१५ जेठ, काठमाडौं । भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएकालाई मात्र सरकारले भूकम्पपीडित परिचयपत्र दिने भएको छ । परिचयपत्र दिएपछि मात्र अस्थायी आवास बनाउने जस्तापाता किन्न १५ हजार रुपैयाँका दरले राहत दिन गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
‘बस्नै नहुने गरी घर क्षति भएकालाई मात्र हामीले परिचयपत्र दिएर जस्तापाता किन्न १५ हजार राहत दिन लागेका हौं,’ गृहसचिव सूर्य सिलवालले भने, ‘घरमा सामान्य मात्र क्षति भएकाहरुले अपेक्षा गर्नु ठीक होइन्, ।’ सामान्य क्षति भएकालाई पनि मर्मतका लागि केही रकम वितरण भइरहेको उनको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ ।
सचिव सिलवालका अनुसार पाँच लाखभन्दा धेरै घर भूकम्पबाट पूर्ण क्षति भएको तथ्यांक आइसकेको छ । उनीहरुलाई अस्थायी घर बनाउन सरकारले १५ हजारका दरले जस्तापाता किन्न पैसा वितरण गर्न सुरु गरिसकेको छ ।