Comments Add Comment

पोखरा महानगरको चुनावः यसरी फेल खायो कांग्रेसको हिसाब

६ जेठ, पोखरा । पहिलो चरणको निर्वाचनको मैझारो हुनै लाग्दा सबैको ध्यान चार महानगरमा केन्द्रित छ । काठमाडौंमा एमालेले साढे ५ हजारको अग्रता लिएको छ भने अन्य महानगरमा प्रतिस्पर्धा रोचक नै छ ।

पोखरामा एमाले उम्मेदवार मानबहादुर जिसी केही हजार भोटले अगाडि छन् । जिसी र कांग्रेसका उम्मेदवार रामजी कुँवरको मतान्तर बेला-बेलामा केही सयमा पनि झर्ने गरेका कारण प्रतिस्पर्धा रोचक नै मान्न सकिन्छ ।

तर, यही बीचमा कांग्रेसको पोखरा लेखनाथ महानगर समितिका सभापति बजिरमान श्रेष्ठको राजीनामा आयो । यो राजीनामालाई अर्थपूर्ण मानिएको छ ।

१ लाख ६८ हजार ६७ मतदाता रहेको पोखरा लेखनाथ महानगरमा १ लाख २५ हजार ६ सय मत खसेको छ । शनिबार दिउँसोसम्ममा ४० हजारमात्र मतगणना भएको छ । तर, महानगर समितिका सभापतिले सोचे जस्तो परिणाम नआएको भन्दै शुक्रबार नै राजीनामा दिए ।

यसले प्रश्न उठेको छ, पोखरा महानगरमा के कांग्रेसले हार स्वीकार गरेको हो ? यसबारे कांग्रेस नेताहरु खुलेर कुरा गर्न तयार छैनन् । तर, अनौपचारिक सम्वादहरुमा अब जितको सम्भावना कम रहेको बताउँछन् ।

कहाँ फेल खायो कांग्रेस ?

उम्मेदवारी दर्तादेखि मौन अवधिको दिनसम्म आइपुग्दा कांग्रेस नेतृत्वलाई लागेको थियो, करीब ६० हजार मत ल्याएर मेयर र उपमेयर दुबै जित्छौं ।

आफ्ना उम्मेदवारलाई समर्थन गर्दै माओवादी केन्द्रले मेयरको उम्मेदवारी नै फिर्ता लिएपछि कांग्रेसमा थप आत्मविश्वास देखिएको थियो । उसको आंकलन थियो, ५-१० हजारको अन्तरले एमालेलाई हराइन्छ ।

एमालेका उम्मेदवारले ५० देखि ५५ हजार र बाँकी अन्य दलले मत ल्याउने कांग्रेसले आंकलन गरेको थियो । तर, परिणाम ठ्याक्कै उल्टो देखिन थालेपछि कांग्रेस कास्की नेतृत्व अब हारियो भन्नेमा निष्कर्ष नजिक पुगेको छ । यसैको कडीको रुपमा महानगर समितिका सभापति श्रेष्ठको राजीनामालाई लिन सकिन्छ । अन्तर्घातलाई नजिकबाट नियालेका उनले पार्टीले हार्ने निश्चित भएपछि नै राजीनामा दिएको उनी निकट कार्यकर्ता बताउँछन् ।

कांग्रेसले पोखरा लेखनाथ महानगरमा आफ्नो पार्टीको मत करीब ५० हजार अनुमान गरेको थियो । एमालेको बराबर नै मत छ भन्नेमा कांग्रेस ढुक्क थियो । त्यसमा माओवादी केन्द्रले मेयरमा रामजी कुँवरलाई सघाउने निर्णय भएपछि करीब १० हजार मत थपिने अपेक्षा गरेको थियो ।

माओवादी केन्द्रको करीब २० हजार मत रहेको कांग्रेसको अनुमान थियो । त्यसको आधा मात्रैपनि आए जित सुनिश्चित हुने उसको अनुमान थियो ।

पार्टीभित्रै अन्तर्घात भएको र माओवादीको मत अपेक्षाअनुसार नआएको कांग्रेसको मूल्यांकन छ । यद्यपि माओवादीले मेयरमा उम्मेदवारी नै नदिएका कारण उसको मत कांग्रेसले पाएको छ । तर, उपमेयरमा पाएको मत हेर्दा पोखरामा माओवादीको अवस्था दयनीय देखिन्छ ।

पार्टीमा विगतदेखि हुँदै आएको अन्तर्घात यसपटक देखिने गरी नै आएको कांग्रेस स्रोत बताउँछ । यसमा पार्टीको केन्द्रीय नेतृत्व पनि कम दोषी छैन ।

कांग्रेसले पहिले नरेशशंकर पालिखेलाई टिकट पक्का भयो भनेर काठमाडौं बोलाएको थियो । तर, आधा रातमा उम्मेदवार परिवर्तन गरियो, जसको प्रत्यक्ष असर निर्वाचनमा देखिएको छ । टिकट पाउने आशामा उपप्राध्यापकबाट राजिनामा दिएका देवराज चालिसेलाई व्यवस्थापन नगर्नु निराशाजनक परिणामको अर्को कारण बनेको छ ।

केही महिनाअघि सम्पन्न पोखरा उद्योग वाणिज्य संघको चुनावमा अध्यक्षका प्रत्यासी ६ जना कांग्रेसकै भए पनि कांग्रेस कास्कीले देव क्षेत्रीलाई आधिकारिक रुपमा पार्टीको उम्मेदवार घोषणा गरेर जिताउनका लागि पार्टी सभापति कृष्ण केसी नै फिल्डमा खटिनुले पनि अरु रुष्ट भए ।

उपमेयरमा स्वतन्त्रबाट मनोनयन दर्ता गराएका सिरोज कोइरालाको उम्मेदवारी फिर्ता गराउन नसक्नुले पनि असर गरेको कांग्रेस कार्यकर्ताको भनाइ छ ।

वडाहरुमै पल्टियो कांग्रेस

पोखरा लेखनाथ महानगरपालिका ३३ वटा वडा छन् । जसलाई कांग्रेसले सहजै जित्न सकिने, मेहनत गर्दा जित्न सकिने, कठिन र कुनै हालतमा जित्न नसकिने गरी चार समूहमा वर्गिकरण गरेको थियो ।

चुनाव प्रचारको क्रममा एमाले नेताहरु ।

कांग्रेसले वडा नम्बर २, ३, ४, ८, ९, १०, ११, १२, १३, १५, २२, २३, २७, ३० र ३२ गरेर १५ वटा वडा सजिलै जित्ने हिसाब निकालेको थियो । त्यस्तै मेहनत गर्दा वडा नम्बर १४, २६, २८ र ३३ मा जित्न सकिने आंकलन गरेको थियो भने वडा नम्बर १, ५, ७, २९ र ३१ कठिन तथा ६, १६, १८, १९, २०, २१, २४ र २५ जित्न नसकिने निश्कर्ष थियो ।

तर, मतदाताले उसको हिसाब फेल गरिदिए । जित्ने भनिएको वडामा समेत कांग्रेसको नतिजा नकारात्मक आयो ।

२ हजार ४ सय ५९ मत खसेको वडा नम्बर १ कांग्रेसले जित्न कठिन भएको वडा हो । त्यहाँ कांग्रेसका रामजी कुँवरले ८ सय ३१ र उपमेयरकी उम्मेद्वार सरस्वती गुरुङले ८ सय ४६ मत म्ात प्राप्त गरे । नजिते पनि एमालेको हाराहारीमा मत आउने कांग्रेसको अनुमान अनुसारै मत आएको छ ।

वडा नम्बर २ मा भने कांग्रेसले सोचेभन्दा झण्डै २ सय मत कम आएको छ । १ हजार ८ सय ४६ मत खसेको यस वडामा एक हजारभन्दा बढी मत आउने कांग्रेसको अनुमान थियो । तर, मेयरका उम्मेद्वार कुँवरले ८ सय २८ र उपमेयरकी गुरुङले ७ सय ५९ मत प्राप्त गरे । जबकी सो वडामा कांग्रेसका शारदा पराजुली ९ सय ३४ मत प्राप्त गर्दै बिजयी भइन् । यो मेयरका उम्मेद्वार कुँवरको भन्दा १ सय ६ मत बढी हो ।

२ हजार ६ मत खसेको व्ाडा नम्बर ३ मा कुँवरले ९ सय २७ र गुरुङले ८ सय ८३ मत प्राप्त गरे । कांग्रेसको बलियो प्रभाव मानिने यो वडामा कांग्रेसका रबिन्द्रबहादुर प्रजुले ९ सय ६३ मत प्राप्त गर्दै बिजयी भए । तर, कांग्रेसले यो वडामा कम्तिमा ३ सय मतले अग्रता लिने अपेक्षा गरेको थियो ।

एक हजार ६ सय २५ मतदाता रहेको वडा नम्बर ४ मा पनि कांग्रेसले ४ सय मतान्तर पार्ने अपेक्षा गरेको थियो । यो वडामा कुँवरको ८ सय ७२ र गुरुङको ६ सय ६३ मत आयो । वडामा कांग्रेसका शंकरप्रसाद बास्तोलाले पनि ८ सय १७ मत मात्रै प्राप्त गरे । यो प्रतिष्पर्धी एमालेको भन्दा करीब २ सय मत मात्रै फरक हो ।

३ हजार ३ सय ८ मत खसेको वडा नम्बर ५ मा कांग्रेसलाई सबैभन्दा ठूलो झड्का लाग्यो ।

नजितिने भनेर पहिल्यै किटान गरेको यो वडामा कांग्रेसले २ सय मतान्तरले आफू हार्ने अनुमान गरेको थियो । तर, कांग्रेसको अनुमान बिपरित एमालेले ६५५ बढी मत पाएको छ । यो वडामा कांग्रेसका कुँवरले १ हजार १ सय ६८ र गुरुङको १ हजार २३ मात्रै प्राप्त गरे । जबकी वडाध्यक्षका कांग्रेस उम्मेद्वार रामजी कोइरालाले १ हजार २ सय ४६ मत प्राप्त गरे ।

वडा नम्बर ६ मा भने कांग्रेसले अपेक्षा गरेभन्दा राम्रो मत पायो । ३ हजार २ सय ३६ मत खसेको यो वडा एमालेको गढ मानिन्छ र आफू हार्ने कांग्रेसको पूर्वानुमान थियो । अन्य सदस्य एमालेले जितेपछि वडाध्यक्ष कांग्रेसले जित्यो । मेयरका उम्मेदवार रामजी कुँवरको आफ्नो वडा भएकाले पनि नतिजा राम्रो आएको कांग्रेसको बुझाई छ त्यहाँ कुँवरले १ हजार ६ सय ७६ र गुरुङले १ हजार १ सय १८ मत प्राप्त गरे ।

२ हजार ८ सय ६४ मत खसेको वडा नम्बर ७ लाई कांग्रेसले पहिले नै नजित्ने वडा भनेर किटान गरेको थियो । यस हिसाबले त्यहाँको नतिजामा कांग्रेस सन्तुष्ट छ । सो वडामा कुँवरले एमालेका मेयरका उम्मेद्वार मानबहादुर जिसीको भन्दा ३ सय ४५ मत कम अर्थात १ हजार २८ मत प्राप्त गरे । सरस्वतीले भने कुँवरको भन्दा पनि कम ९ सय ३४ मत प्राप्त गरिन् ।

४ हजार २२ मत खसेको वडा नम्बर ८ मा सबैभन्दा ठूलो अन्तर्घात भएको कांग्रेस नेताहरु बताउँछन् । यो वडामा ५ सय मतान्तरले एमालेलाई पछि पार्ने उसको विश्लेषण थियो । तर, वडाध्यक्षमा हार्नुका साथै मेयरका उम्मेद्वार कुँवरले एमाले उम्मेद्वार भन्दा १८५ मत कम ल्याए ।

चुनाव प्रचारको क्रममा कांग्रेस नेताहरु ।

२ हजार ९ सय ६४ मत खसेको वडा नम्बर ९ मा कांग्रेसको अनुमानअनुसारै मत आएको उसको बुझाइ छ । यो वडामा कुँवरले १ हजार ३ सय ३ मत प्राप्त गरे ।

३ हजार ३ सय १० मत खसेको वडा नम्बर १० मा कांग्रेसले ४ सय भन्दा बढी मतान्तर पार्ने अनुमान गरेको थियो । तर, वडाध्यक्षमा राजकुमार गुरुङले १ हजार ४ सय ४६ मत ल्याउँदै जितेपनि मेयर र उपमेयरमा सोचेजस्तो मत आएन । यो वडामा कांग्रेसका मेयरलाई १ हजार २ सय ३८ र उपमेयरलाई १ हजार ३ सय ६८ मत मात्रै आयो ।

४ हजार ३ सय ५० मत खसेको वडा नम्बर ११ मा करीब ४ सयले अग्रता लिने कांग्रेसको अनुमान थियो । दोश्रो संविधानसभा निर्वाचनमा शारदा पौडेललाई यहि वडाबाट मत धेरै आउँदा जिताउन सघाएको भएपनि अन्तर्घात हुँदा मेयर र उपमेयरमा कम मात्रै मत आयो । यस वडामा मेयरमा १ हजार ५ सय ३० र उपमेयरमा १ हजार ५ सय ३७ मत मात्रै आयो । जबकी एमालेका जिसीले १ हजार ३९९ मत ल्याए ।

२ हजार ६ सय १२ मत खसेको वडा नम्बर १२ मा कांग्रेसले जित्ने अनुमान गरेको थियो । तर, कांग्रेसले वडामा हार बेहोर्‍यो । कांग्रेसले मेयरमा ८ सय ५३ र उपमेयरमा ९ सय १७ मत पायो भने एमालेका जिसीले १ हजार २४५ मत ल्याए । यहाँ अन्तर्घात भएको नेताहरु बताउँछन् ।

कांग्रेसले अर्को प्रत्यासित नतिजा व्यहोरेको वडा हो १३ । यहाँ ५ हजार २ सय ८५ मत खसेको छ र करीब दुई तिहाई मत ल्याएर जित्ने कांग्रेसको अनुमान थियो । तर, नतिजा उल्टो आयो । वडामा पोखरा लेखनाथ महानगर समितिका सभापति बजिरमान श्रेष्ठले हार बेहोर्नुपर्‍यो ।

करीब २ हजार ४ सय मत आउने अनुमान गरेको कांग्रेसलाई यो वडामा मेयरमा १ हजार ६ सय ८० र उपमेयरमा १ हजार ९ सय ५१ मत आयो । जबकी एमालेका जिसीलाई २ हजार ४ सय ५१ म्ात प्राप्त भयो । समाजसेवी तथा ईमान्दार नेताका रुपमा परिचित श्रेष्ठ यहि वडाबाट वडाध्यक्षमा ९९८ मतान्तरले एमाले उम्मेद्वार दर्शन लामासँग हारे ।

४ हजार ९ सय ९५ मत खसेको वडा नम्बर १५ मा करीब ३ सय मतले अग्रता लिने कांग्रेसको अनुमान थियो । तर, नतिजा ठीक बिपरित आयो । यो वडामा मेयर र उपमेयरमा कांग्रेसले १ हजार ४ सय ४० मत प्राप्त गर्‍यो भने एमालेका जिसीले २ हजार ५२ मत प्राप्त गरे ।

कांग्रेस वडा नम्बर १४ मा पनि केही मतले मात्रै अगाडि छ । तर, सोंचेजस्तो मत आएन ।

कांग्रेसले जित्ने भनिएका वडाहरु अब लगभग सकिएका छन् । वडा नम्बर १६ कांग्रेस पहिलेदेखि नै कमजोर भएको ठाउँ हो । यद्यपि पछिल्ला दिनमा केही सुधार भएकाले करीब ३ सय मतले पछि परिने कांग्रेसकै नेता/कार्यकर्ता बताउँछन् । वडा नम्बर १७ एमालेको गढ मानिन्छ । यो वडामा कांग्रेस ४ सयदेखि ५ सय मतले पछि पर्ने अनुमान गरिएको छ ।

वडा नम्बर १८ मा करीब ३ सय, वडा नम्बर १९ मा ३/४ सय मतले पछि पर्ने, वडा नम्बर २० मा २ सयदेखि ३ सय, वडा नम्बर २१ मा ३/४ सय मतले पछि पर्ने कांग्रेसको पूर्वअनुमान छ । वडा नम्बर २२ मा भने अन्तर्घात नभए करीब ३ सय मतले जित्ने उसको दाबी छ ।

वडा नम्बर २३ मा एक सयदेखि १५० मतले पछि परिने, वडा नम्बर २४ मा २ सय, वडा नम्बर २५ मा ३ सयदेखि ४ सय, वडा नम्बर २६ मा करीब १५० मतले पछि परिने कांग्रेस कास्कीका नेताहरुको अनुमान छ ।

वडा नम्बर २७ मा डेढ सय मतले जित्ने अपेक्षा गरेको कांग्रेसले वडा नम्बर २८ मा डेढ सय मतले पछि पर्ने अनुमान गरिसकेको छ ।

त्यस्तै, वडा नम्बर २९ मा थोरै मतान्तरले हार्ने, वडा नम्बर ३० मा करीब २ सय मतले जित्ने, वडा नम्बर ३१ मा २ सय मतले हार्ने, वडा नम्बर ३२ मा करीब २ सय मतले जित्ने र वडा नम्बर ३३ मा करीब ४ सय मतान्तरले हार्ने अनुमान गरेको छ ।

वडा नम्बर ३३ संसद विकास समितिका सभापति एवम् एमालेका युवा नेता रविन्द्र अधिकारीको ठाउँ हो । सो वडालाई एमालेको पकड क्षेत्र मानिन्छ ।

कांग्रेस नेताहरुको यो हिसावलाई हर्ने हो भने मेयरमा रामजी कुँवर, एमाले उम्मेदवार मानबहादुर जिसीसँग ५/७ हजारको अन्तरमा हार्ने सम्भावना बढ्दो छ ।

तर, ढ्वाङमा खसेको मत कसको पक्षमा छ भनेर पूर्वमानुमान लगाउन गाह्रो छ । यो विभिन्न ठाउँको मत परिणामले देखाउने छ । अन्तिमसम्म एउटा पार्टीका उम्मेदवारले अग्रता लिने र जित्ने चाहिँ अर्को पार्टीले यही चुनावमा नै भएको छ । त्यसैले अहिले नै कसैको हार वा जित सुनिश्चित भनिहाल्न मिल्दैन । तर, अहिलेसम्मको मतलाई विश्लेेषण गर्दा कांग्रेस एकपछि अर्को वडामा चुक्दै गएको भने पक्का हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment