टोकियो । भारतीय सदाबहार गायिका सञ्जिवनीले ‘पुरानो हुँदैन माया’ र युवा गजल गायक राज सिग्देलले ‘च्वास्स बिझ्ने तिम्रो माया’ गाउँदा टोकियोस्थित मेगुरो कुमिन हल माया गर्ने जोडीहरुको लागि आत्मियता साट्ने र मायाको फुल फुलाउने बगैंचा बन्न पुग्यो । आइतबार सम्पन्न ‘गजल मधुशाला २०१६’मा सञ्जिवनी र राजले आफ्नो चर्चित गीतहरु गाउँदै मेगुरो कुमिन हलको प्रेक्ष्यालयलाई प्रेममय बनाएका हुन् ।
‘म्युजिक फर किड्स एजुकेशन’ भन्ने मुल नारासहित सम्पन्न कार्यक्रममा जापानबासी नेपालीहरु भरपुर मनोञ्जन लिए । पहिलो चोटी कार्यक्रम लिएर जापान आएका सञ्जिवनी र राजको एकल प्रस्तुतीबाट उपस्थित युवायुवतीहरु संगीतको नशामा झुम्दै गर्दा भारतीय संगीतकार चिराग पञ्चलको संगीतले उनीहरुलाई थप आनन्द प्रदान गरेको थियो । लगभग चार घण्टा लामो चलेको कार्यक्रममा ‘डाँडापाखा छहराले’, ‘पुरानो हुँदैन माया’, ‘जिवनसाथी तिमीलाई छ मेरो कसम’, ‘पानी मिठो मेरो हजुर इलाम बजारको’, ‘आँखामा आउने तस्विर तिम्रो’ लगायतका आफ्ना सदाबहार गीतमार्फत मनोरञ्जन दिलाएकी सञ्जिवनीले ‘चोरी चोरी नजरें’, ‘चुरालोना दिल मेरी सनम’ लगायत दर्जन हिन्दी गीत गाईन् ।
त्यस्तै गायक राज सिग्देलले पनि ‘उ जितेर गई या हारेर गई’, ‘म यसै बदनाम थिएँ’, ‘च्वास्स बिझ्ने तिम्रो माया’, ‘सराबी सराबी’ लगायत आफ्ना आधा दर्जन चर्चित गीतमार्फत दर्शकहरुको मन जित्न सफल भए । पछिल्लो पुस्ताका निकै मिहिनेती र सुमुधुर स्वरका धनी युवा गायक राजले स्टेजमा गीत गाउँदै गर्दा गीतको तालमा उपस्थित दर्शकहरुले ताली बजाउँदै साथ दिए । कार्यक्रममा राजले सञ्जिवनीलाई हिन्दी गीतका लागि युगल गायनमा साथ दिएका थिए । त्यस्तै नृत्यङ्गना रोशनी थापा मगरको आकर्षक नृत्यले पनि कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेको थियो ।
गीतकार एवं युवा व्यवसायी लवकुमार बुढाथोकीको एकल प्रयासमा आयोजना भएको सो कार्यक्रममा जापानका लागि कार्यवहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएन आईसीसी सदस्य ओम गुरुङ, कपिलदेव थापा, एनआरएन जापानका अध्यक्ष सुदन थापा लगायतको सहभागीता रहेको थियो ।







प्रतिक्रिया 4