Comments Add Comment

भाँचिएको धरहरा संरक्षण गर्दै नयाँ ठड्याइने, तयार भयो नक्सा

ग्लोबल टेण्डर आह्वान गर्ने तयारी


२० चैत, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गर्ने तयारी अब अन्तिम चरणमा पुगेको छ । धरहरालाई स्मारकसहित आकर्षक पार्कका रुपमा रुपमा विकास गर्ने गरी फाइनल नक्सा तयार भएको छ । जसअनुसार भाँचिएको धरहराको ठूटोलाई जस्ताको तस्तै संरक्षण गरिनेछ भने त्यसकै अगाडि नयाँ धरहरा ठड्याइनेछ ।

यो नक्सा बको एक हप्ताभित्रै नेपाल टेलिकमलाई हस्तान्तरण गरिनेछ । लगत्तै टेलिकमले धरहरा पुननिर्माणका लागि ग्लोबल टेण्डर गर्ने पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले अनलाइखबरलाई बताए ।

धरहरा निर्माणमा ‘मेरो धरहरा म आफै बनाउँछु’ अभियानमार्फत संकलन गरेको रकमबाहेक नपुगेको रकम टेलिकमले लगानी गर्नेछ । अब ८ रोपनीको धरहरा ४२ रोपनीमा फैलने निश्चित भएको छ ।

कस्तो बन्छ धरहरा ?

४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

सरकारले अब धरहरा ११ तलाको बनाउने निश्चित भएको छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुनेछ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सिमित भएको थियो ।

धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । आकस्मिक अवस्थाका लागि भर्‍याङको पनि ब्यवस्था गरिनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । यो धरहरा बनाउन करीव २ अर्ब ८० करोड देखि ३ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । निर्माण सुरु भएको तीन वर्षभित्र धरहरा निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

अहिले धरहराले ओगटेको ७ रोपनी जग्गासहित वैदेशिक हुलाक कार्यालय र टक्सार विभागको ३५ रोपनी जग्गा मिलाएर सुविधायुक्त धरहरा बनाउन लागेको विभागका महानिर्देशक दाहालले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माणका लागि ‘मेरो धरहरा म आफै बनाउँछु’ अभियान घोषणा गरेका थिए । राष्ट्रिय गौरवको धरहरामा सबै नेपालीको अपनत्व जगाउन यस्तो घोषणा गरिएको थियो । यो अभियानमा नेपाली नागरिकले स्वतस्फुर्त आर्थिक सहयोग गरिरहेका छन् ।

धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ ।

धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टबाटै लिफ्ट चढेर धरहराको टुप्पोमा पुग्ने व्यवस्था मिलाइने बताइएको छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुनेछ । धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहराको भित्र हुने अठारौं तलामा मिनी थिएटर बनाइने छ । थिएटर १७ जना क्षमताको हुने छ । जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो देखाइने छ ।


२ सय ४५ फिट अग्लो धरहराको टपमा सिसाले घेरेको ‘भ्यू डेक’ हुनेछ । जहाँबाट काठमाडौं अवलोकन गर्न सकिने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्ट लगायतका सुविधाहरु पनि राख्ने योजना छ ।

सुन्धरालाई थप आकषर्क बनाइने भएको छ । धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । जहाँ १ सय ३५ गाडी र ७ सय भन्दा बढी बाइक पार्किङ गर्न सकिनेछ ।

पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा बैद्य धरहरा सञ्चालन र ब्यवस्थापनबारे निर्णय हुन बाँकी छ ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment