१३ भदौ, पाल्पा । खाडी मुलुकमा तीन वर्षको अनुभव लिनुभएका गणेश आचार्य अहिले व्यावसायिक गाई फार्ममा रमाउँदै छन् । उनी गाई फार्म सञ्चालन गरी विदेशको पीडामा मलम लगाउँदै छन् ।
रामपुर नगरपालिका– ११ एक्लेटारमा लक्ष्यधेनु गाई फार्म सञ्चालन गरेर मलेसियामा बगाएको पसिनालाई भुल्दैछन, उनी । आचार्यले चार लाखमा पक्की गोठ निर्माण गरी रु १७ लाखको लागतमा फार्म सञ्चालन गरे । अहिले फार्ममा होलस्टिन र जर्सी जातका २२ वटा गाई रहेका छन् ।
दैनिक रुपमा कम्तीमा ३० देखि ७० लिटर दूध उत्पादन हुने गरेको आचार्यले बताए । ८० हजार मूल्य पर्ने गाई सुनवल र बुटवलबाट खरिद गरी व्यवसाय सञ्चालन गरेका आचार्यले एक गाईबाट १७÷१८ लिटर दूध उत्पादन गर्दै अाएका छन् । फार्म फस्टाउँदै गएपछि एक जनालाई रोजगारी समेत दिएका छन् ।
रामपुरकै ठूलो गाई फार्म व्यवसायीका रुपमा चिनिएका आचार्यले मासिक रुपमा दूधबाट खर्च कटाएर ६० हजार आम्दानी लिन सफल भएका छन् । व्यावसायिक फार्म सञ्चालनका लागि उत्पादन निर्देशनालयबाट दुई लाख, पशु सेवा कार्यालयबाट २५ हजार र पशु सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाबाट चार हजार सहयोग रकम पाएको उनले बताए ।
‘विदेश गएर मैले गल्ती गरेको रहेछु, गाउँका साथीभाइ सबै विदेश गएको देख्दा मलाई पनि रहर लाग्यो, विदेश गएँ, अहिले त्यो दिन सम्झँदा पछुतो लागेर आउँछ’ आचार्यले भने- गाईपालन व्यवसायबाट मनग्य आम्दानी भएपछि अहिले उनले दुग्ध डेरी फार्म पनि सञ्चालन गर्नुभएको छ ।