Comments Add Comment

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक

नेपाली विद्यार्थीहरुले अवैध कलेजमा पढिरहेको खुलासा

८ मंसिर, काठमाडौं । बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएको छ । यसको जानकारी पाएलगत्तै नेपाल सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ ।

करिब २ सय जना नेपाली विद्यार्थीहरु बंगलादेशका ३७ अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सीललाई गराएको छ । दूतावासका अनुसार बीडीएस र एमबीबीएस पढाउने केही कलेजहरु कालोसूचीमा परेका छन् र ती कलेजहरुमा करिब २ सय नेपाली विद्यार्थीहरु पढिरहेका छन् ।

‘शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत सबैबाट प्राप्त जानकारी अनुसार करिब २ सय जना नेपाली विद्यार्थीहरु अवैध कलेजमा पढिरहेको अनुमान छ,’ नेपाल मेडिकल काउन्सीलका प्रवक्ता डा. दिलिप शर्माले अनलाइनखबरसँग भने, ‘दूतावासले यो जानकारी दिएलगत्तै बंगलादेशमा मेडिकल पढ्न जान रोकेका छौं ।’

बंगलादेशस्थित नेपाली दूतावासले त्यस्ता विद्यार्थीहरुलाई उद्धारको पहल पनि गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

धेरै नेपाली विद्यार्थीहरु मेडिकल शिक्षा पढ्न बंगलादेश जाने गरेका छन् । एजेन्टहरुले बंगलादेशमा पढ्न पठाउने गर्दछन् । राम्रोसँग नबुझिकन पढ्न जाँदा नेपाली विद्यार्थीहरु फसेको काउन्सीलको ठहर छ ।

‘पठाउने एजेन्टहरुले बदमासी गरे । राम्रोसँग नबुझिकन जाँदा धोका भयो,’ काउन्सीलका प्रवक्ता शर्माले भने, ‘एम्बेसीले सेटलमेन्टको कोशिस गरिरहेको छ ।’

शर्माका अनुसार आफूहरु फसेको जानकारी पाएलगत्तै नेपाली विद्यार्थी र तिनका अभिभावकहरुले पनि काउन्सीलमा उजरी दिने क्रम जारी छ ।

बंगलादेशमा नेपालीले पढिरहेका कुनै कलेजहरुले सरकारी मापदण्ड पूरा नगरेको, विश्वविद्यालयबाट सम्वन्धन नलिएको र कुनै दर्ता नै नभएको पाइएको छ । ‘मेडिकल पढाउने कलेजहरु कुनै न कुनै विश्वविद्यालयमा दर्ता त हुनुपर्ने तर त्यसो नभएको पाइयो’ शर्माले भने, ‘समस्या आयो भने अर्को विश्वविद्यालयमा ट्रान्सफर गर्ने दायीत्व हुन्छ तर कलेजहरुले त्यस्तो पनि नगरेको पाइएको छ ।’

बंगलादेशमा एमबीबीएस पढ्न करिब ५० देखि ६० लाख रुपैयाँसम्म खर्च लाग्छ । यो रकम किस्ताबन्दीमा तिर्न मिल्ने र भिसा पनि सजिलै पाइने भएकाले धेरै नेपाली विद्यार्थीहरु बंगलादेशमा पढ्न जाने गरेका छन् ।

एक तथ्यांक अनुसार नेपालबाट मेडिकल शिक्षा पढ्न विदेश जानेहरुमध्ये ७२ प्रतिशत बंगलादेशमा गएका छन् । सन् २०१६ मा ४७८ जना विदेश पढ्न गएकामा ३२८ जना बंगलादेशमा गएको पाइएको छ ।

विदेशमा एमबीबीएस पढेकाहरुले नेपाल मेडिकल काउन्सीलले लिने टेस्ट परीक्षा उत्तीर्ण गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment