+
+

गगन थापाको चेतावनीः मलाई कपनबाट कसैले लखेट्न सक्दैन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३० गते १५:१३

३० बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले कपन घटनाबारे स्पष्टीकरण दिँदै आफूले आचार संहिता उल्लंघन नगरेको बताएका छन् ।

कपनबाट लखेटियो भन्ने प्रचार गलत भएको भन्दै उनले आफू फेरि कपन जाने बताए । साथै उत्तेजनामा नआउन पार्टी कार्यकर्तालाई उनले आग्रह गरे ।

फेसबुक लाइभमार्फत स्पष्टीकरण दिँदै कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री थापाले मामाघर गएर फर्किने क्रममा पार्टीका स्थानीय कार्यकर्तासँग छलफल गरेको बताए । उनले भने, ‘मतदातासँग मत मागेको होइन, पार्टीका स्थानीय साथीहरुसँग छलफल गरेको हुँ र आचारसंहिता उल्लंघन होइन ।’

छलफलबाट बाहिर निस्कनासाथ एमालेका नेता, कार्यकर्ताले आफ्नो गाडीलाई घेर्दै नाराबाजी गरेको उनले सुनाए । वादविवाद गर्दा अपि्रय स्थिति होला भन्ने लागेर आफू त्यहाँबाट हिँडेको तर, त्यसक्रममा मोटरसाइकलले पछ्याउनेदेखि गाडीमा ढुंगा हान्ने काम समेत भएको उनले बताए ।

यसलाई कमजोरी ठानेर कपनबाट लखेटियो भन्ने प्रचार गरिएको भन्दै थापाले आपत्ति जनाए ।

कांग्रेस नेता थापाले चेतावनीपूर्ण भाषामा भने, ‘म विन्रमपूर्वक आग्रह गर्छु, यो मेरो निर्वाचन क्षेत्र हो । जहाँ मैले अत्यन्त स्नेह पाएको छु । त्यो सन्दर्भमा मैले मेरो ठाउँबाट कसैले लखेटिएर लखेटिने त्यति कमजोर हैसियत मेरो छैन ।’

उनले अघि भने, ‘यदि मैले अपि्रय घटना होस् भन्ने चाहेको भए कतिपयले ऐया पनि भन्न पाउँदैनथे ।’

निर्वाचन आचार संहिताले हिँडडुल गर्न र पार्टीका नेता कार्यकर्तासँग बन्द कोठामा छलफल गर्न नरोकेको भन्दै उनले आफू कपनपछि जयबागेश्वरी, सुकेधारा लगायतका ठाउँमा गएर पार्टी कार्यकर्तासँग छलफल गरेको सुनाए ।

आफू आजै विभिन्न ठाउँका साथै कपन पनि जाने कार्यक्रम रहेको सुनाउँदै गगनले भनेका छन्, ‘थप जानकारी चाहिए दिन तयार छु ।’

थापाले आचार संहिता उल्लंघन भयो भन्ने लागे निर्वाचन आयोगमा उजुरी दिन चुनौती दिए ।

केहीले आफूले पैसा बाँडेको भन्ने हल्ला पनि चलाएको भन्दै कांग्रेस नेता गगनले त्यसको खण्डन गरे । ‘चुनावमा भाग लिएका कुनै पनि दलले पैसा दिएर मत किन्न सकिन्छ भन्ने ठान्नु बूढानीलकण्ठका मतदाताको अपमान हो’ उनले भने, ‘एमालेले नै पनि पैसा बाँडेर काठमाडौंका मतदाताको भोट किन्न सकिन्छ भन्ने ठान्छ भने त्यो मतदाताको अपमान हो ।’

कपन घटनामा स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने आफ्नो अधिकार हनन हुनुका साथै दुर्व्यवहार भएको भन्दै उनले यसको हिसाब किताब जनताले नै गर्ने बताए । स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता थापाले भने, ‘यसको हिसाव किताब जनताले चुनावमा गर्छन् भन्ने विश्वास छ ।’

थापाले कपन घटनालाई लिएर उत्तेजनामा नआउन र आचार संहिता पालना गर्न पनि पार्टी कार्यकर्तालाई फेसबुक लाइभमार्फत अपील गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?