१० बैशाख, काठमाडौं । ‘मोजमस्ती’ गर्ने उमेरकी एउटी कल्कलाउँदी केटी काठमाडौंको मेयर बन्ने दौडमा सामेल भएकी छिन् । र, जित्ने दाबी छ उनको ।
उनी हुन्, २१ वर्षीया रञ्जु दर्शना । मेयरमा उनको उम्मेदवारी घोषणाले धेरैको ध्यानाकर्षण गरेको छ । कतिपयले यसलाई मजाकको विषय बनाएका छन् भने कतिपयले सराहना गरेका छन् ।
रञ्जुको अन्तरवार्ता लिन चक्रपथस्थित विवेकशील नेपाल पार्टीको कार्यालयमा पुगियो । वेटिङ रूममा एकछिन वेट गरेपछि एउटी हँसिली युवती प्रवेश गरिन् ।
हात लम्काउँदै उनले भनिन्, ‘म रञ्जु दर्शना ।’
व्वाइज कट कपालबाट उनी चिनिसकेको थिइन् ।
दुई हातले कपाल स्याहार्दै उनी अन्तरवार्ता दिन ठीक परिन् ।
‘के यो तपाईंको पहिलो अन्तरवार्ता हो ?’ रेकर्डर अन गर्नुअघि सोधियो ।
‘होइन,’ उनले गर्वसाथ भनिन्, ‘योभन्दा अघि ५-७ चोटि दिइसकेकी छु ।’
नभन्दै रञ्जु अन्तरवार्ता दिन पारंगत भइसकिछन् । अनुभवले खारिएको नेताले झैं उनले हरेक प्रश्नको सुझबुझपूर्ण जवाफ दिइन् । कतै लट्पटिइनन् ।
चक्रपथमा भेटिएको कार्ड
रञ्जु तीनै युवती हुन्, जसले चार वर्षअघि चक्रपथको एउटा गल्लीमा ‘स्माइल’ चित्रसहितको एउटा कार्ड भेटेकी थिइन् । उनले त्यो कार्ड ओल्टाइपल्टाइ हेरेकी थिइन्, जसमा लेखिएको थियो, विवेकशील नेपाली पार्टी ।
रञ्जुलाई राजनीतिमा चाख बढिरहेको बेला थियो त्यो । उनी हरेक विहान टेलिभिजन हेर्थिन् र ब्रेकिङ न्यूज खोज्थिन्, यो थाहा पाउन कि आज बन्द छ कि छैन । विस्तारै उनी नेताहरुको भाषण सुन्न थालिन् । राजनीतिक दलहरुका क्रियाकलाप जाँच्न थालिन् । इन्ट्रेस्ट बढ्दै गयो । तर, उनलाई कुनै पार्टीले आकषिर्त गरेनन् । कुनै नेता मन परेनन् ।
‘म यस्तो पार्टी र नेताको खोजिमा थिएँ,’ रञ्जु भन्छिन्, ‘जसले आशाको द्विप जगाउन सकोस् ।’
गल्लीमा भेटिएको कार्डमा हाँसिरहेको चित्रले आशाको द्विप जगाउन खोजेझैं उनलाई लाग्यो । घर गइन् र गुगलमा ‘विवेकशील नेपाली पार्टी’ टाइप गरिन् । पार्टीको वेबसाइट भेटियो । त्यहाँ राखिएको मेनिफेस्टो पढिन् र प्रभावित बनिन् ।
वेवसाइटमा एउटा आह्वान थियो, ‘भोलि चक्रपथमा जम्मा हौं । खुल्ला नेपालका पक्षमा आवाज बुलन्द गरौं ।’
उनलाई जाउँ-जाउँ लाग्यो ।
भनिएको समय र ठाउँमा पुगिन् उनी, जहाँ युवाहरुको एउटा समूह राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरिरहेका थिए । रञ्जुले टाढैबाट हात हल्लाइन् । उनीहरुले स्वागत गरे । उनी राष्ट्रिय झण्डा बोकेर अरुसँगै मिसिइन् ।
यो उनको राजनीतिक जीवनको पहिलो दिन थियो ।
अघिल्लो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट विवेकशीलका अध्यक्ष उज्ववल थापा उठेका थिए । उनको चुनावी अभियानमा रञ्जु मज्जाले खटिइन् । भूकम्पपछिको उद्दार र राहतमा पनि उनी दिलोज्यानले लागिन् । यसैगरी डा. गोविन्द केसीको समर्थनमा सडकमा उत्रिएर नारा लगाइन् । यो ४ वर्षमा उनको राजनीतिक सक्रियता यस्तै रह्यो ।
नागरिकता बनाउँदा पाएको सास्ती
रञ्जु एकल आमाकी एकल छोरी हुन् । उनी नजन्मिँदै बुवा र आमा सम्वन्धविच्छेद भएको रहेछ । महाराजगञ्जमा रहेको घरमा आमाले उनलाई एक्लै हुर्काइन् । त्यसैले उनी आमालाई आफ्नो सर्वश्व मान्छिन् ।
१६ वर्ष उमेर पुगेपछि उनी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगिन् । आमाको नामबाट पनि नागरिकता बनाउन सर्वोच्चले दिएको आदेश उनलाई थाहा थियो ।
तर, आमाको नागरिकता देखाउनासाथ जिल्ला प्रशासनका कर्मचारीले हेर्दै नहेरी हातले पन्छाइदिए र भने ‘बाबुको नागरिकता ल्याऊ ।’
उनी आँखाभरी आँशु पार्दै घर फर्किइन् । ‘मलाई आमाले कहिल्यै बुवाको अभाव महसुस हुन दिनु भएन तर, राज्यले महसुस गरायो,’ रञ्जु भन्छिन् ।
नागरिकता बनाउनकै निम्ति उनी पहिलोपटक आफ्नो बुवालाई भेट्न पुगिन् । ‘१७ वर्षको उमेरमा पहिलोचोटि मैले आफ्नो बुबालाई देखेँ,’ रञ्जुले भनिन् ।
बिराटनगरको पिपलचोक भन्ने ठाउँमा उनी बुबालाई कुरिरहेकी थिइन् । उनको पिठ्यूमा गह्रुँगो ब्याग थियो । परबाट एक पुरुष पुरानो जस्तो देखिने साइकलमा चढेर उनी भएतिर आए र रोकिए ।
‘छोरी’ ती पुरुषले भने, ‘ब्याग राख ।’
ब्याग साइकलको ह्यान्डिलमा झुण्डाइदिएर उनी पछाडि क्यारियरमा बसिन् ।
बुवालाई भेटिसकेपछि नागरिकता बन्न कुनै समस्या भएन । मोरङ जिल्ला प्रशासनबाट हातमा नागरिकता लिएर निस्कँदा उनी आधी खुशी र आधी दुःखी थिइन् । खुशी यस अर्थमा कि उनी औपचारिक रुपमा नेपालको नागरिक भइन् । दुःखी यस मानेमा कि यो नागरिकतामा उनलाई जन्माउने र एक्लै हुर्काउने आमाको नामोनिशान थिएन ।
‘आमाको नाम लेख्ने ठाउँमा उनीहरुले रातो पेनले ड्यास लगाइदिएका थिए,’ रञ्जुले भनिन्, ‘त्यसले मलाई ठूलो चोट पर्यो ।’
यो देशको सिस्टम बदल्नुपर्छ र त्यसको लागि राजनीति नै गर्नुपर्छ भन्ने बिचार यहीँबाट झांगिएको बताउँछिन् उनी ।
पढाई र राजनीति सँगसँगै
रञ्जु अहिले नेसनल कलेज बालुवाटारमा स्नातक पढ्दैछिन् । उनको विषय विकास अध्ययन हो ।
‘पढ्ने उमेरमा किन राजनीति गरेर हिँड्नु भएको ? पढाई बिग्रिदैन ?’ उलार्इ सोधियो ।
उनले आफ्नो पढाईको विषय र राजनीति एक अर्कामा अन्योन्याश्रति रहेको बताइन् । ‘म पढाईमा लत्तो छाडेर राजनीतिमा होमिएकी होइन । नियमित कलेज गइरहेकी छु । राजनीतिले मलाई आफूले पढेको कुरा व्यवहारमा लागू गर्न मद्दत मिलेको छ,’ रञ्जुले भनिन् ।
सुरुसुरुमा आमाले उनलाई राजनीतिबाट रोक्न नखोजेकी होइनन् । तर, उनले कन्भिन्स गरिछाडिन् । रञ्जु भन्छिन्, ‘अहिले त मेरो काममा आमाको फुल सपोर्ट छ । उहाँलाई लुकाएर म केही पनि काम गर्दिन ।’
मेयरको उम्मेदवारी किन ?
अनि, एकैचोटि काठमाडौंको मेयर बन्ने महत्वाकांक्षा कसरी पलायो त उनमा ?
‘म काठमाडौंकी छोरी हुँ,’ रञ्जुले भनिन्, ‘यहाँका यावत समस्याहरु देखेकी छु, भोगेकी छु । धुलो धुवाँ खाएकी छु । सार्वजनिक बसमा ठेलमठेल गर्दै यात्रा गरेकी छु । बिहान २ बजे पानी थाप्न उठेकी छु । फोहोरको गन्धमा नाक थुन्दै हिँडेकी छु । विकास-निर्माणका काममा हुने गरेका बदमाशी र भ्रष्टाचारबारे सुनेकी-पढेकी छु । यीनै भोगाइहरुले मलाई मेयर बनेर काठमाडौं हाँक्ने महत्वाकांक्षा पैदा भयो ।’
तर, समस्या त अरुले पनि भोगेका छन् । यत्तिको आधारमा मेयर बन्ने योग्यता पुग्छ त ?
‘मैले त्यसो भनिनँ । मसँग समस्या समाधानको खाका पनि छ । यही खाका पार्टीमा प्रस्तुत गरेर मैले मेयरको टिकट पाएकी हुँ,’ उनले भनिन् ।
दर्शनाका अनुसार उनी महिला भएको वा युवा भएका कारणले मेयरको उम्मेदवारमा छनोट भएकी होइनन् । प्रतिस्पर्धामा अरुलाई उछिनेर अगाडि आएकी हुन् ।
मेयर बन्नका लागि विवेकशील पार्टीमा उनीसहित सात जनाले दावेदारी प्रस्तुत गरेका थिए । सबैले प्रस्तुत गरेका कार्ययोजनाको मूल्यांकन गर्दै जुरीले उनलाई छनोट गरेको हो । ‘सबैभन्दा ठूलो योग्यता भनेको इच्छाशक्ति हो,’ उनी भन्छिन्, ‘त्यो मसँग छ । अनुभव भन्ने कुरा काम गर्दै जाँदा हासिल हुने हो ।’
तैपनि २१ वर्षमै मेयर ताक्नु अलि हतार भएन र ?
उनले जवाफ दिइन्, ‘पृथ्वीनारायण शाहले २१ वर्षमा नेपाल एकीकरण सुरु गरे । मलालाले १७ वर्षमा नोबल पुरस्कार जितिन् । जुकरबर्गले १९ वर्षमा फेसबुक स्थापना गरे । यदि सही भिजन र इच्छाशक्ति छ भने उमेरले कुनै काम गर्न छेक्दैन ।’
तपाईंलाई जित्ने आशा कति प्रतिशत छ ?
‘मैदानमा उत्रिने जित्नकै लागि हो । मैले हार्छु भन्ने कल्पना गरेकै छैन । नेपालको राजनीतिमा नयाँ हावा चाहिएको छ । यसलाई महसुस गरेर काठमाडौंवासीले मलाई भोट दिनुहुनेछ भन्ने विश्वास पालेकी छु । स्मार्ट फोनको जमानामा उहाँहरुले ल्याण्डलाइन पक्कै खोज्नुहुन्न’ उनले भनिन् ।
उनी अगाडि भन्छिन्, ‘तर, हारेँ भने पनि म कुना पसेर रुन्न । अझ प्रतिवद्ध भएर आफ्नो यात्रा जारी राख्नेछु । युवाहरुलाई मोटिभेट गर्नेछु ।’
यस्ता छन् योजना
तपाईंको नजरमा काठमाडौंका प्रमुख समस्या के हुन् ?
‘खानेपानी, धुवाँ-धुलो, सडक वत्ति, फाहोर व्यवस्थापन र महंगी’ उनले फरर भनिन्, ‘हामीले काठमाडौंवासीका घर-घरमा पुगेर सर्वेक्षण गरेको आधारमा मैले यी समस्याहरुलाई प्राथमिकतामा राखेकी हुँ ।’
मेयर हुनुभयो भने कसरी काम गर्नुहुन्छ ?
सबैभन्दा पहिले विज्ञहरुको एउटा समूह गठन गर्नेछु । उनीहरुको सल्लाह र आफ्नो सोचका आधारमा काम अघि बढाउनेछु । सबैभन्दा पहिले काठमाडौंका ३२ वटै वडाका प्रतिनिधिलाई निम्त्याएर उनीहरुको कुरा सुन्छु र त्यसैका आधारमा आफ्नो प्राथमिकता निर्धारण गर्छु ।
मेयर बनेको खण्डमा आफूले गर्ने काम उनले कन्ठै पारेर राखेकी रहिछन् । यसरी बुँदागत रुपमा सुनाइन् ।
– काठमाडौंलाई बन्दमुक्त शहर बनाउने छु । बन्द गर्ने र चन्दा आतंक मच्चाउनेप्रति म एकदमै कडारुपमा प्रस्तुत हुनेछु ।
– एउटा महानगरमा राति ८ बजेपछि गाडी नपाइने र पसल बन्द हुने अवस्था हुनुहुन्न । काठमाडौंलाई कहिल्यै नसुत्ने जाग्राम शहर बनाउन आवश्यक पहलकदमी लिनेछु ।
– वायुमा धुलोको मात्रा जाँच गर्ने प्रणाली टोलटोलमा स्थापना गर्ने छु । वडा-वडामा नागरिक र स्थानीय सरकारको तालमेलमा संयुक्त अनुगमन र कारबाही गर्ने घुम्ति टोली परिचालन गर्नेछु ।
– हरेकको घरबाट निस्किने फाहोरलाई मल बनाउन निजी संस्थाहरुसँग सहकार्य गर्नेछु ।
– ‘एक घर एक विरुवा, एक टोल हजार रुख’को नारा अघि सारेर हरेक विद्यार्थीले आफ्नो जन्मदिनमा रुख विरुवा रोप्ने संस्कार विकास गर्नेछु ।
– कौसीमा खेती गर्ने परिपाटीलाई प्रोत्साहन गर्नेछु
– चुस्त ढंगले एक घन्टामा कुनै पनि उद्योग-व्यवसाय दर्ता गर्ने व्यवस्था मिलाउनेछु । व्यवसायीलाई सँधै प्रोत्साहन गर्ने नीति ल्याउनेछु
– कर तिर्नका लागि विहानदेखि बेलुकासम्म लाइन बस्ने अवस्था अन्त्य गर्नेछु । मोबाइलबाटै कर तिर्न सकिने प्रणाली विकास गर्नेछु ।
– पेट्रोलको साटो विजुली र सोलारबाट चल्ने सवारी साधनलाई बढवा दिनेछु ।
– काठमाडौंलाई पैदलयात्रुमैत्री बनाउने छु, किनकी यहाँ ४१ प्रतिशतभन्दा बढि पैदलयात्री छन् ।
– राति पनि खेलाउन सकिने गरी क्रिकेट रंगशाला र एथ्लेटिक्ससमेत खेलाउन सकिने गरी फुटबल रंगशाला निर्माण गर्नेछु ।
– एक घन्टाभित्र काठमाडौंको कुनै ठाउँमा पनि पुग्न सक्ने गरी ट्राफिक व्यवस्था मिलाउनेछु । धनी मान्छेहरु आफ्नो पजेरो छोडेर सार्वजनिक सवारीमा यात्रा गर्न आउन् न ।
‘अरु पनि थुप्रै छन्, तपाईंको लेखमा अट्दैन होला,’ उनले भनिन् ।
राजनीतिक अन्यौलको समाधान
उनलाई समसामयिक राजनीतिबारे पनि प्रश्न गरियो ।
अहिलेको राजनीतिक अन्योलको समाधान कसरी होला ?
‘टेबल टकमा बस्नेहरु गम्भीर हुनपर्यो । उनीहरुको पछाडि तीन करोड जनता छन् भन्ने कुरा मनन गर्नुपर्यो’ उनले भनिन् ।
सीमांकन हेरफेर, नागरिकता जस्ता कुराहरुमा विज्ञहरुको सुझाव लिएर निस्कर्ष पुग्नुपर्ने राय प्रकट गरिन् । ‘मधेसको प्रमुख समस्या विकास निर्माण हो, सामाजिक कुरीति हो, सीमा अतिक्रमण हो,’ काठमाडौंको मेयरकी उम्मेदवार दर्शनाले भनिन्, ‘तर मधेसी दलहरु अरु नै मुद्दाहरुमा अल्भिmइरहनु भएको छ ।’
उनले जनताले भोट दिँदैनन् भनेर डराइरहेका शक्तिहरु चुनावविरुद्ध रहेको पनि दाबी गरिन् ।
स्थानीय चुनाव नै अहिलेको राजनीतिक अन्योल समाधान गर्ने प्रस्थानविन्दु रहेको उल्लेख गरिन् । ‘स्थानीय चुनावले डामडुम सबै समाधान गर्छ भन्ने त होइन,’ रञ्जुले भनिन्, ‘तर समाधानको बाटोमा लैजान्छ ।’
चुनाव चिन्ह नहुँदा समस्या
आफ्नो पार्टीले चुनावचिन्ह नपाउँदा चुनावी अभियान सञ्चालन गर्न समस्या परेको दर्शनाले गुनासो गरिन् ।
उनले भनिन्, ‘हामी चाँडै घरदैलो सुरु गर्ने तयारीमा छौ । तर चुनाव चिन्ह नै नभएपछि केमा भोट हाल्न भन्ने ? त्यसैले दुई चरणमा घरदैलो गर्नुपर्ने अवस्था आयो ।’
प्रधानमन्त्री बन्ने महत्वाकांक्षा
२१ वर्षीया रञ्जुले भविश्यमा प्रधानमन्त्री बन्नेसम्म महत्वाकांक्षा पालेकी छिन् । उनी भन्छिन्, ‘महत्वाकांक्षा जहिले पनि ठूलै राख्नुपर्छ । मेरो अन्तिम लक्ष्य भनेको देशको प्रधानमन्त्री बन्ने नै हो ।’
यद्यपि आफूले ५५ वर्षसम्म मात्र सक्रिय राजनीति गर्ने उनी बताउँछिन् । ‘त्यतिञ्जेलमा प्रधानमन्त्री भइँन भने बुढेसकालमा म दाबी गर्दिन’ रञ्जुले भनिन् ।
सुन्दरताको असर ?
सबै कुरा सोधिसकेपछि विवाह र प्रेमको प्रसंग त छुटाउनै भएन । सोधियो, ‘कहिल्यै प्रेममा पर्नुभएको छ ?’
यो प्रश्नको उनले जवाफ दिनै मानिनन् ।
‘यो त मेरो एकदम प्राइभेट कुरा हो । नभनुँ होला ।’ उनले बार तेस्र्याइन् ।
बिहे कहिले गर्ने सोच छ त ?
यसमा परम्परागत जवाफ दिइन्, ‘खोइ कुनै योजना नै छैन । मेरो त कामसँग नै बिहे भइसक्यो जस्तो लाग्छ ।’
कस्तो केटासँग बिहे गर्ने सुर छ ?
‘केही सोचेको छैन । के थाहा भोलि गएर कोसँग टक्रक्क मन मिल्छ । न मिलिसकेको पो छ कि ?’ उनले हल्का संकेत गरिन् । त्यसो त आफ्नो जीवनमा आउने व्यक्ति नेपाललाई माया गर्ने हुनैपर्ने अनिवार्य शर्त पनि प्रस्तुत गरिन् ।
अरु यूवा-युवतीले जस्तो मोजमस्ती गर्न मन लाग्दैन ?
‘मोजमस्तीको परिभाषा के हो ?’ उनले उल्टै सोधिन् । फेरि भनिन्, ‘म आफ्नै कामसँग मस्ती गरिरहेको छु । मस्ती गर्नका लागि मुभी नै हेर्नुपर्छ, डान्स क्लब नै जानुपर्छ भन्ने छैन ।’
फुर्सदमा के गर्नुहुन्छ ?
‘नाच्छु,’ उनले सुनाइन्, ‘ठूलो आवाजमा गीत बजाउँछु र ऐना हेर्दै बिन्दास पारामा नाचेर बस्छु । यसरी नाच्नुले मलाई तनावमुक्त हुन पनि सघाउँछ ।’
उनलाई अन्तिम प्रश्न सोधियो, ‘तपाईंको तस्वीरसहित समाचार आएपछि सुन्दरता पनि चर्चाको विषय बनिरहेको छ । यसबाट पनि आफूलाई प्लस प्वाइन्ट हुने ठान्नु भएको छ कि ?
यो प्रश्नमा उनी निकै लजाइन् । जवाफ दिनै मानिनन् ।
त्यसपछि रेकर्डर अफ गर्नै लाग्दा उनले रोकिन् ।
‘अरु पनि केही भन्नुछ’ भन्दै आँखा चिम्म गरिन् भुन्भुनाउन थालिन्ः ‘एकताका काठमाडौं संसारकै सुन्दरमध्येको एक शहर थियो । हाम्रो काष्टमण्डप बन्दा अमेरिका, अष्टे्रलिया भन्ने देश नै थिएनन् । धरहरा ठडिँदा पेरिसको आइफेल टावर बनेकै थिएन । त्यसबेला रानीपोखरी कति सुन्दर थियो होला ? सुन्धाराबाट कति कलकल पानी बग्थ्यो होला ? त्यस्तो काठमाडौं आज कसरी यस्तो अस्तव्यस्त भयो ? कसरी यस्तो ढलमान्डु, धुलोमान्डु भयो । कुरा सिम्पल छ । पटक-पटक लुट्नेलाई नै हामी शहरको चाबी दिन्छौं । अनि पछि पछुताउँछौं । हामीले सँधै चित्र बदल्यौं, चरित्र बदल्न सकेनौं । अहिले सुनौलो अवसर आएको छ, ठीक मान्छेलाई ठीक ठाउँमा पुर्याउन । त्यही भएर यसपाली विवेक प्रयोग गरौं ।’
प्रतिक्रिया 4