२० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष पशुपति समशेर राणालाई अपदस्थ गरेका छन् । उनीहरुले लोकेन्द्रबहादुर चन्दलाई नयाँ पार्टी अध्यक्ष चयन गरेको दाबी गरेका छन् ।
दुई तिहाई केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित नयाँ अध्यक्ष चयनको निर्णय निर्वाचन आयोगलाई जानकारी गराइएको सहप्रवक्ता किरण गिरीले जानकारी दिए । उनका अनुसार निर्णय सार्बजनिक गर्न दिउँसो एक बजे विशेष पत्रकार सम्मेलन गरिने छ ।
वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई घर चलाएजस्तो गरी निष्कृय बनाएकाले यस्तो निर्णय गरेको अनलाइनखबरलाई बताए । ‘उहाँले एकचोटी पनि बैठक बोलाउनु भएन, पार्टीलाई पुरै निष्कृय राखेर घर चलाएजस्तो गर्नुभयो,’ डा. लोहनीले भने ।
स्रोतका अनुसार पछिल्लो समय तत्कालीन अध्यक्ष राणाले राप्रपा नेपालसँग पार्टी एकताको पहल थालेका थिए । एक शीर्ष नेताले अनलाइनखबरसँग भने ‘पार्टी केन्द्रीय समिति नै विघटन गरेर राप्रपा नेपालसँग पार्टी एकता गर्न लागेपछि पार्टी बचाउन यो निर्णय गर्नु परेको हो ।’
चन्द पक्षले राप्रपाको १०३ केन्द्रीय सदस्यहरुमध्ये ६३ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ भने ८ जनाको समर्थन रहेको दाबी गरेको छ ।
लोकेन्द्रबहादुर चन्दले पार्टी नफुटेको बरु आफूले नेतृत्व लिएर सक्रिय बनाउन लागेको बताएका छन् । पत्रकार सम्मेलनमा चन्दले भने, ‘पार्टी फुटेको होइन, निष्कृय थियो अब सकृय हुन्छ । उहाँ(पशुपति) पनि कार्यसम्पादन समितिमा राखेका छौं । मिलेर अघि बढ्न आग्रह गर्छु ।’
सुनिल थापालाई मन्त्रीबाट हटाउने राणा पक्षको निर्णय
राणा पक्षले भने बैठकले चन्द पक्षमा लागेको भन्दै आपूर्तिमन्त्रीबाट सुनिलबहादुर थापालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।बैठकले १६ जना मनोनित केन्द्रीय सदस्यलाई निस्कासन गरेको छ । मनोनितलाई अध्यक्षले हटाउन सक्ने प्रावधान छ ।
राणा पक्षले आफ्नो पक्षमा बहुमत भएको दाबी गरेको छ । साथै चन्द पक्षले भने जस्तो राणालाई अपदस्थ गर्न नसक्ने बताएको छ । चन्द्र पक्षले राजनीतिक प्रोपागाण्डा मात्र गरेको राणा पक्षले बताएको छ । ‘पहिले पनि चन्द्रजीले माला लगाएर कुर्सीमा बस्नु भएकै हो’ भुवन पाठकले भने-‘उहाँहरुसँग बहुमत छैन । जो-जो सदस्यको नाम छ, उनीहरु काठमाडौंमा छैनन् र कतिपयको गलत हस्ताक्षर छ ।
राप्रपाको विवाद नयाँ होइन
राप्रपा भित्रको विवाद नयाँ भने होइन । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच दुई बर्ष पहिले पार्टी एकता भएको थियो । पार्टी एकता गर्दा चार नेताहरुले एक-एक बर्ष अध्यक्षता ग्रहण गर्ने सहमति भए पनि पालना नभएको भन्दै चन्द पक्ष विरोधमा उत्रिएको थियो ।
चन्द पक्ष आफूहरु वैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगदेखि अदालतसम्म गएको थियो । तर, तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर राणालाई अध्यक्षको कार्यभार सुम्पिए । तर, गत वैशाखमा थापाको निधन भएपछि राप्रपामा राणा कमजोर बनेका थिए । अहिले चन्दलाई पार्टी अध्यक्ष बनाउन थापा पक्षकै नेताहरु सक्रिय भए र राणा अपदस्थ हुन पुगे ।
यो पनि पढ्नुस्
राप्रपा विवाद : सुनिल थापालाई मन्त्रीबाट हटाउने राणा पक्षको निर्णय

प्रतिक्रिया 4