२७ साउन, भीमदत्तनगर । ‘लिपुलेक बचाउ अभियान’का क्रममा दार्चुला पुगेका नेकपा–माओवादी वैद्य समूहको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रत्न ढकाल नेतृत्वको टोली राष्ट्रिय झन्डा फहराउन आज लिपुलेकतर्फ प्रस्थान गरेको छ ।
मङ्गलबार दार्चुला सदरमुकाम खलङ्गा पुगेको टोलीले जागरणसभाको आयोजनापछि बुधबार बिहान पत्रकार सम्मेलन गर्दै सदरमुकामबाट नेपाली भूमिबाट लिपुलेकतर्फ प्रस्थान गरेको हो ।
टोलीमा क्रान्तिकारीका कार्यकर्ता र पत्रकारको समेत सहभागिता छ । १२ दिनको पैदल यात्राको समय मिलाएर टोली सदरमुकामबाट हिँडेको हो । टोलीलाई पाँच दिन आउन र पाँच दिन जान समय लाग्ने बताइएको छ ।
कार्यकर्ता रिहा
लिपुलेक विरोध सामग्रीसहित दार्चुला पारी भारतीय सहर धारचुलामा पक्राउ परेका क्रान्तिकारीका १० जनालाई मङ्गलबार राति स्थानीय प्रशासनको रहोवरमा रिहा गरेको छ ।
धार्चुलामा जाँचका क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले १० जनालाई नियन्त्रणमा लिएको थियो । लगत्तै दार्चुलाबाट स्थानीय प्रशासन धार्चुला पुगेको भए पनि उनीहरुलाई रातिमात्रै रिहा गरियो । रासस