९ कात्तिक, काठमाडौं । यसपालिको तिहारमा हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपालले तात्तातो राजनीतिक विषयमा देउसी कार्यक्रम गर्ने भएको छ ।
हरेक वर्ष तिहारमा मौलिक देउसी खेल्दै आएको सिस्नुपानीले यसपटक लोकमान सिंह कार्कीलाई तारो बनाउँदै ‘लोकमान्य देउसी’ खेल्न लागेको हो । १४ कात्तिक लक्ष्मीपूजाको दिन सिस्नुपानी र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रज्ञा भवनमै हुने देउसीमा लोकमानदेखि व्यङ्ग्यका लायक सबै नेताहरुलाई प्रहार गरिने सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले बताए ।
देउसी कार्यक्रम पछिल्लो समय राजनीतिक वृत्तमा चर्चित बनेको ‘नौ महिना’लाई देउसी भाकामा भट्याउँदै सुरु हुनेछ –
भन भन भाइ हो – नौ महिना
गन गन बैनी हो – नौ महिना
पख पख देउवा – नौ महिना !
यसपछि तारोमा हुनेछन् अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की । संसदमा महाअभियोग प्रस्तावमाथि छलफल भइरहँदा उनीविरुद्ध दलहरुले कस्तो एक्सन लिने हुन्, निर्क्यौल हुनै बाँकी छ । तर, सिस्नुपानीका अनुसार, देउसी खेलिने लक्ष्मीपूजाको दिनसम्ममा परिस्थितिमा फेरबदल आए पनि खासै फरक नपर्ने गरी देउसी भाका बुनिएको छ –
मानसिंह तानसिंह – लोकमानसिंह
रुखसिंह घामसिंह – लोकमानसिंह
हँसिया तारा – लोकमानसिंह
सबका प्यारा – लोकमानसिंह
यस्तै, दिल्ली-नेपाल सम्बन्धको कुरो आउँदा प्रभुसामु लम्पसार पर्ने नेपाली नेताहरूको प्रवृत्तिलाई पनि देउसेहरुले नङ्ग्याउनेछन् –
कस्तो सरकार छिमेकीका राजदूतले चलाउने
हाम्रा नेता लिन्ठिङ लिन्ठिङ पुच्छर हल्लाउने ।
भारतीय नाकाबन्दीपछि गत वर्ष ‘स्वाधीनता देउसी’ खेलेको सिस्नुपानीले यसपालिको ‘थिम’ राखेको छ, ‘जागरण देउसी’ । जागरणमा सरकारी कर्मचारीको विकृत शैली, शिक्षकहरुको पार्टीभक्तिबारे व्यङ्ग्य गरिनुका साथै राम्रा काम गर्ने समाजका हिरोहरुलाई देउसी भाकामार्फत नै धन्यवाद ज्ञापन समेत गरिने कार्यक्रम छ ।
राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी, प्रशासक लगायत सबैलाई निम्ता गरिएको देउसी कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’हुने पक्का भएको सिस्नुपानीका अध्यक्ष गाम्नागेले जानकारी दिए ।
कार्यक्रममा शिशिर योगी र कमलीकान्त भेटुवालको गीत, शैलेन्द्र सिम्खडाको व्यङ्ग्य कविता लगायतका आकर्षण पनि रहनेछन् ।