+
+
Shares

विकास समितिको निर्देशनः सडकको खाल्डाखुल्डी राति नै पुर्नु

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २१ गते १४:१५

२१ माघ काठमाडौं । संसदको विकास समितिले मेलम्ची खानेपानी आयोजनाको पाइप विच्छाउने क्रममा भत्काइएका सडकको खाल्डा तत्काल पुर्न निर्देशन दिएका छन् । साथै काम भइरहेको ठाउँमा पनि पानी छर्कन र सडकको धुलो सफा गर्ने ब्रुमर मेसिनको प्रयोग गर्न पनि भनेको छ ।

मेलम्चीको पाइप विच्छाउने तथा रिङरोड विस्तारका क्रममा सडक खन्दा राजधानीमा धुलो र प्रदुषण बढेको छ । यसबारे चासो राख्दै विकास समितिले शुक्रबार भौतिक पूर्वाधार, खोनपानी तथा सरसफाइ मन्त्रालय, उपत्यका विकास प्राधिकरण, मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरुसँग छलफल गरेको थियो ।

बैठकले मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति सन्तोषजनक भएपनि सडकमा खनिएका खाल्डाखुल्डी पुर्न ढिलाई भएको भन्दै असन्तुष्टि जनाएको छ ।

पाइपलाइन बिच्छ्याउने काम सकिएपछि तत्काल खाल्डाखुल्डी नपुर्ने तथा सडक निर्माण अघि नबढाउने गरेका कारण काठमाडौंमा धुलो तथा प्रदुषण बढेको विकास समितिका सभापति रविन्द्र अधिकारीले बताए ।

बैठकले थप जनशक्ति परिचालन गरी रातको समय भइरहेको पाइपलाइन विच्छ्याउने कामलाई प्रभावकारी बनाउन मेलम्चीलाई भनेको छ । साथै भत्काइएका सडक तथा खाल्डाखुल्डी पुर्ने काम पनि रातकै समयमा गर्न उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकालाई निर्देशन दिएको छ ।

साथै बिच्छ्याइएका पाइपको तत्काल परीक्षण गरी १५ दिनभित्र सडक हस्तान्तरण गर्न र त्यसको ४५ दिनभित्र मर्मत गरिसक्न भनेको छ । साथै पाइप लाइन विच्छ्याउने क्रममा ढल, टेलिफोन, विजुली लगायतका संरचनामा क्षति पुग्ने तर, समयमै ममर्त नहुने गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

पानी छर्कनू, ब्रुमर चलाउनु

विकास समितिले तत्काल प्रदुषण कम गर्न नियमित पानी छर्कन, उपलब्ध ब्रुमर मेसिनको नियमित प्रयोग गर्न मेलम्ची खानेपानी आयोजना-२ लाई निर्देशन दिइएको छ । काठमाडौंको सरसफाईको लागि आवश्यक पर्ने ब्रुमर मेसिनहरु खरिद गर्न काठमाडौं महानगरपालिकालाई भनेको छ ।

विकास समितिले पाइपलाइन विस्तारका क्रममा जमिनको सतह नविगारी भूमिगत रुपमा नै खोदान गर्ने प्रविधि भित्राउन पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?