Comments Add Comment

तराईका जिल्लामा मानव अधिकारको अबस्था चिन्ताजनक: आयोग

२९ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनबाट बढी प्रभावित जिल्लाहरुमा मानव अधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको निष्कर्ष निकालेको छ । आन्दोलनको क्रममा ज्यान गुमाएका र घाइते भएका परिवारहरुको मानसिक तथा आर्थिक अवस्था दयनीय रहेको आयोगले जनाएको छ ।

NHRCमानव अधिकार आयोगका अध्यक्ष, सदस्य तथा सचिव सहितको टोलीले हालै सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो ।

‘अनुगमनका क्रममा ती जिल्लाहरुको मानव अधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको पाएको छ,’ आयोगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनका कारण लामो समय सम्म सरकारी कार्यालयहरु बन्द हुँदा सर्वसाधारणले दोब्बर जरिवाना तिरेर राजश्व महसुल बुझाउनु परेको तथा प्रहरीले गर्ने महत्वपूर्ण घटनाहरुको अनुसन्धानको काम कारबाही अगाडि बढ्न नसकेको अनुगमनका क्रममा पाइएको छ ।’

दोषीलाई कारबाही गर्न माग

आन्दोलनको क्रममा घाइते भएकाहरुको विवरण संकलन गरी उनीहरुको निःशुल्क र प्रभावकारी उपचार गराउन आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले न्यायाधीश, न्यायाधिवक्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी, संचारकर्मी, सर्वसाधारण लगायतसँग सामूहिक रुपमा छलफल तथा अन्तक्रिर्या गर्नुका साथै गैरन्यायिक हत्यासँग सम्बन्धित घटनाहरुको सम्बन्धमा निरीक्षणसमेत गरेको छ । छलफलका क्रममा सहभागीहरुले आयोगले घटना अघि र पछि पनि निष्पक्षरुपमा अनुगमन तथा अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

अन्तर्क्रियामा आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार संरक्षणका लागि आयोग प्रतिबद्ध रहेको भन्दै संविधानले दिएको अधिकारमा रहेर आयोगले अनुगमन तथा अनुसन्धानको कार्यलाई अगाडि बढाउँदै आएको र सिफारिश कार्यान्वयनमा सरकारलाई दबाब दिइरहेको बताए । उनले मानव अधिकार हनन््का घटनाहरुमा दोषी देखिएका व्यक्तिको पहिचान गरी कारवाही गर्न सिफारिश गरेको लामो समय बितिसक्दा पनि अझै कार्यान्वयन हुन नसकेकामा दुःख व्यक्त गरे ।

अध्यक्ष शर्माले भाषा, संस्कृति, पहिचान र अस्तित्वको संघर्ष मानव अधिकारको दृष्टिबाट उचित रहेको तर त्यस्तो संघर्ष अहिंसात्मक हुनुपर्ने र त्यसबाट कसैको अधिकार कुण्ठित हुने स्थिति सिर्जना हुन नदिने तर्फ सचेत रहनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment