२१ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदको बजेट अधिवेशन शुरु भएकै दिन मंगलबार राजधानीमा सरकार परिवर्तनको हल्ला एकाएक गर्माएको छ । दिनभरि चलेको सरकार परिवर्तनको हल्लालाई साँझ बालुवाटारमा बोलाइएको एमाले-एमाओवादी बैठकमा चिसोपानी खन्याउने प्रयास एमाले नेताहरुले गरेका छन् ।
संघर्षको केन्द्र बन्दै संसद
नेपाली कांग्रेसका नेताहरुले आफ्नै नेतृत्वमा ओली सरकारको विकल्प दिन नसक्ने अवस्था आएको खण्डमा एमाओवादी अध्इक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि सरकार ढाल्ने रणनीति बनाएको छ । र, यो काम आगामी जेठ १५ गते एमालेलाई बजेट ल्याउन नदिई सम्पन्न गर्नुपर्ने कांग्रेस नेताहरुको निश्कर्ष छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ गएका केही केन्द्रीय नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि बजेट अगावै सरकार ढाल्ने सुझाव देउवालाई दिएका थिए । र, देउवाले पनि यसमा सकारात्मक सन्देश दिएपछि कांग्रेसको रणनीति बाहिर चुहिएको छ ।
नेपाली कांग्रेसको संसदीय दलले संसद अधिवेशनमा कडारुपमा प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेसको यस्तो रणनीति हेर्दा अबको केही दिन व्यवस्थापिका संसद सरकार र प्रतिपक्षवीचको संघर्षको मैदान बन्ने लगभग निश्चितजस्तै देखिएको छ ।
प्रतिपक्षले कडारुपमा प्रस्तत हुने भन्नासाथै सत्तारुढ नेकपा एमालेले संसदमा प्रतिपक्षको डटेर सामना गर्ने तयारी गरेको छ । मंगलबार नै बसेको एमाओवादी संसदीय दलको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले भूकम्पपछिको पुनर्निर्माण, आगलागी र खडेरी लगायतका प्रकोपहरुका विषयमा संसदमा कडारुपमा प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।
साथै एमाओवादीले मधेस लगायतका विषयहरुमा राष्ट्रिय सहमतिमा जोड दिने निर्णय गरेको छ ।
यस्तो छ संसदको कार्यसूचि
- मंगलबार सुरु भएको व्यवस्थापिका संसदको बजेट अधिवेशनको कार्यसूची असार १५ सम्मको सार्वजनिक भएको छ, जुन यस्तो छ-
- वैशाख २२ र २३ गते- पुर्निनिर्माण, आगलागी लगायतका विषयमा संसदको पूर्ण बैठकमा छलफल हुने
- वैशाख २३ गते अर्थमन्त्रीले पूर्वबजेट अर्थात बजेको सिद्धान्त र प्राथमिकता पेश गर्ने ।
वैशाख २४ र २५ गते पि्रबजेटमाथि छलफल हुने । - वैशाख २६ गते अपरान्ह ४ बजे- राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने ।
- वैशाख २७ गते बिहान ११ बजेदेखि नीति कार्यक्रममाथि अध्ययन र संशोधन ।
- वैशाख २८-३० गते नीति कार्यक्रममाथि छलफल ।
- वैशाख ३१ गते नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने ।
- जेठ १-१२ गतेसम्म संसदको बैठक नराखिने ।
- जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत गरिने ।
- जेठ १५ गते अपरान्ह ४ बजे- अर्थमन्त्रीले संसदमा बजेट पेश गर्ने ।
- जेठ १७ देखि १९ सम्म बजेटमाथि सामान्य छलफल ।
- जेठ २० गते अर्थमन्त्रीले संसदमा जवाफ दिने ।
- जेठ २१-३२ गते संसदको बैठक नबस्ने ।
असार १ देखि १५ सम्म विनियोजन विधेयक पारित गर्ने ।
मुखमा सरकार, मनमा बजेट
कांग्रेस र एमालेवीच सरकारका विषयमा देखिएको हानाथापको अन्तर्यमा आगामी बजेट मुख्य विषय बनेको सूत्रहरुको विश्लेषण छ ।
एमालेले आगामी जेठ १५ मा अर्थमन्त्रीले बजेट पेश गर्ने समयभन्दा अगावै सरकार परिवर्तन गर्ने धम्की दिएर बजेटलाई सत्ताको प्रभावबाट रोक्ने कांग्रेसले रणनीति बनाएको छ ।
कांग्रेस नेताहरुले मुखले सरकार परिवर्तनको कुरा गरे पनि व्यवहारतः उनीहरुको मनमा एमालेले ल्याउन लागेको बजेटमा केन्दि्रत रहेको र डराइरहेको दाबी सत्तापक्षको छ ।
डिनर रणनीति
सरकारको कार्यशैलीबाट रिसाएको एमाओवादीलाई फकाउने रणनीतिका रुपमा एमालेले मंगलबारको बालुवाटार डिनर बैठकलाई उपयोग गर्न खोजेको छ ।
उता एमाओवादीले भने एमालेलाई धुक्र्याउने र बजेटमा आफ्नो इच्छाहरु समावेश गराउने रणनीति बनाएका छन् । त्यस्तो हुन नसक्ने अवस्था भएमा सरकार छाड्ने चेतावनी दिएर भए पनि एमाओवादीले सरकारमा आफ्नो प्रभावकारी उपस्थिति देखाउने रणनीतिका रुपमा बालुवाटारमा मंगलबार राति अबेरसम्म दुई पार्टीका नेताहरु जुटेका छन् ।
यी पनि पढ्नुहोस्
राष्ट्रपतिले २६ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
प्रचण्डलाई प्रधानमन्त्री बनाउन शेरबहादुर देउवा तयार
ओलीलाई धेरै समय काँधमा बोकेर हिँड्न सकिँदैनः वर्षमान
प्रतिक्रिया 4