३० पुस, इटहरी । चिसो बढेसँगै सुनसरी र धनकुटाको सीमा क्षेत्र भेडेटारमा पर्यटकहरु बढेका छन् । जाडो समयमा घाम ताप्न पर्यटकहरु भेडेटारसम्म पुग्ने गरेका हुन् ।
हाल दैनिक औषतमा १५ सय जना पर्यटकहरु भेडेटार पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ ।
भेडेटारमा हिउँदमा पनि विहानै घाम लाग्ने भएकोले पर्यटकहरु बढेको होटल एशोसिएसन भेडेटारका संस्थापक अध्यक्ष विष्णु श्रेष्ठले बताए ।
होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लाओतीले जाडोमा तातो र गर्मी मौसममा चिसो हुने भएकोले भेडेटारको आकर्षण सदाबहार हुने गरेको बताए ।
होटेल एशोसिएसनका अनुसार हालसालै अंग्रेजी नयाँ बर्षको अवसरमा डिसेम्बर ३१ देखि जनवरी २ सम्म सञ्चालन भएको भेडेटार फूड एक्स्पोमा ३० हजारले अवलोकन गरेका थिए ।
आन्तरिक पर्यटकहरुसँगै भारतीय पर्यटकहरु भने भेडेटारमा आँउन थालेको होटल व्यवसायीहरुको भनाइ छ ।
भारतको बिहार तथा पश्चिम बंगालका पर्यटकहरु घाम ताप्न र सभासेमिनार संचालन गर्न आउने गरेका छन् ।
ठूला ब्यापारीको आकर्षण
प्रदेश एकको सुगम हिल स्टेशन भेडेटारमा पछिल्लो समयमा ठूला व्यापारीहरुको आकर्षण बढेको छ ।
हालसालै चौधरी ग्रुपले वाइवाइ सिटी खोल्न भेडेटारमा स्थान खोजी गरिरहेको भेडेटारका व्यवसायी विष्णु श्रेष्ठले बताए ।
यस्तै इटहरी र विराटनगरमा स्थापित सपिङ सेन्टरहरु गोरखा डिपार्टमेन्ट स्टोर र नेपाल बजारले पनि भेडेटारमा होटल तथा आधुनिक लजहरु संचालनको लागि जग्गा लिइसकेको व्यवसायीहरुको भनाइ छ ।
भेडेटारका होटल तथा लजहरुमा २ अर्ब बराबरको लागानी भित्रिएको होटल अशोसिएसन अफ भेडेटारले जनाएको छ ।
होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीका अनुसार भेडेटारमा ४० वटा पर्यटक क्लासका होटलहरु रहेका छन् ।
होमस्टे पनि संचालन रहेको भेडेटारमा २२ वटा होमस्टेहरु रहेका छन् ।
भेडेटार नजिकैको नाम्जे र थुम्किमा गरी २२ होमस्टेहरु रहेका छन् ।
हाल दैनिक भेडेटारमा १७ सय पाहुनाहरुलाई औषतदेखि पर्यटक क्यासका होटल तथा होमस्टेमा अटाउन सकिने लावतीले बताए ।
प्रदेश एकको सदाबहार गन्तव्य
सुनसरी र धनकुटा जिल्लाको सिमानामा रहेको भेडेटार व्यस्त हिलस्टेसन हो ।
समुन्द्र सतहबाट १४३० मिटरको उचाहिमा रहेको भेडेटारमा बेलायती राजकुमार चाल्सले पाइला टेकेको डाँडामा चाल्स प्वाइन्ट समेत बनाइएको छ ।
धरान बजारबाट १७ किलोमिरटको नागबेली कालोपत्रे बाटो भएर पुगिने भेडेटारबाट मकालु, कन्चनजङ्घा र सगरमाथा हिमालसँगै पूर्वी तराईका फाँटहरु समेत देखिन्छन् ।
भेडेटार नजिकै नमस्ते झरना, सीएनएनले विश्वमा कम चर्चामा आएका उत्कृष्ठ गन्तव्य भनेको नाम्जे गाँउ र पूर्वका सबै जिल्ला सदरमुकाम देखिने भनिएको ध्वजेडाँडा आदि अन्य महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु रहेका छन् ।
आकर्षक होटलहरु भएको भेडेटार वनभोज खानेहरुको लागि मात्रै नभई साना-मझौला आकारका सभा,सेमिनार,गोष्ठी तथा भेलाहरु आयोजकको गन्तव्य समेत बनेको छ ।