१५ असार, काठमाडौं । आज असार १५ अर्थाता धान दिवस । राजधानीलगायत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरेको थियो । नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ ।
वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दैगएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो ।
धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जग्गामध्ये असार १४ सम्म ८ प्रतिशतमात्र रोपाइँ भएको कृषि मन्त्रालयका सहप्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिए ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा कूल्ा गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । घट्दा आर्थिक स्थिति घट्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । पहिला धान चामल निर्यात गरिन्थ्यो । हाल प्रतिवर्ष १० लाख मेटि्रक टन चामल आयात गरिन्छ ।
यस वर्ष नेपालले भारतसँग करिब १४ अर्बको चामल आयात गरेको कृषिमन्त्री हरिप्रसाद पराजुलीले बताए । पराजुलील्े अबको तीन वर्षमा नेपाल धानमा पूर्ण आत्मनिर्भर हुने दाबी गरे ।
नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ । सन् १९६६ देखि २००९ सम्म अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी)का धानका जातहरू सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ प्रकारका धानका जात सिफारिस भएका छन् । नेपालमा सिफारिस भएका ८६ जातमध्ये सातथरीका मात्र रैथाने धानको खेती हुने गरेको धान विशेषज्ञ भोलामान सिंह बस्नेतले बताए ।
नेपालको ७२ जिल्लाबाट सङ्कलन गरिएका करिब दुई हजार ९६३ प्रकारका रैथाने जातका बीउ फिलिपिनस्थित इरी, जापान र इटली, रोम, नर्वेको स्भालबार्डको जीनबैंकमा राखिएका छन् ।
संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ ।
सार्क राष्ट्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने देश भारत र बङ्गलादेश हुन् ।