७ चैत, काठमाडौं । नेपाल टेलिकमले आफ्नो सीडीएमए र वाइम्याक्स प्रविधिका लागि थप लगानी नगर्ने भएको छ । यि प्रविधिमा धेरै नयाँ ग्राहक आउन नसकेको र भएका ग्राहकले पनि सेवा त्याग्दै गएकाले टेलिकमले सीडीएमए र वाइम्याक्सलाई केही वर्षभित्र ‘फेज आउट’ गर्ने तयारी गरेको हो ।
टिलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले अब टेलिकमले सीडीएमए र वाइम्याक्सको प्रविधिका थप ठूला लगानी नगर्ने बताइन् । फोर-जी नै टेलिकमको मुख्य हतियार भएकाले त्यसैमार्फत डाटा सेवामा केन्द्रित हुने उनको भनाइ छ ।
‘हामी अब वाइम्याक्स र सीडीएमएलाई फोरजीमार्फत नै केही वर्षभित्रै विस्थापित गर्छौं’ प्रवन्ध निर्देशक भण्डारीले भनिन्,’नयाँ प्रविधिमा जान ग्राहक आतुर छन् । हामी पुरानै प्रविधिलाई अंगालेर बसिरहने अवस्था छैन ।’
फाइबर टु होम पनि टेलिकमका सेवाको अर्को महत्वपूर्ण हिस्साा हुने भन्दै वाइम्याक्सलाई अब टेकिलमले प्रवर्द्धन नगर्ने उनको भनाइ छ ।
नेपाल टेलिकमले २ हजार ३ सय ब्यान्डमा ३० मेगाहर्ज फ्रीक्वेन्सी पाएर चार वर्षअघि नै वाइम्याक्स सेवा सुरु गरेको थियो । फोरजीकै गतिमा चल्ने वाइम्याक्स असफल किन भएको भनेर टेकिलमले विश्लेषण भने गरिसकेको छैन ।
४ वर्षमा १६ हजार ग्राहक मात्रै बटुल्न सकेपछि सकेपछि टेलिकम अब त्यसलाई त्याग्ने सोचमा देखिएको छ ।
किन भयाे असफल ?
त्यही २ हजार ३ सयको ब्याण्डमा भारतमा रिलायन्स जियोले गरेको कमाल भने टेलिकमलाई पाठ सिकाउने किसिमको छ । फोरजी सुरु गरेको एक महिना नबित्दै जियोले १ करोड ६० लाखभन्दा बढी ग्राहक रेकर्ड बनाएको थियो ।
तर, टेकिलम त्यही ब्याण्ड र त्यो भन्दा ठूलो फ्रीक्वेन्सी पाएर पनि वाइम्याक्सलाई ग्राहकसम्म पुर्याउन चुकेको छ । टेलिकमले वाईम्याक्सको सही रुपमा बजारीकरण गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । अब टेलिकमले ल्याएको फोर-जी भने विस्तारै लोकप्रिय हुँदैछ ।
काठमाडौं र पोखरामा सेवा सुरु भएको अवस्थामा नै फोर-जी ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएको दावी टेलिकमको छ ।टेलिकमले ०६९ कात्तिकबाट वाइम्याक्स सेवा प्ररम्भ गरेको थियो । पछिल्लो एकवर्षका बीचमा वाइम्याक्स प्रयोगकर्ता ३ हजारले मात्रै बढेका छन् । अहिले १६ हजार प्रयोगकर्ता रहेको वाइम्याक्सको प्रयोगकर्ताको वृद्धिदर महिनामा सयको हाराहारीमा मात्रै छ ।
टेलिकमको जिएसएम सेवामा महिनमा ३ लाखसम्म ग्राहक बढेकाले अब फोरजीलाई नै विस्तार गर्ने योजनामा टेलिकम लागेको हो ।
अधिकांशमा जिल्लामा वाइम्याक्स सेवा पुगिसकेको छ । तर, पनि ग्रामीण भेगमा पनि यसको प्रयोग कमजोर छ ।
वाइम्याक्स सेवा महंगो भएको गुनासोका बीच टेलिकमले ग्रहक तान्ने किसिमका आकर्षक योजना पनि खासै ल्याउन सकेको छैन ।
इन्टरनेटका लागि मात्रै यो प्रविधि उपयोग हुने भएकाले ग्राहले यसलाई खास चासो नदिएका हुन् । यसको जडान खर्च पनि महंगो छ ।
टेलिकमले वाइम्याक्स सार्वजनिक प्रयोजन तथा स्कुल, स्थानीय निकायका कार्यालय, स्वास्थ्य चौकी लगायतमा जोडिएकोले यसले दूर्गम भेगमा निकै स्तरीय सेवा दिइरहेको दावी गरेको छ ।
सिडएमए पनि उही बाटोमा
तर, अब ब्यवसायिक रुपमा असफल भएकाले अब यो प्रविधिलाई छाड्ने तरखरमा भने टेलिकम लागिसकेको छ । सीडीएमए प्रविधि पनि अब विश्व बजारबाट बाहिरिँदै गएको छ ।
कुनै समयम नेपालमा टेलिकमका झण्डै १४ लाख सीडीमए प्रयोगकर्ता थिए । तर, अहिले यसमा सक्रिय प्रयोगकर्ता निकै न्युन छन् । जिएसएम प्रविधिले सीडीएमएलाई अब विस्थापित नै गर्ने अवस्था बनेको छ । त्यसैले अब यसमा थप लगानी नगर्ने टेलिकमले जनाएको छ ।