मोतीसिंह धामी, पूर्वडीएसपी
भाद्र ३ गते घैटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिए । राजधानीको डन संस्कृतिका उनी प्रतीक थिए । व्यापारी, व्यवसायी र ठेकदारबाट ठूलो मात्रामा चन्दा उठाउने, डर त्रासको वातावरण सिर्जना गर्ने, प्रशासन र प्रहरी माथी जाई लाग्ने, गुण्डागर्दीलाई मलजल गरी राजनैतिक संरक्षणमा सामाखुसी क्षेत्रमा हैकम प्रवृति र संगठित अपराधलाई टेवा पुर्याउने काम गरिरहेका थिए ।
१ वर्ष अघि यस्तै डन संस्कृतिका चरी भनिने दिनेश अधिकारी इन्काउन्टर मै मारिएका थिए । दुवै मारिएपछि राजनैतिक क्षेत्रबाट तीखो प्रतिकृया आएको छ । पञ्चायतकालमा पनि संगठित अपराध थियो तर राजधानीमा प्रहरीद्वारा इन्काउन्टरमा मारिएका चरी र घैंटे अपराधको दुनियामा पहिलो र दोस्रो हुन् ।
संगठित अपराध र डन सँस्कृति आज राज्यका सबै अंगमा पुगिसकेको छ । त्यतिमात्र नभएर राजधानी अन्तराष्ट्रिय अपराधको ‘ट्रान्जिट पोइन्ट’ भएको छ । राजनीतिक हस्तक्षेपका कारण राज्यका प्रशासन यन्त्रहरु कमजोर अवस्थामा पुगेका छन् । अपराधिहरुको पहुँच शासन र अर्थतन्त्रमा विस्तारित हुदै गएको छ । त्यसलाई बढाउने काम नेता र पार्टीहरुले गर्दै आएका छन् । गल्लीबाट निस्केको साना अपराधी समूहहरु ‘ग्याङ वार’मा खुल्ला सडकमा आएका छन् । बाक्लो सुरक्षा भएको राजधानी र अन्य सहरहरुमा डन संस्कृति र माफियाहरुले मेक्सीको शहर जस्तै अन्तराष्ट्रिय माफियाहरुको कि्रडास्थल बनाउन गइरहेछन् ।
सन् १९३० र ४० को दशकमा अमेरिकाको शिकागो शहरमा माफिया डनहरुले राज्यको कानुन धुजा-धुजा पारेका थिए । उनीहरुको खुनी ‘ग्याङ वार’ र अपराधको नेटवर्क युरोप र ल्याटिन अमेरिकासम्म फैलिएको थियो । भाडाका मानिसदेखि सत्ताका सञ्चालकहरु माफियाहरुको चंगुलमा फसेर राजनैतिकरणलाई अपराधीकरणमा परिवर्तन गरेका थिए । सामान्य उत्पादनदेखि लागुऔषध, तस्करी, हत्या, अपहरण, असुली र दंगा फसाद गराई समानान्तर अर्थतन्त्रको जालो नै बनाएका थिए । हलिउडले उनीहरुको विषयमा ‘गडफादर’ फिल्म नै बनायो र मेक्सिको उनीहरुको ‘ट्रान्जिट पोइन्ट’ थियो ।
छिमेकी भारतको मुम्वईमा १९६९ देखि १९९० को दशकमा माफियाहरुको २००० करोडको समानान्तर अर्थतन्त्र र ‘ग्याङ वार’ उत्कर्षमा पुगेको थियो । तत्कालीन मुम्वई प्रहरीका कमिशनर जुलीयस रिवेरोे माथी माफिया डनहरुले आक्रमण गरे । रिबेरोले माफियाहरुलाई सुरक्षा कानुन अन्तर्गत राख्न १२३ चोटी सरकारसँग माग गरे पनि संगठित अपराधको संगठन टुटाउन गाह्रो पर्यो । दाउदको दाई सब्बीर इव्राहिमलाई सार्वजनिक स्थानमा नै १९८२ मा गोली हानी मारे । त्यस्तै दाउदले प्रतिद्वन्द्वी आजमदेव र अमिरजादालाई अदालत मै भाडाका मानिसबाट गोली हानी हत्या गरायो । दाउदको साथी राजन नायर पक्राउ परी अदालत लैजाँदा नेभी पोसाकमा रहेको भाडाको मानिसले उसको हत्या गर्यो ।
दाउद भागेर दुबई गयो । उसको राजनैतिक पहुँच भएको विश्वासपात्र सतिस राजेलाई पनि १९८८ मा जेजे अस्पताल अगाडि बुलेट प्रुफ कारमा प्रतिद्वन्द्वीले नै मारे । त्यस्तै स्टार होटलमा बेस्यावृति गराउने अरविन्द ढोलकिया र उसको भाइलाई आफ्नै बडिगार्डले वाद्रा सार्वजनिक ठाउँमा गोली हानी हत्या गरे ।
नेपालमा मुम्बई माफियाहरुलाई भित्राउने काम तत्कालीन श्रम राज्यमन्त्री मिर्जा दिलशाद वेगले गरेका हुन् । उनी उत्तर प्रदेश प्रहरीका भगौडा थिए
दाउदसँग पाकिस्तानको गुप्तचर संस्था आईएसआईले सम्पर्क गर्यो । दाउद इब्राहिमले आफ्ना मानिसद्वारा १९९३ मा आफू हुर्केको, जन्मेको देशमा बम विस्फोट गरायो । २५७ जनाको मृत्यु र ७०० जना घाइते भए । अरबौंको क्षति भयो । आखिर अपराधी मानसिकताको अगाडि राष्ट्रियता गौण भएको भन्ने देखायो ।
नेपालमा मुम्बई माफियाहरुलाई भित्राउने काम तत्कालीन श्रम राज्यमन्त्री मिर्जा दिलशाद वेगले गरेका हुन् । उनी उत्तर प्रदेश प्रहरीका भगौडा थिए । पञ्चहरुलाई भेेटी चढाएरै उत्तर प्रदेश र विहारका अपराधी गिरोहलाई आफ्नो ग्रुपमा सामेल गरे । ०४६ पछि सत्ताधारीहरुसँग साइनो गास्दै सत्ताको ‘पीन पोइन्ट’मा पुगे । विभिन्न अपराधमा संलग्न अपराधिहरुलाई नेपाली नागरिकता समेत दिलाइ संरक्षण गरे । उत्तरप्रदेशका डन बब्लु श्रीवास्त र मुम्वई बम कान्डका अभियुक्तहरुलाई शेल्टर र नेपाली नागरिकता दिलाए । उनका विरुद्ध गोरखपुरका अरबपति पटानीका छोराको अपहरणदेखि सुन तस्करी लागुऔषध नक्कली भारु गागि चोर आरडिएक्स र हतियार सप्लाईको आरोप भारतले लगायतको थियो । तर, सत्ताधारी र दरवारीया शक्तिसँग उनको पहुँच भएको हुँदा अपराधीहरुबाटै १६ आषाढ १९५६ मा उनी सिफलमा मारिए ।
२९ जेठ ०६५ को जनआस्थामा पञ्चायतकालमा सुन मूर्ती, लागुऔषध र छाला तस्करी तथा माफियाहरुको विषयमा लेख्दा आफूलाई गोली हानेको तत्कालीन रा.प.स तथा पत्रकार पदम ठकुराठीले उल्लेख गरेका छन् । ०४५ साल जेठमा ११ करोडको सुन फेला परेको र सीमा गोरखपुरका डन हरीशंकर त्रिपाठी र बिरेन्द्रपताप शाहीसँग पन्चहरुको नाम नगासिएको होइन । तर, ०४६ साल पछिको बहुदल र ०६३ पछिको गणतन्त्रमा अपहरण, हत्या, हातहतियार सप्लाई, फिरौति, लागुऔषध, नक्कली भारु र रक्तचन्दनको कारोबारमा अन्तराष्ट्रिय मुखियाहरु मिलेर नेपाललाई ‘ट्रान्जिट पोइन्ट’ बनाए ।
केही वर्ष अघि व्यापारी पवन सांघाई काठमाडौंबाटै अपहरणमा परे । छापामा प्रकाशित समाचारअनुसार ठूलो फिरौति तिरेर उनी मुक्त भए । योभन्दा अगाडि मेघा देवकोटा, निरज कक्षपती, बाबुराजा रावल, शारदा मुरारका, सन्जय सुरेखा, तुलसी अग्रवाल र चितवनबाट भक्तमान श्रेष्ठलगाएतका व्यक्तिहरु अपहरणमा परि ठूलो फिरौति तिरेर मुक्त भएका समाचार पनि आएका थिए ।
प्रहरी प्रशासन राज्य निर्देशित शासनको हतियार अवश्य हो । तर, प्रशासनलाई दबाव दिई गुमराहमा राख्ने, भ्रष्टाचारलाई प्रोत्साहन गर्ने राजनीतिज्ञको आदेश राष्ट्रसेवकले मान्नुपर्ने कुनै बाध्यता छैन
त्यस्तै विराटनगरमा पर्शुराम बस्नेत काण्ड, बुटवलमा हत्या गरिएका प्रचण्ड थैव काण्ड, चितबन कारगाराम हत्या गरिएका तरुण दल अध्यक्ष शिव पौडेल काण्ड, हालै असार २९ गते पोखरा गगनगौडामा हत्या गरिएका कांग्रेस नेता रामजी पौडेल काण्ड, अपहरणमा जेल परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र रातो पार्सपोर्ट बिक्री गर्ने संविधान सभा सदस्यहरु संगठित अपराधको फस्टाउँदो प्रवृति भएको छ ।
प्रहरीका अनुसार आज पनि चार हजार अपराधिहरु राज्यको कानुनी दायराभित्र आउन सकेका छैनन् । देशमा डन संकृति र अन्तराष्ट्रिय माफियाहरुको जालो बाक्लो बन्दै गइरहेको छ । देश राजनीति हस्तक्षेपको कारण प्रशासनिक एकाइहरु कमजोर अवस्थामा पुगेका छन् । पार्टीहरुको बल प्रयोग र उद्दण्डताको आधारमा देश चलिरहेछ ।
कानुनी राज्यको अवधारणा र शान्ति सुरक्षा राज्यको पहिलो प्राथमिकतामा आउनुपर्छ । प्रहरी प्रशासन राज्य निर्देशित शासनको हतियार अवश्य हो । तर, कानुन कार्यान्वयन, शान्ति सुरक्षा जनताको जिउधनको सुरक्षा र कानुनीराज कायम हुनुुपर्छ । प्रशासनलाई दबाव दिई गुमराहमा राख्ने, भ्रष्टाचारलाई प्रोत्साहन गर्ने राजनीतिज्ञको आदेश राष्ट्रसेवकले मान्नुपर्ने कुनै बाध्यता छैन । राज्यका एकाइहरु र राजनीति जनताप्रति जिम्मेवार हुनुपर्छ नत्रभने डन संस्कृति र संगठित अपराध मौलाएर भयावह अवस्थामा आउने छ ।
प्रतिक्रिया 4