+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रचण्डको सम्पत्तिः १० वर्षमा जग्गा घट्यो, सुन थपियो

छोराको सम्पत्ति र संसदको पारिश्रमिक नदेखाउँदा आशंका

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३० गते ११:५२

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भरेको सम्पत्ति विवरणसम्बन्धी फारम र करिब १० वर्ष पहिले पार्टीमा बुझाएको सम्पत्ति विवरणमा केही घटबढ देखिएको छ ।

माओवादी पार्टीले केन्द्रीय नेताहरुको सम्पत्ति पार्टीकरण गर्ने भन्दै १० वर्षपहिले सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

त्यतिबेला भूमिगत माओवादी अध्यक्ष प्रचण्डले आफ्नो सम्पत्ति विवरणमा यस्तो उल्लेख गरेका थिएः

नाम- पुष्पकमल दाहाल (टेकनाम-प्रचण्ड)
नगद- छैन ।
घर /घडेरी (अन्दाजी मूल्यसहित) – श्रीमतीसहितको एक कठ्ठा सातधुर (भरतपुर, चितवन) मूल्य-अञ्दाजी ३/४ लाख
सामान तथा लजिष्टिक (अञ्दाजी मूल्य) छैन ।

सुनचाँदी तथा गरगहना (अञ्दाजी मूल्य) – २ तोला सुन

१० वर्षमा जग्गा घट्यो, सुन थपियो

दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको सम्पत्तिमा एक तोला सुन थपिएको छ भने सात धुर जग्गा घटेको छ ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरेको आफ्नो पछिल्लो सम्पत्ति विवरणमा श्रीमतीका नाममा चितवनमा एक कठ्ठा जमीन रहेको उल्लेख गरेका छन् । यसअघि उनले एक कठ्ठा सात धुर जग्गा रहेको देखाएका थिए ।

त्यसैगरी पहिले दुई तोला सुन रहेको देखाइएकोमा अहिले तीन तोला सुन देखाइएको छ ।

सम्पत्ति विवरणमाथि शंका

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरणमाथि धेरैले प्रश्न उठाएका छन् । उनको यो सम्पत्ति विवरणलाई ‘अस्वाभाविक’ भन्दै शंका गर्नेहरु धेरै छन् । जस्तो कि प्रधानमन्त्रीले एक्लो छोरा प्रकाश दाहालसँग रहेको अचल वा लजिस्टिक सम्पत्ति उल्लेख गरेका छैनन् ।

पहिलो संविधानसभा देखि नै सभासदसमेत रहँदै आएका उनले आफ्नो पारिश्रमिक एवं तलब भत्ताको आर्जनबारे सम्पत्ति विवरण फारममा उल्लेख नगरेका कारणले पनि यो सम्पत्ति विवरण औपचारिक एवं झारा टार्ने खालको मात्रै देखिएको धेरैको प्रतिक्रिया छ ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफूसँग रहेको मोबाइल पनि सार्वजनिक गरेका थिए । प्रचण्ड सरकारकै कतिपय मन्त्रीहरुले आफूसित रहेको कम्प्युटर, ल्यापटप र मोबाइलहरुको पनि विवरण भरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले यस्ता चिजहरुको विवरण फारममा उल्लेख गरेका छैनन् । यसले गर्दा पनि उनको सम्पत्ति विवरण औपचारिकता जस्तो बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?