१० मंसिर, काठमाडौं । पर्यटकीय नगरी पोखरामा अहिलेसम्मकै भव्य तथा अत्याधुनिक रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा आउने ‘क्याफे इटालियनो’ अहिले धमाधम निर्माण भैरहेको छ ।
होटल व्यवसायी भरतराज शर्माले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागेका हुन् । रेष्टुरेन्ट लेकसाइडको बसुन्धारापार्क नजिकै अम्बोटमा रहने छ ।
‘हामीले पोखरामा अहिलेसम्मकै अत्याधुनिक सेवा सुविधासहितको रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागेका छौं’ सञ्चालक शर्माले भने- ‘सेवा, सुविधा र गुणस्तरको हिसाबले हाल पोखरामा सञ्चालनमा रहेका अन्य रेस्टुरेन्टभन्दा हामी एक कदम अगाडि हुनेछौं ।’
रेष्टुरेन्ट सञ्चालनमा आउँदासम्म ५ करोड रुपैयाँ लगानी हुने शर्माको भनाई छ । रेष्टुरेन्टमा ग्राहकहरुले अर्डर गरेको पाँचदेखि १० मिनेट भित्रमा सेवा पाइसकेका हुनेछन् । विशेषगरि इटालियन परिकारहरु पाक्ने भए पनि चाइनिज, कन्टिनेन्टल परिकारहरु पनि रेस्टुरेन्टमा पाइने बताइएको छ ।
खाना अर्डर गर्नका लागि ग्राहकहरुलाई डिजिटल मेनुको व्यवस्था गरिने भएको छ । सेवा प्रवाह गर्ने सेफदेखि वेटरसम्म ‘पाँचतारे होटलमा रहने रेस्टुरेन्ट’मा काम गर्ने लेभलका हुनेछन् ।
सञ्चालक शर्माका अनुसार रेष्टुरेन्टको किचन सेक्सन विशेष खालको हुनेछ । ‘पोखरामा यस्तो खालको किचन अहिलेसम्म कसैले चलाएका छैनन्’ उनले भने- ‘सबै किचन सामाग्रीहरुले हामीले स्पेनबाट मगाएका हौं, रेष्टुरेन्टका सबै कुरा यूरोपियन स्ट्यान्डर्डका हुनेछन् ।’
रुफटप, रोड शो र गार्डेनको सुविधा रहने रेस्टुरेन्टमा एकैचोटी १ सय ५० जनाले खान बस्न सक्ने बताइएको छ । रेस्टुरेन्टसँगै ‘फुल फ्लेज स्पा’ समेत सोहि ठाउँमा सञ्चालन हुने छ ।
स्पा पनि अत्याधुनिक हुने सञ्चालक शर्माले दाबी गरे । रेस्टुरेन्ट र स्पालाई मर्ज गरेर ग्राहकहरुको लागि ‘हेल्थ फुड प्याकेज’ दिने तयारीमा रष्टुरेन्ट व्यवस्थापनको तयारी छ । यो प्याकेजमा आयुर्वेदिक डाक्टरले ग्राहकहरुलाई कस्तो खाना खाने भन्ने विषयमा परामर्श समेत दिनेछन् ।
४० जनाले रोजगारीको अवसर पाउने रेस्टुरेन्टको अहिलेसम्म करिब ८० प्रतिशत निर्माण कार्य पुरा भएको छ । खासगरि विदेशी पर्यटकहरुलाई नै लक्षित गरेर रेस्टुरेन्ट संचालनमा ल्याउन लागेको संचालकले बताएका छन् ।
‘पछिल्लो समय नेपालीहरुको पनि रेस्टुरेन्टमा गएर खाने बानी बसिसकेकोले हाम्रो लक्षित ग्राहकभित्र नेपालीहरु पनि पर्नेछन्’ संचालक शर्माले भने- ‘गुणस्तरिय सेवा सुविधा दिने भएपनि रेस्टुरेन्ट त्यति साह्रै महँगो भने हुनेछैन ।’
‘क्याफे इटालियनो’ का सञ्चालक शर्माले डेढ वर्षयता ‘अतिथि रिसोर्ट एण्ड स्पा’ सञ्चालन गर्दै आएका छन् । पोखराको स्तरिय रिसोर्टहरुमध्ये एकमा पर्ने यो रिसोर्टले पछिल्लोपटक ‘ट्राभलर्स च्वाईस’ अवार्ड समेत प्राप्त गरिसकेको छ ।
प्रतिक्रिया 4