१ वैशाख, काठमाडौं । मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने बताएका छन् ।
विगतका नाकाबन्दीको आन्दोलनबाट कुनै परिणाम नआएको र सरकारले भन्दापनि जनताले सास्ती पाएको भन्दै उनले बैशाख ६ गतेबाट हुने आन्दोलनमा नाकाबन्दी कार्यक्रम नहुने बताए ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महतोले भने, ‘अब हामी नाकाबन्दी र जनतालाई दुःख दिने काम गर्दैनौं, आन्दोलन सिंहदरबार केन्द्रीत हुन्छ ।’
विगतमा मधेस केन्दि्र त आन्दोलन गर्दा आफूहरुलाई गलत आक्षेप लागेको भन्दै उनले अब सिंहदरबार केन्द्रित रहेर देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने बताए । उनले भने, ‘अबको आन्दोलन जनता कम प्रभावित हुने र सरकारलाई अधिकतम दबाब पुग्ने खालको हुन्छ ।’
मधेसी मोर्चाका नेता महतोले अब हुने आन्दोलनले सरकारलार्इ घुँडा टेकाएर छाड्ने दाबी गरे । उनले थपे, ‘हामी सिंहदरबार घेर्छौं, हाम्रा माग सम्बोधन हुने गरी संविधान संशोधन नभएसम्म आन्दोलन गरिरहन्छौं ।’
प्रधानमन्त्रीले देशवासीको नाममा गरेको सम्बोधनबारे टिप्पणी गर्दै महतोले भने, ‘ओलीको सम्बोधन बकवास छ, यसले न त जनतालाई एक पैसाको राहत दिन्छ, न त आन्दोलनकारीको मागलाई नै सम्बोधन गर्छ ।’
ओलीको वार्ता आहृवान आन्दोलन तुहाउने नाटक मात्र भएको भन्दै उनले भने, ‘हामीले वार्ताको लागि आन्दोलन स्थगित गर्दा उहाँहरु कानमा तेल हालेर बस्नुभयो । अल्टिमेटम दिँदा कुनै वास्ता गर्नुभएन, अब वार्ताको कुनै सम्भावना छैन ।’
प्रतिक्रिया 4