विजय थापा/अनलाइनखबर
वाशिंगटन डिसी । भारतीय नाकाबन्दीको बिरोधमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडी नेपालीहरुले प्रदर्शन गरेका छन् ।
करिव तीन हजार जनाको उपस्थीति रहेको यो प्रदर्शन भारतीय नाकाबन्दीको बिरोधमा आयोजित अहिलेसम्मको ठूलो हो ।
गैरआवासीय नेपाली संघको आह्वानमा गैरआवासीय नेपाली संघ अमेरिका तथा अन्य संस्थाहरुको सहभागितामा यो प्रदर्शन गरिएको हो ।
आइतबार बिहान अमेरिकाका दुई दर्जन भन्दा ज्यादा राज्यहरुबाट नेपालीहरु वाशिंगटन डिसी डिसीमा एकत्रित भै भारत बिरुद्ध नाराबाजी गरेका छन् l
टाढा टाढाबाट आई पुगेका नेपालीहरुले नेपाली झन्डा, भाद गाउँले नेपाली टोपी, बिरोध जनाउने गरि कालै पोशाकमा जुलुसमा सहभागी हुँदै तुल, झन्डा र बिभिन्न नारा लेखेका सामग्री सहित व्हाइट हाउस अगाडी परिक्रमा गरेको थियो । यसको साथै नेपाली राष्ट्रिय गान तथा राष्ट्रिय गीतहरू समेत बजाइएको थियो ।
अमेरिकामा बसोबास गर्ने नेपालीहरु बिच ईतिहास मै पहिलो पटक यसरि एकबद्ध, गोलबद्ध, संघ/संस्थाहरु एकढिक्का भै कार्यक्रमलाई सफल बनाएका छन् । नेपालीहरुबीच यस्तो एकता अमेरिका भर कहिले पनि देखिएको थिएन । चिसो मौसमलाई बेवास्ता गर्दै भोकै प्यासै रहेर भए पनि भारतले गरेको नाकाबन्दी बिरुद्ध मानव सागर उर्लिएको छ ।
झन्डै ५० प्रकारका बिरोध जनाउने प्रचार तथा प्रसार सामग्री, तुल, झन्डा जुलुसका सहभागीले नारा लगाउँदै हिडेका थिए भने उक्त बिरोध जुलुस प्रदर्शनमा अंग्रेजी तथा नेपाली दुवै भाषामा लेखिएको नाराहरु व्हाइट हाउस नै थर्किने गरि नारा लगाइएको थियो ।
नेपाललाई नाकाबन्द, भारतको आँखा बन्द, मित्रताको हात रुक्दैन, तर नेपाली स्वाभिमान झुक्दैन, नेपाल फुटाउन गार्हो छ, जातिय सद्भाव प्यारो छ ,बुझी राख दिल्लीका नवाब,नेपालमा काम गर्दैन तिम्रो दबाव तथा मानो तेल पाथी होइन, नाकाबन्दी गर्ने साथी होइन जस्ता तुल तथा झन्डा द्वारा प्रदर्शन गर्दै बिरोध गर्दै नारा लगाएका थिए ।
भारतीय नाकाबन्दी बिरुद्ध गठन भएको डिसी विरोध एकता योजना समितिले आयोजना गएको बिरोध कार्यक्रममा समितिका केहि सदस्यले भारतले गरेको अघोषित नाकाबन्दी बिरुद्ध मन्तब्य राखेका थिए भने नेपालका चर्चित हास्य कलाकार मनोज गजूरेलले मोदीलाई सन्देश दिनूका साथ राष्ट्रीय गीत समेत गाएका थिए । मन्तव्य राख्दै उनले तराईका समस्याको विरोधमा नभइ वार्ताद्वारा समस्या समाधानका लागि दबाब दिन कार्यक्रम गरिएको बताए ।
यसको साथै व्हाइट हाउस, अमेरीकाका राष्ट्रपति, अमेरिकाका परराष्ट्र मन्त्रि जोन केरी तथा भारतीय राजदुताबासलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रतिक्रिया 4