६ भदौ, काठमाडौं । चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण जितेका छन् ।
मलेसियाको सारावाकस्थित कुचिङमा आइतबार सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनि सेमिफाइनलमा काजलले ब्रुनइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८-१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४-१२ ले पराजित गर्दै स्वर्ण जितेको टिम प्रशिक्षक कुमार लामा घिसिङले जनाएका छन् ।
त्यस्तै सिनियर महिलाकै ४९ केजीमुनि अस्मिताले सेमिफाइनलमा थाइल्यान्डकी पिलाडस्पोर्नीलाई १५-५ तथा फाइनलमा हङकङकी कोङ विङ येनलाई १३-१ ले पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन् ।
जुनियर पुरुषको ६३ केजीमुनि सुबोध खड्काले रजत जिते । क्वाटरफाइनलमा मलेसिया र सेमिफाइनलमा फिलिपिन्सका खेलाडीलाई पाखा लगाएका सुबोध फाइनलमा थाइल्यान्डका खेलाडीसंग चुके ।
सिनियर पुरुषको ६३ केजीमाथि विकेश विडारी क्वाटरफाइनलमा ब्रुनइका खेलाडीसंग पराजित भएपछि पदकविहीन बने । पेयर पुम्सेमा अस्मिता र सुबोधले कुल १० अंकमा ६.४३ अंक हासिल गर्दै कांस्य जितेको बताइएको छ ।
सिनियर महिलातर्फ अस्मिता उत्कृष्ट खेलाडी समेत घोषित भइन् । २५ निर्णायक मध्ये ३ जना उत्कृष्ट घोषित गरिएकोमा नेपालका नोर्बु लामा पनि एक रहे ।
प्रतिक्रिया 4