Comments Add Comment

फुटबलका चे ग्वेभारा

पेप गार्डिओला

५ वैशाख, काठमाडौं । पेप गार्डिओला डकर्मीका छोरा हुन् । उनलाई फुटबलको ‘चे ग्वेभारा’ पनि भनिन्छ । वास्तवमा, म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिओला को हुन् त ?

इंग्ल्याण्डमा दोस्रो सिजनको अन्त्य हुनै लाग्दा ४७ वर्षे गार्डिओला बल्ल आफू बसेको शरहमा राम्ररी नै परिचित भएका छन् ।

गार्डिओलाको जीवनी लेखिरहेका लेखक गिलियम बलागु आफूले उनलाई २० वर्षदेखि नजिकबाट नियालिरहेको र इंग्ल्याण्डमा आएपछि उनका केही परिवर्तन भएको छ वा केके कुरामा उस्तै छन् भन्ने विचार गरेको बताउँछन् ।

पुरानो मान्यता र इटालियन लोफर

गार्डिओला बार्सिलोनाभन्दा ७० किलोमिटर टाढा सान्टपेडोरमा जन्मिएका हुन् । चार सन्तानमा उनी तेस्रो हुन् । बुवा भ्यालेन्टी गार्डिओला डकर्मी काम गर्थे । उनको घरमा निकै कडा अनुशासन थियो ।

परिवारमा मर्यादाको भावना पनि धेरै थियो ।  गार्डिओलालाई नजिकबाट चिन्ने उनका साथी लेखक र फिल्म डाइरेक्टर डेभिड टि्रयुबा भन्छन्, ‘उनी एक डकर्मीका छोरा हुन् भन्ने तथ्यमा कसैले पनि उस्तो याद गरेको देखिँदैन ।’

गार्डिओलाका लागि उनका बुवा इमान्दारी र कडा मेहनतका प्रतीक हुन् । उनको पारीवारिक वातावरणले गर्दा उनमा पुरानमा मूल्य र मान्यता बसेको छ । त्यस्तो बेलाको मान्यता जतिबेला परिवारसँग उनका सन्तानका लागि छोड्ने कुनै जायजेथा थिएन ।

गार्डिओलालाई चिन्न खोज्नु पहिले यो बुझ्न जरुरी छ कि, आकर्षक सुट, कश्मिरी जम्पर र टाईको मुनि देखिएका उनी एक गरिब डकर्मीका छोरा हुन् । महंगा ती इटालियन जुत्ताको मुनि पुरानो कन्भर्स जुत्ताको मन लुकेको छ ।

उनलाई चिन्ने भए

अनि उनलाई चिन्नका लागि ‘ला मासिया’ बारे थाहा हुन जरुरी छ । जहाँ सन् २०११ अघिसम्म बार्सिलोना एकेडेमीका खेलाडीको राखिन्थ्यो ।

सन् १९८४ देखि झण्डै ६ वर्ष गार्डिओला पनि त्यहीँ थिए । ‘ला मासियामा मेरो जीवनकै राम्रो वर्षहरु बिते, त्यहीँ मैले मेरा लागि सपना देखेँ, बार्साको पहिलो टिमका लागि खेल्ने सोच बनाएँ,’ गार्डिओला सम्झन्छन् ।

स्पेनिस क्लब बार्सिलोना र नेदरल्याण्डस्का लिजेण्ड फुटबलर जोहान क्रियुफ गार्डिओलाका प्रशिक्षक थिए । गार्डिओला प्रशिक्षक हुनु पहिले र पछि पनि लगातार जोहानसँगको सम्पर्कमा हुन्थे । उनको सन् २०१६ मार्चमा निधन भयो । त्यसअघिसम्म गार्डिओला उनीसँग हरेक कुरामा सल्लाह गर्थे ।

गार्डिओला प्रत्येक सिजनको अन्त्यसँगै जोहानसँग स्पेनको प्रख्यात रेष्टुरेन्ट ‘इल बुली’मा बसेर खाना खान्थे । उनीहरु सँगै खाना खाने, कुराकानी गर्ने, थोरै पिउने र दिउँसो समुद्र किनारमा नुहाउने गर्थे ।

तपाइँलाई विश्वास हुन्छ ? विश्व फुटबलका दुई महान खेलाडी ‘इल बुली’ का मालिक र कुक फेर्रान एडिरासँग रमाइलो समय बिताउँथे ।

कुरा सिधा छ, यो खेलकुदमा राम्रो गर्ने र मीठो खाना बनाउने कुरामा मात्र सीमित होइन । खेलको फरक शैली र मीठो खानेकुराको कसरी बनाउने र कसरी सत्कार गर्ने भन्ने कुरामा जोडिएको थियो । जो उनीहरु रमाइलो गर्दा गर्दै बुझिरहेका हुन्थे ।

सोच, खोज र प्रतिभाको मिलन नयाँ समर्पणको साथ धेरै रुपमा देखिन्छ चाहे त्यो खेल होस् या व्यञ्जन ।

जसले प्रभाव पारे

जोहान क्रियुफ मात्र त्यस्ता होइनन्, जसको प्रभाव गार्डिओलामा पर्‍यो । उनमा प्रभाव पार्ने अर्का हुन्, अजेन्टिनाका मार्सेलो बिलेसा । जसलाई माया गरेर मानिसहरु ‘पागल मान्छे’ को रुपमा सम्बोधन गर्थे ।

जोहान क्रियुफ

मार्सेलो चिली र अर्जेन्टिनामा पूर्व प्रशिक्षक हुन् । उनी क्लब फुटबलमा भर्खरै फ्रान्सको क्लब लिलेको प्रशिक्षक थिए । खेलमा ठूलो प्रभाव पार्ने उनले उपाधि भने सोचेअनुरुप जित्न सकेनन् ।

‘उनको सम्बन्ध मेरा लागि विशेष छ । उनले कति वटा उपाधि जिते भन्ने कुराले कहिले पनि असर गर्दैन’ गार्डिओला भन्छन्, ‘हामीलाई त्यसरी नै जाँचिन्छ, कति वटा उपाधि दिलायो ? तर उपाधिभन्दा ठूलो कुरा उसले फुटबलमा कस्तो प्रभाव पार्‍यो, उसले खेलाडीलाई के सिकायो भन्ने प्रमुख हुन्छ । यसैले मार्सेलो मेरा लागि विश्वकै राम्रा प्रशिक्षक हुन् ।’

मार्सेलोले अर्जेन्टिनामा भएको कुराकानीमा गार्डिओलालाई भनेका थिए-फुटबल भनेको सबै सोच र योजना हो, त्यसका लागि लागिपर्नू, खेलाडीलाई सुधार्नू र त्यो लगावलाई कहिले पनि कम हुन नदिनू ।

‘हरेक राति सुत्नुअघि आफैलाई सोध्नू । यदि उत्तर ठीक गरेको छु भन्ने भए बिहान उठ्नू र फुटबल बोकेर लागिपर्नू । यदि उत्तर बेठीक भन्ने लागेमा त्यही दिनबाट अरु केही सुरु गर्नू,’ मार्सेलोको यो सोच गार्डिओला सधैं सम्झन्छन् ।

गार्डिओला- फुटबलमै जीवन

सन् १९७१ मा क्याटालोनियाको सान्टपेडोरमा जन्मिएका उनी १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भए ।

 

१९९७ तिर पेप गार्डिओला

बार्सिलोनाका प्रशिक्षक जोहानले युवा टिममा गार्डिओलालाई ‘राइट मिडफिल्ड’ मा खेलिरहेको देखेका थिए । उनले युवा टिमका प्रशिक्षकलाई गार्डिओलालाई ‘डिफेन्सिभ मिडफिल्ड’ मा खेलाउन भने ।

गार्डिओलाले बार्सा टिममा सन् १९९० मा स्थान बनाए । उनी सन् २००१ सम्म बार्सिलोनामा थिए । सन् १९९२ को युरोपियन कप जित्ने ‘डि्रम टिम’ मा पनि उनी संलग्न थिए ।

सन् २००६ मा सन्यास लिनुअघि उनले अरु पनि क्लबहरु ब्रेसिका, रोमा, अल अहली र दोराडसमा खेले ।

स्पेनको राष्ट्रिय टिमबाट पनि ४७ खेल खेलेका उनले पाँच गोल गरेका छन् । खेलाडी भएर उनले ६ पटक ला लिगाको उपाधि जिते । दुई पटक कोपा डेल रे जिते । उनले युरोपियन कप पनि जिते ।

युरोपियन कपका साथ गार्डिओला

प्रशिक्षकका रुपमा उनले बार्सिलोनाको ‘बी’ टिम, बार्सिलोना, बार्यन म्युनिख सम्हाले । अहिले म्यानचेस्टर सिटीको प्रशिक्षक रहेका छन् । प्रशिक्षक भएर बार्सिलोनाबाट उनले १४ उपाधि जिते । तीन ला लिगा, दुई कोपा डेल रे, तीन स्पेनिस सुपर कप, दुई च्याम्पियन्स लिग, दुई सुपर कप र दुई क्लब विश्वकप ।

उनले बार्यनबाट पनि विभिन्न सात उपाधि जिते ।

इंग्ल्याण्डमा उपाधि बेगरको पहिलो वर्षपछि उनले यस वर्ष इएफएल कप र प्रिमियर लिगको उपाधि जिते ।

शरीर यहाँ, मन कहाँ–कहाँ

यदि जिन्दगीले हामीलाई त्यस्तो केही सिकाउँछ भने त्यसलाई सिकाउँछ, जसले मेहनत गरेको हुन्छ, पेप पनि त्यो भन्दा भिन्न छैनन् ।

सिटीमा गार्डिओलाका सहायक र लामो समयदेखिका साथी म्यानुअल एसटिरेट बेलाबेला गार्डिओलाको व्यवहार देखेर हाँसिरहेका हुन्छन् । कति पटक म्यानुअल गार्डिओलासँग कुरा गरिरहेका हुन्छन्, केही भनिरहेका हुन्छन् तर उनले सुनेकै हुँदैनन् कतै हराइरहेका हुन्छन्, केही सोचिरहेका हुन्छन् । ‘उनको शरीर त्यहीँ हुन्छ तर, मन कहाँकहाँ टाढा पुगेर सोचिरहेको हुन्छ,’ गार्डिओलाबारे म्यानुअल भन्छन् ।

उनीहरु धेरै समय सँगै बिताउँछन् । उनीहरुसँगै हुन्छन् सिटीका फुटबल निर्देशक टिक्सिकी बेगिरेस्टेन । उनीहरु आरामले बस्छन् । रक्सी पिउँछन् । त्यस्तोबेला गार्डिओला रमाइलो चुटकिला सुनाउँछन् । कतिपय बेला उनी आफैंमाथि र फुटबलबारे पनि मजाक गरेर हाँसिरहेका हुन्छन् ।

गार्डिओला विरल व्यक्तित्व छन् । उनी सबैबाट केही न केही सिक्न चाहन्छन् । सिकिरहेका हुन्छन् । इंग्ल्याण्डका रग्बी प्रशिक्षक इडि जोन्स हुन या चेसका ग्राण्डमास्टर ग्यारी कासपारोभ उनी सबैसँग सिक्छन् । कतिपय कुरा उनले आफ्नो व्यवस्थित शिक्षाको कमीलाई पूरा गर्न पनि सिकिरहेका हुन्छन् ।

उनले सिकेका सिद्धान्त समयक्रममा विकसित र सुधार हुँदै गएको छ । उनी आफ्नो कुराहरुमा दृढ रहन्छन् ।

उनले एकपटक भनेको कुराले यसलाई पुष्टि गर्छ–

टिमलाई एक ढिक्का के कुराले बनाइराख्छ ? त्यस्तो के कुरा हो जसले यो खेललाई रमाइलो बनाउँछ ? त्यो हो बल । खेलाडी बलसँगै खेलेर खेलाडी हुन्छन् । त्यसैले उनीहरुलाई मिल्नेसम्म धेरै बल दिउँ । अनि त्यस्तो योजना बनाऔं, जसले धेरै समय उनीहरुलाई बल सँगै राख्नेछ । तर त्यही बलले जलाउन पनि सक्छ । जति सक्दो छिटो त्यो बल आफ्नो साथीलाई देऊ । छिटोछिटो खेल । सामान्य रुपमा खेल । अनि जब तिमी त्यो बल गुमाउँछौ, उति नै सक्दो छिटो त्यसलाई तिमीसम्म ल्याऊ । किनभने त्यसलाई फर्काउन नसक्दा तिमीलाई दुःखी तुल्याउँछ ।

उनको यो तरिका समस्याको फरक समाधानको खोजी हो । यदि प्रशिक्षकले खेल जित्ने नयाँ तरिकाको खोज गर्छन् भने त्यो सबैभन्दा उत्कृष्ट खोज नहुन पनि सक्छ । तर त्यो एक फरक खोज भने हो ।

फुटबलका चे ग्वेभारा

अर्जेन्टिनाका पूर्व प्रशिक्षक र विश्वकप विजेता चेसर लुइस मेनोटीले एकपटक गार्डिओलाबारे भनेका थिए, उनी फुटबलका चे ग्वेभारा हुन् । उनले गार्डिओलाले फुटबलमा निकै परिवर्तन ल्याएको बताएका थिए । ‘पेप फुटबलका चे ग्वेभारा हुन् । मैले जहिले उलटपुलट हुने जित र हारको कुरा गर्दा पेपकै योजना हो डगमग नगरी सधैँ उस्तै रहिरहन्छ,’ मेनोटीले भने ।

मेनोटीले थपे, ‘उनी कहिल्यै परिवर्तन हुने खालका छैनन् । उनी फुटबल राम्रो खेल्न चाहन्छन् । उनी केही फरक स्थानको खोजीमा हुन्छन् । उनी बलको भाषामा बोल्छन् । अनि समयलाई नियन्त्रणमा राखेर वर्गाकार बाटोमा पनि अगाडि रहन्छन् ।’

उनको फुटबल प्रतिको लगावले नराम्रो लाग्ने उनको परिवारलाई नै हो । जसलाई उनले चाहेर पनि समय दिन पाउँदैनन् । कतिपय बेला बिर्सन्छन् । एकपटक विद्यालयमा उनकी छोरीको कन्सर्ट थियो । उनी त्यहाँ जानुपर्ने । त्यो भुलेर उनी डीभीडीमा गेटाफेको खेल हेरिरहेका थिए । बार्सिलोनासँग गेटाफेको खेल आउँदै थियो । त्यसमा उनी यस्तो मग्न भए कि छोरीको विद्यालयमा जान बिर्सिए ।

आफ्नो प्रशिक्षणकालमा उनी खेल हुने दुई-तीन दिन अघिदेखि विपक्षीको खेल डीभीडीमा हेरिरहेका हुन्थे । विपक्षी जोसुकै होस्, उनको तरिका उस्तै रहन्छ । त्यसमा उनले विपक्षीको खेल, कमजोरी र बलियो पक्ष राम्ररी बुझ्थे । त्यसपछि उनी खेलाडीहरुलाई पनि सानोसानो क्लिप निकालेर देखाउँछन् ।

जेभियर मास्चेरानो

सन् २०११ मा म्यानचेस्टर युनाइटेडविरुद्ध बार्सिलोनाको खेल थियो । जसमा बार्सिलोना ३-१  ले विजयी भयो । खेलअघि गार्डिओलाले भनेको सम्झँदै जेभियर मास्चेरानो भन्छन्, ‘उनी जब बोलिरहेका हुन्थे, यस्तो लाग्थ्यो उनले आउने खेलका बारेमा भनिरहेका होइनन् । चलिरहेको खेलका बारेमा भनेका छन् र हामी मैदानमै छौं ।’

‘उनी कहिले यता जान्थे कहिले उता जान्थे । तलमाथि गर्थे । बोर्डमा लेखिरहेका उनी साच्चैको मैदानमा भएजस्तो पार्थे । यदि त्यतिबेला आँखा चिम्म गरेर उनले भनेको सुन्यो भने आफूलाई म मैदानको बिचमा पाउँथेँ ।’

‘उनले भनेका सबै कुराहरु नै हुन्थ्यो । उनले यस्तो हुन्छ भनेको कुरा म खेलका बेला सम्झन्थेँ । नभन्दै त्यस्तै भइरहेको हुन्थ्यो ।’

मन पराइनुपर्ने मान्छे ?

धेरै मान्छेलाई जस्तै, गार्डिओलालाई पनि प्रख्यात हुन मन लाग्थ्यो नै । तर, फरक के छ भने उनले प्रख्यात हुनका लागि आफ्नो सिद्धान्तहरुमा कहिल्यै सम्झौता गरेनन् ।

गार्डिओला र वार्साका प्रतिनिधि कार्लोस नाडाल

पहिले उनी जे गर्न चाहन्थे । जहाँ जान चाहन्थे, त्यसमा समर्थन थिएनन् । तर, उनी आफ्नो कुरामा अडिग रहे ।

उनलाई आफ्नो लागि सबैभन्दा ठूलो चुनौती खेलाडीहरुको विश्वास जित्नु थियो । आफूप्रतिको माया र विश्वास जित्न उनलाई कठीन भएको थियो । खेलाडीहरु किन खेलभन्दा बाहिर छन् भनेर उनले राम्ररी ब्याख्या गर्न सक्थे । तर, सधैँ खेलाडीले उनले भनेकै जसरी बुझ्दैन थिए ।

‘म पनि एक खेलाडी हुँ । उनीहरु किन त्यो बुझ्दैनन् भन्ने मलाई राम्ररी थाहा छ । यसैले त्यो आफ्नो कामकै एक हिस्सा मानेको छु । यसैले अहिले बेन्चमा रहेका खेलाडी पनि सबैभन्दा राम्रा हुन भन्ने चाहन्छु । यसैले एउटा मजबुत टिम बन्छ,’ उनले भने ।

उनी बार्सिलोनामा आफ्ना खेलाडीसँग निकै नजिक थिए । बार्सिलोना छाड्ने बेला पनि उनले खेलाडीहरुलाई आफू जानुपर्ने समय आएको बताएका थिए । अहिले निर्णय लिने अप्ठ्यारो परिस्थिति आएको उनले बताएका थिए ।

बार्यनमा हुँदा उनले साँस्कृतिक संघर्ष झेल्नुपर्‍यो । यसैले केही खेलाडीसँग उनको दुरी बन्यो । सिटीमा उनी सबैको दाइ जस्तै भएका छन् । अनि निकै युवा खेलाडीका लागि एक पिता जस्तै ।

गार्डिओलाले सिटीलाई बदले

पहेंलो रिबन लगाएका कारण गार्डिओला कारवाहीमा समेत परे

गार्डिओलाले म्यानचेस्टर सिटीलाई कसरी बदले भन्ने बुझ्न उनले अवसर मिलेको ठाउँमा कसरी परिवर्तन ल्याएका छन् भन्ने बुझ्न जरुरी छ ।

जब उनी बार्सिलोनाको प्रशिक्षक बने उनले आफू कसरी खेलाउन चाहन्छन् । सिद्धान्त के हो भन्ने सबै बताए ।

त्यसको केही समयमै गोलकिपर भिक्टर भाल्देस आए । भाल्देसका अनुसार उनीहरुबीच यसरी कुरा भएको थियो-

भाल्देस – गुरु तपाइँसँग एकछिन कुरा गर्न सक्छु ?

गार्डिओला – मेरो ढोका सधैं खुला छ … ।

भाल्देस – मलाई एउटा कुरा सोध्नु थियो, तपाइँले भन्नुभएको सबै कुरा ठीक छ, तर सेन्टर ब्याकमा खेल्नेले बल पाउन चाहना राखेर मिलायो भने मात्र ।

गार्डिओला – म यसमा विश्वस्त छु कि उनीहरु बल मिलाउँछन् ।

भाल्देसलाई त्यसअघि ट्याकटिकल खेलबारे उस्तो जानकारी थिएन । चार वर्षपछि उनले खेल्न छाड्दा उनीसँग त्यसबारे डाक्टरी गरे जस्तो ज्ञान थियो ।

सिटीमा केके कुरा परिवर्तन गर्न आवश्यक छ भन्ने कुरा गार्डिओलाले सुरुमा राम्ररी बुझे । के कुराको कमी भइरहको छ भन्ने उनले बुझे ।

त्यसपछि यो सबै अभ्यासको कुरा थियो । अभ्यास । अभ्यास । अनि थप अभ्यास ।

साथै उनीहरुलाई विश्वस्त पार्नु, कि मैले भनेजस्तो खेल खेलेर तिमीहरुलाई फुटबलमा थप रमाइलो पनि लाग्नेछ र जितिने पनि छ ।

(स्पेनिस फुटबलर लेखक गिलियम बलागुले बीबीसीमा लेखेको लेखमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment