+
+

बुटवलमा ६ लेन सडक विस्तार रोक्न विष्णु पौडेललाई ज्ञापनपत्र

टोपराज शर्मा टोपराज शर्मा
२०७४ चैत २७ गते ०:१८

२६ चैत, बुटवल । शुरु भएको ६ वर्षमा पनि पूरा हुन नसकेको बुटवल-बेलहिया ६ लेन सडक (ब्यापारिक मार्ग) को निर्माण कार्य रोक्न स्थानीय घरधनीले फेरि प्रयास गरेका छन् ।

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर सडक खण्डमा तीनसय बढी घरधनीहरु सडक विस्तार रोक्न चलखेलमा लागेका हुन् । यो खण्डमा ३ सय ११ वटा घर सडक क्षेत्र मिचेर बनेका छन् ।

यसअघि सर्वोच्च अदालतमा मुद्दा दायर गरेर चुनावसम्म सडक विस्तारलाई रोक्न सफल भएका व्यवसायीहरु सडक विभागले सडक क्षेत्रमा बनेका संरचना हटाउन १५ दिने सूचना जारी गरेपछि त्यसलाई रोक्न फेरि सक्रिय भएका हुन् ।

घरधनीहरुले रुपन्देही २ का प्रतिनिधिसभा सदस्य एवं एमाले उपमहासचिव विष्णु पौडेललाई सोमबार ज्ञापनपत्र बुझाउंदै सडक विस्तार तत्काल आवश्यक नभएकाले रोक्न पहल गरिदिन माग गरे ।

पौडललाई बुझाइएको ज्ञापनपत्रमा हालको सडक संरचनाले १० देखि २० वर्षसम्म धान्ने भएकाले तत्काल विस्तार आवश्यक नभएको दावी गरिएको छ । घरधनीहरुले २ दिन साँझ २ घण्टा राजमार्ग छेउका घरमा ब्ल्याक आउट गर्ने र घर भत्काउने कार्य नरोकिए थप आन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

चौराहादेखि चिडियाखोलासम्म अहिले ४ लेनको मात्र सडक छ । सो सडकमा २ लेयर अर्थात १० सेन्टिमिटर बाक्लो कालोपत्रे थपिने छ । दायाँ बायाँ १-१ लेनको सर्भिस लेन र नाली पनि बनाइने छ ।

कुल ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दायाँ बायाँ साढे १०-साढे १० मिटर चौडाईको मुख्य लेन, त्यसबाहिर ६-६ मिटरको सर्भिस लेन हुनेछ । बाँकी फुटपाथ र नाली हुनेछ । ३० महिनामा सडक विस्तार सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ ।

यसको कुल लागत ४२ करोड रुपैयाँ अनुमान गरिएको छ । बुटवल-बेलहिया ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी दिइसकेको आयोजनाले जनाएको छ ।

आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । आर्थिक वर्ष २०७०/७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।

व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाख रुपैयाँमा ठेक्का दिइएको थियो । आर्थिक वर्ष २०७३/७४ देखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको हो ।

योसमेत गरी ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने छ ।

आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले घरधनीहरुले आफै सडक क्षेत्र मिचेर बनाएका घरका संरचना नहटाए आयोजनाले सरकारको सहयोगमा आफै हटाएर सडक विस्तार गरिछाड्ने बताए । आयोजनाअन्तर्गत बुटवलदेखि भैरहवासम्म बुटवल क्षेत्रमा ७, भैरहवामा ३ र तिलोत्तमा क्षेत्रमा २ वटा आकाशे पुल निर्माणाधीन छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?