाइ लगायत समस्या तथा जनसङ्ख्या वृद्धि हुँदै गएपछि झन्डै सात सय वर्ष पहिले धवाङबाट हालको मार्फा गाउँमा सरेको हिराचन बताउँछन् ।
धवाङ मार्फा गाउँबाट केही माथि धम्पुस पिक र आलुबारी जाने स्थानमा पर्छ । त्यहाँबाट वैकल्पिक बासस्थानका रूपमा सरेको मार्फा गाउँ अहिले मुस्ताङको प्रमुख पर्यटकीय सहरमध्ये एक बनेको हो । गाउँभित्र लस्करै एकापस जोडिएका पाखोको भित्तैसम्म पुग्ने गरी बस्ती बसेको छ । यो बस्ती सात सय वर्ष पुरानो रहेको स्थानीय हिराचनको दाबी छ । हालसम्म मार्फा गाउँमा आठ पुस्ताका मानिसको बसोबास रहेको उनको भनाइ छ ।
पुराना प्राचीन घर अनि गाउँभित्रको मुख्य गल्ली । त्यही गल्लीभित्र अरू थुप्रै शाखा गल्ली छन् । यी गल्ली घरको थारा (छत), गोठ र वनजङ्गल जाने बाटोका लागि निर्माण गरिएका हुन् । मार्फा गल्लीभित्रका गल्ली कोही छोटा र कोही लामा छन् । छप्पनी ढुङ्गा बिछ्याइएको यही मार्फा गाउँको साँघुरो गल्ली पर्यटकका लागि आकर्षक गन्तव्य बनेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । मार्फा गाउँमा पर्यटकीय याममा दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गरी फर्किने गरेको अध्यक्ष लालचन बताउँछन् ।
मुस्ताङको मार्फा गाउँ पर्यटकीय दृष्टिकोणले मात्र होइन, विभिन्न स्वदेशी तथा विदेशी चलचित्र, डकुमेन्ट्री फिल्म र म्युजिक भिडियो छायाङ्कन गर्ने केन्द्रसमेत बनेको छ । यहाँ कबड्डी र जेरी लगायत धेरै चलचित्रको छायाङ्कन भइसकेका छन् । दर्जनौँ नेपाली चलचित्रको छायाङ्कन तथा प्रदर्शनपछि मार्फा गाउँको पर्यटकीय चर्चा थप चुलिँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ ।
मार्फा गाउँमा मुख्य गल्ली राजमार्ग सडकदेखि उत्तर–दक्षिण करिब डेढ किलोमिटर छ । यसभित्र अरू धेरै शाखा गल्ली अवस्थित छन् । मार्फा गाउँको मुख्य गल्लीभित्र अमरसिंह गल्ली, लुक्ने गल्ली, बुद्ध गल्ली, झाँक्री गल्ली, धवलागिरि बेसक्याम्प जाने गल्ली छन् । त्यसैगरी, गाउँको मुख्य गल्लीभित्र हाङ्च्छा गल्ली, जेरी गल्ली, कबड्डी गल्ली र स्टेज भ्यूटावर जानेलगायत धेरै शाखा गल्ली छन् । यी गल्ली प्राचीन समय स्थानीयकै सहजताका लागि बनाइएको अध्यक्ष लालचनले उल्लेख गरे ।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग सहज हुँदै जान थालेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेसँगै मार्फा गाउँको पर्यटन चलायमान हुँदै जान थालेको छ । मुक्तिनाथ र माथिल्लो मुस्ताङ पुगेर फर्किएका पर्यटक अचेल मार्फा गाउँभित्र पस्न थालेको स्थानीय जीवन लालचनले जानकारी दिए । सडकमार्गमा सवारी रोकेर पर्यटक मार्फा गल्लीभित्र घण्टौँ बिताउने गरेको उनले बताए ।
मार्फा गाउँभित्रका विभिन्न गल्लीमा पर्यटकहरूले फोटो र भिडियो खिच्ने तथा टिकटक बनाउने गरेको पाइन्छ । विशेषगरी साँझपख मुस्ताङ आएका पर्यटक मार्फा गाउँको गल्लीभित्र रम्ने गरेको स्थानीय लालचनले बताए ।
पर्यटकीय गन्तव्य मार्फामा पर्यटकका लागि फोटो, भिडियो र टिकटक आदि बनाउन स्थानीयले विभिन्न जातजातिका मौलिक वेशभूषाका कपडा भाडामा दिएर आम्दानी गरेका छन् । मार्फा साँझपख पर्यटकले खचाखच भरिन्छ । मार्फा गाउँमा पर्यटक ओइरिन थालेपछि स्थानीय होटलसमेत भरिभराउ हुने गरेका छन् । हिउँदयामको प्रतिकूल मौसममा समेत मार्फा गाउँमा पर्यटक चहलपहल नघटेको स्थानीय लालचनले जानकारी दिए ।
मार्फा गाउँको सौन्दर्य साँघुरो गल्लीमात्रै होइन, त्यहाँका पुराना ढुङ्गा र माटोले बनेका घरहरूले संस्कृतिलाई उजागर गरेको छ । हरेक घरका छतमाथि लस्करै पाँजिएका दाउरा अर्को आकर्षण हो । मार्फा गाउँभित्र विद्युतीय प्रसारण लाइन पूरै भूमिगत गरिएको छ । मार्फामा नयाँ घर बनाउन चाहने वा घर पुनर्निर्माण गर्न चाहनेले घरको अघिल्लो मोहडालाई परम्परागत संस्कृतिअनुसार राख्नुपर्ने नियम छ ।
मार्फामा करिब आधा दर्जन डिस्टिलरी उद्योग, गुम्बा, भ्यूटावर र धम्पुस पिक पदमार्ग आदि भएकाले मार्फा गाउँ जोमसोमपछिको पर्यटकीय केन्द्र बनेको हो । मार्फामा करिब सयभन्दा बढी घरपरिवारको बसोबास रहेकामा करिब एक चौथाइले पर्यटन व्यवसाय अपनाएका छन् ।
प्रतिक्रिया 4