६ कातिक, काठमाडौ । शारीरिक जाँचलाई अझ प्रभावकारी बनाउन निजामति कर्मचारी अस्पताल (सिभिल)ले यसै हप्तादेखि दुईवटा नयाँ प्याकेज सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई लक्षित गरी अस्पतालले बुधवारदेखि यो प्योकज सञ्चालनमा ल्याएको हो ।
प्याकेज ‘सी’ र ‘डी’ नाम दिइएको उक्त प्याकेजले अब एक पटक सम्पूर्ण शारीरीक जाँच गरिसकेका विरामीले वर्षैपिच्छे सोही जाच दोहर्याउनु पर्ने अवस्थाको अन्त्य गरेको छ ।
‘एक पटकको सम्पूर्ण शारीरीक जाँचका क्रममा कुनै व्यक्तिलाई मधुमेहको समस्या देखिएको छ भने उसले अर्को पटक मधुमेहको सम्पूर्ण जाँच मात्र पनि गर्न सक्दछ’, निजामति कर्मचारी अस्पतालका मेडिकल डाइरेक्टर डा. बिमल थापाले अनलाइनखबरसित भने,’यसले मानिसलाई विभिन्न जाँच गर्नुपर्ने झञ्झटबाट मुक्ति दिलाउनुका साथै समयको पनि बचत गर्नेछ’ ।
उनका अनुसार प्याकेज ‘सी’ अन्तर्गत यस जाँचमा ‘डायविटिक प्रोफाइल’ सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ । जसमा चिनीको मात्रा मापन गरिने एच्.सी.वान्.सी, माइक्रोअल्विमिन लगायतका जाँच पर्दछन् ।
यस जाँचमा मधुमेहका विरामीले तीन महिनाको समयावधिमा रगतमा सुगरको मात्रा बढे नबढेको हेर्न तथा युरिन अल्बिमिन जाच मार्फत मधुमेहले मृगौलामा असर गरेको छ कि छैन भनेर हेर्न सकिन्छ । यस्तो सुविधा जनरल हेल्थ चेकअपमा समावेश गरिएका छैनन् ।
करिब २५०० रुपैयाँ शुल्क तिरेर मधुमेहका विरामीले यो परिक्षण सिधै गर्न सक्नेछन् । यो परिक्षण प्रत्येक छ-छ महिनामा गनुपर्ने चिकित्सकको सुझाव छ । यो जाँच गर्ने व्यक्तिले पुनः सम्पूर्ण शारीरीक जाँच गर्न आवश्यक पर्दैन ।
एक पटकसम्पूर्ण शरीरिक जाँच गरिसकेका व्यक्तिले वर्षेनी छातीको एक्स-रे, इसीजी लगायतको जाँच गरिरहनु पर्दैन । त्यस्ता व्यक्तिले अन्य समस्या छ कि छैन भनेर हेर्न सिधै ल्याब प्रोफाइलको सुविधा लिन सक्नेछन्
त्यस्तै, प्याकेज ‘डी’ अन्तर्गत सर्वसाधारणले ‘जेनेरल ल्याब प्रोफाइल’ गर्न सक्नेछन् । यो जाँच गर्न चाहने व्यक्तिले सिधै ल्याबमा गएर लिभरको अवस्था जाँच, थाइरोइड, सम्पूर्ण रगत जाँच, मुटको जाँच इत्यादी गर्न सक्नेछन् ।
एक पटकसम्पूर्ण शरीरिक जाँच गरिसकेका व्यक्तिले वर्षेनी छातीको एक्स-रे, इसीजी लगायतको जाँच गरिरहनु पर्दैन । त्यस्ता व्यक्तिले अन्य समस्या छ कि छैन भनेर हेर्न सिधै ल्याब प्रोफाइलको सुविधा लिन सक्नेछन् । विशेषगरी, पेटमा गिर्खा भएका, घाउ भएका, मुटुमा अवरोध देखिएका, रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएका व्यक्तिहरुले छ-छ महिनामा यो जाँच गराउन सक्नेछन् ।
त्यतिमात्र हैन, उसले अन्य अस्पतालमा थप जाँच गराउन जादाँ समेत सो अस्पतालले दिएको रिर्पोट मात्र पनि पर्याप्त हुनेछ । यो जाँच गर्न झण्डै १९ सय रुपैया शुल्क लाग्ने अस्पतालको भनाइ छ ।
त्यसबाहेक, अस्पतालमा ‘मास्टर हेल्थ चेकअप’ अन्तर्गत प्याकेज ‘ए’ र प्याकेज ‘बी’ कार्यक्रम पनि यथावतै छ ।
प्याकेज ‘ए’ विशेष गरी ३५ वर्ष मुनि युवा वर्गलाई लक्षित गरी बनाइएको शारीरिक जाँचको व्यवस्था हो । यो व्यवस्था अन्तर्गत कुनै पनि विरामीले आफ्नो सम्पूर्ण चेकअप करिब २५ सय २० रुपैयाँमा गर्न सक्नेछन् ।
यसमा ब्लड काउन्ट, लिभर, किड्नी, सुगर लेभल, यूरिनको रुटिन चेकअप, लिपिड प्रोफाइल, अल्ट्रासाउण्ड, इसिजी लगायतका पूर्ण शारीरिक जाँच पर्दछ ।
त्यस्तै, प्याकेज ‘बी’ ३५ वर्षभन्दा माथिका मानिसहरुलाई लक्षित गरी तयार पारिएको सम्पूर्ण शारीरिक जाच हो । यसमा रगत जाँच, युरिक एसिड, रक्त समुह, एल्एफ् टी, आर् एफ्टी, लिपिड प्रोफाइल, थाइरोइड फंसन टेष्ट -टीएफ्टी), एक्स-रे, इसीजी, अल्ट्रासाउण्ड लगायत पर्दछ । प्याकेज ‘ए’ र ‘बी’मा हुने फरक भनेको थाइरेइड टेष्टमात्र हो । जुन प्याकेज बीमा थप गरिएको छ ।
हालसम्म कुनै पनि रोग नलागेका व्यक्तिहरुले आफुलाई भविष्यमा कुनै समस्या हुन सक्छ कि भनेर हेर्न गरिने सम्पूर्ण शरीरको शारीरिक परीक्षण हो मास्टर हेल्थ चेकअप
चिकित्सकका अनुसार थाइरोइडको समस्या ३५ वर्ष उमेर भन्दा माथिका समुहलाई बढी हुने भएकोले यो सेवा प्याकेज ‘बी’ मा राखिएको हो । यो जाँचका लागि प्रतिव्यक्ति करिब ३३ सय रुपैया शुल्क लाग्दछ ।
आखिर के हो मास्टर हेल्थ चेकअप ?
हालसम्म कुनै पनि रोग नलागेका व्यक्तिहरुले आफुलाई भविष्यमा कुनै समस्या हुन सक्छ कि भनेर हेर्न गरिने सम्पूर्ण शरीरको शारीरिक परीक्षण हो । यसमा मधुमेह, दम मुट लगायत विभिन्न रोग लागेका व्यक्तिलाई समेटिँदैन । त्यसको लागि उनीहरुले छुुट्टै जाँच गर्नुपर्दछ ।
तर, कतिपय अवस्थामा कयौ व्यक्तिहरुमध्य ९० प्रतिशतमा कुनै पनि रोगको सुरुवाती लक्षण देखा पर्दैन । जसले गर्दा हामीलाई अचानक रोगले संक्रमण गर्नुका साथै हाम्रो अकाल मृत्युसमेत हुने गर्दछ । यसबाट बच्न तथा समयमै रोग लागे/नलागेको थाहा पाउन सम्पूर्ण हेल्थ चेकअप अर्थात सम्पूर्ण शारीरिक जाँच गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
चिकित्सकका अनुसार यस्ता जाँचले व्यक्तिमा कुनै समस्या भए, नभएको सुरुमै पत्ता लाग्दछ । चेकजाँचका क्रममा यदि कुनै व्यक्तिमा समस्या देखिएमा उसलाई सम्बन्धित विशेषज्ञकोमा पठाइन्छ । त्यसैले यसलाई एक प्रकारका स्क्रिनिङ्ग पनि भनिन्छ । यो जाँच दम, मुटु रोगी लगायतका विरामीले भन्दा पनि केही रोग नभएका मानिसले वर्षको कम्तीमा एक पटक गर्नु पर्ने चेकजाँच हो ।
उदाहरणका लागि ९० प्रतिशत मानिसमा उच्च रक्तचाप, मधुमेहको कुनै लक्षण देखा पर्दैन । तर, वर्षौदेखि ऊ सो समास्याको शिकार भएको हुनसक्छ । यस्ता प्याकेजअन्तर्गत गरिने विभिन्न जाचले उसको मुटुको अवस्था, मृगौलामा त्यसले असर पारे, नपारेको तथा उच्च रक्तचापको सम्पूर्ण अवस्था थाहा पाउन सकिन्छ । त्यस्तै, सम्पूर्ण शारीरीक जाँचले व्यक्तिको मृगौलाको अवस्था सुरुमै थाहा पाउन सकिन्छ । यसले मानिसलाई मृगौला फेल हुनबाट जोगाउने काम गर्दछ ।
कतिपय मानिसलाई रोगले संक्रमण गरिसक्दा समेत आफूलाई त्यो समस्या कसरी उत्पन्न भयो भन्ने थाहा नहुन सक्छ । जब कि यो जाचले तपाईलाई त्यो समस्या पहिले थियो कि थिएन भनेर जान्न मद्दत पुर्याउँछ
इसीजीले मुुटुको चालको अवस्था बताउँछ । त्यस्तै, मुटुमा कुनै प्रकारको अवरोध भए, नभएको थाहा हुन्छ । जसले गर्दा भविष्यमा मुटु सम्बन्धी कुनै समस्या देखा परेमा तपाई त्यतिबेला नै आफूलाई भएको समस्याबारे चिकित्सकलाई बताउन योगय बन्नुहुनेछ । साथै तपाईलाई सुरुदेखि नै आˆनो स्वास्थ्यावस्थाबारे थाहा हुने भएकोले त्यसलाई अवरोध पुग्ने गतिविधिबाट टाढा रहन सक्नुहुनेछ । त्यस्तै , कुनै पनि रोगको संक्रमण हुन सक्ने देखिएमा समयमा नै त्यसको उपचार गर्न सकिन्छ ।
किन जरुरी छ यो जाँच प्रत्येक वर्ष गर्न जरुरी रहन्छ ?
कतिपय मानिसलाई रोगले संक्रमण गरिसक्दा समेत आफूलाई त्यो समस्या कसरी उत्पन्न भयो भन्ने थाहा नहुन सक्छ । जब कि यो जाचले तपाईलाई त्यो समस्या पहिले थियो कि थिएन भनेर जान्न मद्दत पुर्याउँछ । कतिपय रोग जुन भर्खरमात्र सुरु भएको हो भने त्यसले स्वास्थ्यलाई त्यति हानी नगर्ने हुदाँ यस्ता जाँचले तपाईलाई आˆनो स्वास्थय प्रति सर्तक रहन मद्दत गर्दछ ।
कति समय लाग्छ, यो जाँच गर्न ?
थोरै समयमा नै गर्न सकिने यो जाँचका लागि अस्पतालले विशेष व्यवस्था गरेको छ । यो जाँच विहान सात बजेदेखि सुरु भई दिउँसो १२ बजे भित्रमा सकिने गर्दछ । यसको लागि व्यक्तिले पहिले अल्ट्रासाउण्डको लागि समय लिनु पर्दछ । त्यही समयलाई ध्यानमा राखेर अस्पतालले अन्य चेकजचाको व्यवस्था पनि सोही दिनको लागि मिलाइदिने गर्दछ ।
उदाहरणका लागि यदि दिउँसो ११ बजे अल्ट्रासाउण्डको लागि समय तोकिएको छ भने सोही दिन विहानबाट रगत जाँच, इसीजी लगायतको काम सुरु हुने गर्दछ । जसमा विहान सात बजेदेखि सुगर फास्टिङ्ग, व्लड काउन्ट, छातीको एक्स-रे, पिसाबको जाच लगायतको सम्पूर्ण चेकजाँच गरिन्छ ।
त्यस्तै, इसीजी, इको, लगायतको जाँच विहान आठ बजेदेखि गर्न सुरु गरिन्छ । त्यसपछि नौ बजेदखि पेट, पाठेघर लगायतको जाचको लागि अल्ट्रासाउण्डको काम सुरु गरिन्छ । अल्ट्रासाउण्डकै लागि भनेर अस्पतालले दिनमा ३० जनामात्र भनेर कोटा समेत छुट्याएको छ । अल्ट्रासाउण्ड गर्ने अघिल्लो दिन साधारण खाना खान तथा जाचको दिन विहान खाली पेट आउन चिकित्सकको सुझाव छ ।
ती जाँचको रिपोर्ट पनि त्यही दिइने व्यवस्था अस्पतालले गर्दै आएको छ । यी जाँचका लागि अस्पतालले कोठा नम्बर, जाँच कक्ष तथा त्यो जाचको लागि के के कुराको आवश्यक्ता छ भन्ने कुराको विस्तृत विवरण समेत एउटा कार्डमा उल्लेख गरेर दिने गरेको छ ।
त्यसबाहेक, निजामति कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा निशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरेको छ । प्रत्येक शुक्रवार विहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन हुने उक्त परीक्षणमा निजामति सेवामा आवद्ध जोकोहीले निशुल्क रुपमा स्वास्थय परिक्षण गर्न सक्नेछन् । त्यसका लागि अस्पतालले एक चिकित्सक तथा नर्सको समेत व्यवस्था गरेको छ ।
उक्त परीक्षणमा कुनै समस्या देखिएको खण्डमा त्यहाँ खटिएका चिकित्सकले केन्द्रीय अस्पतालमा थप जाँचका लागि सिफारिस गर्दछ ।