१८ चैत, इटहरी । आजभन्दा २४ वर्ष अगाडि अर्थात् २०५० साल जेठ ३ गते नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रित को मृत्यु भयो । यो दुर्घटना थियो या हत्या भन्ने कुरा अझैसम्म गर्भमै छ ।
दुर्घटनाका एकमात्र प्रत्यक्षदर्शी थिए मदन भण्डारीको गाडी चालक अमर लामा । अदालतबाट दोषी ठहर भइ सजायँ भोगेका लामाको २०६० साउन ११ गते कीर्तिपुर लखेटी-लखेटी हत्या गरियो । अमर लामाको हत्या कसले गर्यो त्यो पनि रहस्यकै गर्भमा छ । एकमात्र साक्षीको पनि हत्या भएपछि दासढुंगा काण्डको वास्तविकता यही नै हो भन्ने अवस्था छैन ।
तर, बहुदलीय जनवादको प्रवर्द्धक तिनै मदन भण्डारीसँग सम्बन्धित सामाग्रीहरु भने अहिले संग्रहालयमा राखिएको छ । मदन-आश्रित चढेको अन्तिम जिप संग्र्रहालयको प्रमुख आकर्षणको केन्द्र बनेको छ ।
शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेको संग्रहालय आइतबारबाट सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।
पूर्व-पश्चिम राजमार्गमै जोडिएको उर्लाबारी-३ मंगलबारेमा रहेको संग्रहालयमा राखिएको बाग्मती अञ्चलको ८७९३ नम्बरको यो गाडी हेर्ने र तस्बिर लिनेहरु बढेको संग्रहालयका कर्मचारीहरु बताउँछन् ।
भण्डारीसँगै राजनीतिक संगत गरेका एमाले नेता गुरु बरालको पहलकदमीमा बनेको संग्र्रहालयमा भण्डारीले प्रयोग गरेका समानहरूदेखि भण्डारीको लिगेसी जोडिएका दस्ताबेज तथा तस्बिरहरू छन् ।
१० वर्षको मेहेनत र ३ करोडको लागतमा बनेको संग्रहालय बाहिर सबैका आँखा पर्ने स्थानमा दुर्घटनाग्रस्त जिप राखिएको छ । सबैभन्दा बढी आकर्षण र धेरै अवलोकनकर्ताले चासो पनि यही गाडीमै राख्ने गरेका छन् ।
प्रतिक्रिया 4