३० कात्तिक, काठमाडौं । सीमावर्ती भारतीय बजार नक्सलबाडीका २८ वर्षे दीपचन्द्र दास ‘वारिपारि कारोबार’ का स्थानीय ‘डन’ हुन् । भारतीय सामान अवैध रूपमा नेपाल भित्र्याउने, नेपाली सामान त्यसै गरी भारत लैजाने उनको धन्दा हो ।
‘बोर्डरमा बसेर यत्ति पनि नगरे के खाने ?’ उनी सजिलै भन्छन्, ‘जता कमाइ उतै धन्दा चलाउने हो ।’
तर, जब उनको देशको सरकारले नेपाली संविधानप्रति असन्तोष जनाउँदै नाकाबन्दी लगायो, उनले पुराना कारोबार थाती राखेर तेलधन्दा सुरु गरेका छन्, जसबाट उनको कमाइ दोब्बरभन्दा बढी छ । उनले एक दर्जनभन्दा धेरै साथी परिचालन गरेर बाइकमा नेपालतिर पेट्रोल ओसारिरहेका छन् । नेपाली बजारमा ल्याएर महँगो मूल्यमा बेच्न पल्किएको उनको समूह यस्तो कारोबार चलाउने एक्लो छैन । नाकाबन्दीपछि नाकाहरूमा यस्ता धेरै समूह–व्यक्ति छन्, जसले तेलको कालोबजारी चलाएका छन् । झापाका नाकामा यस्ता अधिकांश कारोबारी भारतीय रहेको नागरिक दैनिकमा खबर छ ।
सरकारले नेपालमा नाकाबन्दी गरेको मौका छोपेर भारतको सीमावर्ती क्षेत्रका नागरिक पेट्रोलियम पदार्थको कालोबजारीमा लिप्त भएका छन् । भारत सरकारले इन्धनमा अंकुश लगाएपछि नेपालसँगको सीमावर्ती भारतीय इलाकाका नागरिक कालोबजारीमा व्यस्त भएका हुन् । पेट्रोलियम पदार्थ बोकेका भारतीय नागरिक नेपाली प्रहरी–प्रशासनको आँखा छल्दै दिनमा ५–६ पटक पेट्रोलियम पदार्थ ओसार्छन् । र, महँगो मूल्यमा बेचेर कमाइधन्दा चलाइरहेका छन् ।
प्रतिक्रिया 4