२६ असोज, सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाहाकी राममाया तामाङको समय विहानैदेखि पशुपालनमा बित्ने गरेको छ ।
घरको आर्थिक अवस्था कमजोर रहेकी २१ वर्षीय राममायाले कक्षा १२ को परीक्षामा बिषय लागेपछि पढाई छाडिन् ।
अबिवाहित राममायाका बुबा रौता तामाङले छोरीलाई घरको आर्थिक अवस्था कमजोर भएकै कारण नेपालमा जागिर खुवाउन नसकेपछि वैदेशिक रोजगारीमा पठाउने निधो गरेपछि राममाया तयार भइन् ।
२०७० सालतिर राजधानीबाट कृषि अभियान सन्चालन गरी जिल्लालाई आधुनिक कृषि प्रणालीको हबको रुपमा बिकास गर्ने उदेश्य बोकेर तराई झरेका दिनेश कार्कीसँग राममायाको भेट भएपछि उनको जीवनले नयाँ मोड लियो ।
नेपालमै श्रम गर्ने हो भने बिदेशमा कमाउने पैसा सजिलै कमाउन सक्ने प्रेरणा दिने कार्कीको सहयोग र परामर्शमा उनले २०७१ सालमा प्रशंशा बहुउदेश्यीय कृषि र्फम प्रा.ली. दर्ता गरिन् ।
सुरुमा भैँसी पालनबाट पशुपालन यात्रा सुरु गरेकी उनले यसबाट राम्रो आम्दानी लिन नसकेपछि केही लगानी डुबाउनु पर्यो ।
केही महिनापछि भएका केही भैँसिहरु बेचेर गाइपालन तर्फ लागेकी राममायाँका अहिले गोठभरी गाईहरु छन् ।
उनलाई आर्थिक रुपमा कार्कीको केही सहयोग छ भने स्थानीय एक जनाले राममायाको र्फममा लगानी गरिदिएका छन् ।
अर्काको जग्गा भाडामा लिएर पशुपालन सुरु गरेकी राममायाको र्फममा अहिले माउ र बाच्छी गरी जर्सी, होलिस्टेर र अन्य जातका ४० बढी गाई छन् ।
२१ बर्षे राममायाँ भन्छिन्- जागिर नपाएपछि बिदेश जानुपर्ने बाध्यता थियो तर पशुपालनमा लागेर मासिक एक लाख सजिलै कमाउन सक्ने भएँ
उनले दैनिक बिहान र बेलुका गरी करिब ३५० लिटर दुध स्थानीय डेरीमा बिक्रि गर्ने गरेकी छिन् । मासिक ३ लाखको हाराहरीमा दुधबाट आउने रकम आधा खर्च भएपनि आधा बचत हुने उनी बताउँछिन् ।
उनका र्फममा अहिले १ जना पशु प्राबिधिक सहित ४ जनाले रोजगारी पनि पाएका छन् । कामदारसँगै उनी पनि बिहानैदेखि गोठको काममासँगै लाग्ने गरेकी छिन् ।
केही समय अघिमात्रै उनलाई जिल्लाका केही सहकारी सँस्थाहरुले उत्कृष्ट कृषकका रुपमा पुरस्कृत पनि गरेका छन् ।
यस्तै जिल्ला कृषी कार्यालय बाराबाट पनि उनी सम्मानित भएकी छिन् । सुरुमा कहीँकतैबाट कुुनैपनि कृषि सम्बन्धी तालिम नपाएकी राममाया अहिले भने पशुपालनको बिज्ञ जस्तै बनिसकेकी छिन् ।
उनी बिभिन्न भ्रमण तथा देशका बिभिन्न स्थानमा पुगेर तालिममा सहभागी भएपछि उनी अहिले गाईको कुनैपनि समस्य हातैले छामेर थाहा पाउँछिन् ।
राममायाले जिल्लाका सबै कृषकका लागि नमूना अभियान स्वरुप आगामी वर्ष घाँस उत्पादन प्रणालीको सुरुवात गर्ने भएकी छिन् ।
कुनै पनि कृषकले प्रशस्त घाँसको ब्यवस्था नगरेसम्म पुशपालनमा लाग्न नहुने प्रेरणा दिने उनले आगामी वर्षदेखि ५ बिगाह जग्गा भाडामा लिएर घाँस उत्पादन पद्धतीको समेत नमूना अभ्यास गरेर देखाउने प्रण लिएकी छिन् ।
हालसालै मात्र उनले दुग्ध संकलन तथा भण्डारणका लागि १० लाखको लगानीमा चिस्यान केन्द्रपनि आफैले ब्यवस्थापन गरेकी छिन् ।
राममायाँले जिल्लाबाट कृषि पेशाका लागि पाइने कुनैपनि अनुदान नलिएको बताउँछिन् । अनुदानमा बिभिन्न झन्झट् र सास्ती ब्याहोर्नुपर्ने बताउने उनले बरु सरकारले कृषकलाई आवस्यक ऋण दिए राम्रो हुने बताउँछिन् ।
अनुदान लिनेहरु देखावटी पेसा गरेर अनुदान दुरुपयोग हुने तर सरकारी कार्यालयहरुले ऋण दिए पेसामा लाग्ने किसानलाई सुलभ हुने उनको तर्क छ ।
सुरक्षा गार्डका रुपमा काम गर्ने उनका बुबा अहिले छोरीका अभियानबाट खुसी छन् । अहिले राममायाले ऋण र किस्ता तिरेर बाँकी रकमले कक्षा १० मा पढ्ने भाईको पढाई खर्च, बुबा र घरपरिवारको खर्चको जोहो आफैले गर्ने गरेकी छिन् ।