+

नेपाल साफ यू-१५ च्याम्पियन बन्न असफल, भारतसँग २-१ ले पराजित

२०७४ भदौ  ११ गते १७:५१ २०७४ भदौ ११ गते १७:५१
नेपाल साफ यू-१५ च्याम्पियन बन्न असफल, भारतसँग २-१ ले पराजित

११ भदौ, काठमाडौं । अग्रता जोगाउन नसक्दा नेपाल, यू-१५ साफ च्याम्पियनसीपको उपबिजेतामा सीमित भएको छ । फाइनलमा नेपाल चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २-१ ले निराश बन्यो ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएका थिए । स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै ४१औं मिनेटमा टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्यूरी समयमा भारतका रिक्की जोहले प्रहार गरेको बल गोलरक्षक बिशाल सुनारले कलेक्ट गर्न नसक्दा डिफेण्डर सञ्जीव अर्यालले गोललाईनबाट क्लियर गरी गोलको खतरा टारेका थिए ।

पहिलो हाफमा भारतलाई दवावमा राखेको नेपालले सोही लय दोस्रो हाफमा कायम राख्न सकेन । शारीरिक रुपमा बलिया भारतीय खेलाडीसामू नेपाली किशोरहरु कमजोर देखिन थाले ।

नेपालले दुपै गोल डिफेण्डरहरुको तालमेल मिल्न नसक्दा खाएको थियो । ५९औं मिनेटमा लालरोकिमाले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए । मध्यक्षेत्रमा नेपाली खेलाडीले उनलाई मार्क गर्नै भ्याएनन् ।

७५औं मिनेटमा भारतले अग्रता लियो । यस गोल पनि नेपाली डिफेण्डरको कमजोरीले भएको थियो । भारतका बिक्रा प्रताप सिंहले उत्कृष्ट गोल गरेका थिए ।

नेपालले समूह चरणमा पनि भारतसँग २-१ कै पराजय व्यहोरेको थियो ।

सेमीफाइनलमा नेपालले बंगलादेशलाई ४-२ र भारतले भुटानलाई ३-० ले हराउँदै उपाधि भिडण्त तय गरेका थिए ।

नेपाली फुटबल यू-१५ साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय