Comments Add Comment

नगिन्द्रको नियतिः मलेसियाबाट १२ वर्षमा फर्किँदा अर्धचेत शरीर, रित्तो हात

१७ पुस, काठमाडौं  । उदयपुरको त्रियुगा नगरपालिका-३ का नगिन्द्र कार्की अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को सैयामा छट्पटाइरहेका छन् ।

युवा अवस्थामा धन कमाउने आकांक्षा बोकेर मलेसिया पुगेका कार्की दुर्घटनापछि रित्तो हात र अर्धचेत शरीर लिएर दुई दिनअघि नेपाल फर्किएका हुन् ।

डेढ महिना मलेसियामा उपचार गरी दूतावास र विभिन्न संघ-संस्थाको पहलमा उनलाई नेपाल फर्काइएको हो ।

उनलाई त्रिभूवन विमानस्थलबाट एम्बुलेन्समा राखेर सिधै ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । ट्रमा सेन्टरबाट अहिले थप उपचारका लागि केएमसीमा छन् ।

कार्कीका दुई खुट्टा र दायाँ हात अझै पनि चल्दैनन् । डाक्टरका अनुसार उनको हातखुट्टा चल्न केही महिना लाग्नेछ ।

बायाँ खुट्टा चार ठाउँमा भाँच्चिएको छ । दायाँ खुट्टा र हात एक/एक ठाउँमा भाँच्चिएको छ । खुट्टामा घाउ नसुकेकोले एउटा अपरेसन गर्न बाँकी नै छ ।

०००

१२ वर्षअघि एसएलसी उत्तीर्ण गर्दा कार्की २० वर्षका थिए । विदेश गएर धन कमाउने अनि घरजम गर्ने योजना बुने । पैसा जुटाएर एक जना साथीसँगै मलेसिया पुगे ।

पाँच तारे होटेलमा काम गर्न भनी पुगेका उनी सामान्य चाइनिज होटेलमा काम गर्न बाध्य भए । तलव जम्मा ५०० सय थियो । मालिकको खप्की खाइरहनु पर्ने । रिसको झोकमा उनी त्यहाँबाट भागे ।

‘सामान्य चाइनिज होटेलमा काम गर्न पर्‍यो । मालिक राम्रो थिएन,’ बेडबाट अलिकति टाउको उठाउँदै उनले भने, ‘अनि त्यहाँबाट भागेँ ।’

होटेलबाट भागेपछि कार्की अबैधानिक भए । लुकीलुकी कहिले सुरक्षा गार्ड, कहिले होटेलको काम गरे । बढीमा एक वर्ष एउटा कम्पनीमा काम गरे । तर, एक रुपैयाँ पनि घर पठाएनन् ।

कम्पनी परिवर्तन गर्दै ६ महिनाअघि उनी मलायको कोलोकोप कम्पनीमा काम गर्न पुगे । कम्पनीको गाई फार्ममा काम गरिरहेका थिए ।

नोभेम्बर ६ तारिखका दिन उनी साथीभाई भेट्न जाँदै थिए । बिपरीत दिशाबाटा आएको गाडीले उनलाई ठक्कर दियो । ‘म हिँडिरहेको थिएँ, गाडीले हान्यो,’ कार्कीले भने, ‘गाडी कस्तो थियो, त्यसपछि के भयो मैले केही थाहा पाइनँ ।’

दुर्घटना भएको १४ दिनपछि उनी होसमा आए । अस्पतालमा कसले ल्यायो उनलाई थाहा भएन । इमर्जेन्सीबाट उनलाई वार्डमा सारिएको थियो ।

अस्पतालमै काम गर्ने दुई जना नेपाली भेटिएपछि दूतावाससम्म उनको सम्पर्क भयो । दूतावास, पीएनसीसी सँस्था, एनआरएनए, मुडुला कार्की समाज मलेसियाको सहयोगमा उनी नेपाल फर्काइए ।

अस्पतालमा उपचार गर्दा खर्च भएको साढे ७ लाख रुपैयाँ दूतावासले नै तिरिदिएको कार्कीले बताए ।

उपचार खर्चको चिन्ता

धन्न बाँचेर नेपाल र्फकेका कार्कीको उपचार पूरा भएको छैन । मलेसियाको अस्पतालबाट उनलाई नेपाल ल्याउनकै लागि डिस्चार्ज गरिएको थियो ।

कार्कीको वायाँ खुट्टाको घाउ अझै सुकेको छैन । एउटा अपरेसन गर्नुपर्ने छ । त्यसको खर्च र समय कति लाग्छ भन्ने जानकारी अहिलेसम्म अस्पतालले नदिएको कार्कीका काका सारदाकुमार कार्कीले बताए ।

सामान्य किसानी परिवारका कार्कीको घरबाट ठूलो खर्च गरेर उपचार गर्न सक्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment