+
+

करोड कर छल्दै अवैध क्यासिनो

किटानी गरिदिए बन्द गर्छौंः प्रहरी

टोपराज शर्मा टोपराज शर्मा
२०७५ जेठ २३ गते १६:०४
क्यासिनो सन्चालन भएको नान्स होटल ।

२३ जेठ, बुटवल । सरकारबाट चारवटा शाखा खोल्ने अनुमति लिएको एक क्यासिनोले अनुमति विपरीत पाँचवटा शाखा संचालन गरेर राज्यलाई करोडौं कर छली गरिरहेको छ ।

देशभर ४ वटा शाखा खोल्ने अनुमति लिएको हयाप्पी आवर प्रा.लि.ले पाँचवटा शाखा खालेर एउटा शाखा अवैध ढंगले सञ्चालन गरिरहेको छ ।

ह्याप्पी आवरले नेपालगञ्जको होटल स्नेहामा, काँकडभित्ताको होटल ढाकामा, महेन्द्रनगरको होटल स्वीट ड्रीममा, भैरहवाको होटल लाकौलमा र भैरहवाकै होटल नान्समा गरी ५ वटा शाखा संचालन गरिरहेको छ ।

सरकारले दिएको अनुमति विपरीत डेढ वर्षदेखि एउटा क्यासिनो अवैध ढंगले सन्चालन भइरहँदासमेत नियमक निकाय भने मौन देखिएको छ ।
हरेक क्यासिनोले प्रत्येक शाखा बराबर ७५ लाख प्रतिवर्ष कर तिर्नुपर्नेर् प्रावधान छ । चार वटा शाखा खोल्ने अनुमति लिएको ह्याप्पी आवरले सोही अनुसार कर तिरेको छ ।

एउटा क्यासिनोको कर छल्दा राज्यलाई डेढ वर्षमा मात्रै सवा करोड रुपैयाँ नोक्सान पुगेको देखिन्छ ।

भैरहवाका होटल लाकौल र होटल नान्स होटलमा हयाप्पी आवर प्रा.लि.क्यासिनोका दुईवटा शाखा सञ्चालनमा रहेका छन् । जुन ५० मिटरको दूरीमा छन् ।

हयाप्पी आवरले प्रहरीको सेटिङमा अवैधानिक तवरले मिनि क्यासिनो सञ्चालन गरिरहेको उसले चेकजाँचमा जाने अनुसन्धान अधिकृतलाई देखाउने कागजातबाट प्रष्ट देखिन्छ ।

वि.सं. २०६८ वैशाख १६ गते भैरहवास्थित होटल नान्समा मिनी क्यासीनो सन्चालन गर्नेगरी रुपा इन्टरनेशनले १० वर्षे सम्झौता गरेको थियो ।

रुपाका सन्चालक मनोज सुवेदी र हयाप्पी आवरका सन्चालक सुरेन्द्रबहादुर सिंहबीच केही समयको अन्तरालमा आपसी विवाद हुँदा उक्त विवाद अदालतमा पुगेको थियो ।

दुबै पक्षले अदालतमार्फत अन्तरिम आदेश लिइ अहिलेसम्म दुबै स्थानमा क्यासिनो व्यवसाय सन्चालन गरिरहेका छन् ।

अदालतते मात्रै होइन, पर्यटन विभागले समेत दुबैलाई अलगअलग पत्र दिएको छ । जसले गर्दा एउटा लाइसेन्सबाट दुई ठाउँमा क्यासिनो व्यवसाय सन्चालन भइरहेका छन् ।

पछिल्लो समय सर्वोच्च अदालतले होटल लाकौलमा सन्चालित क्यासिनो बैध भएकोले सोही अनुसार गर्नु भनी ०७४ कात्तिक १३ गते सर्वोच्च अदालतका कायम मुकाम प्रधान न्यायाधिश दीपकराज जोशीले अन्तरिम आदेश दिएका छन् । त्यो भन्दा अगाडि ०७४ बैशाख २४ गते सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराले नान्समा सन्चालित क्यासिनो बैध भएकोले सोही अनुसार गर्नु भनी आदेश दिएका थिए ।

यसरी अदालतका न्यायाधीशहरुले दिएको आदेशको प्रतिलिपि देखाउदैं दुबै ठाउँमा निर्वाध ढंगले क्यासिनो सन्चालन भइरहेको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी श्याम ज्ञवालीसँग बुझ्दा उनले भने, ‘दुबैले अदालतको कागज देखाउँछन् । पर्यटन विभाग र अदालतले एउटालाई बैध र अर्कोलाई अबैध भनि किटानी गरिदिएमा हामी तत्काल अबैधलाई बन्द गछौं ।’

सीमा क्षेत्रमा खोलिएका मिनी क्यासिनोहरुमा दैनिक १५ लाखसम्मको कारोबार हुने गर्दछ । ठूलो कारोवार गर्ने क्यासिनोहरु अबैधरुपमा सञ्चालन भइरहँदासमेत राज्यका निकाय मौन बसेका छन् ।

हयाप्पी आवर मिनि क्यासिनोका व्यवस्थापक झपेन्द्र दंगासेले आफ्नो क्यासिनो वैध भएको तर होटल नान्समा सञ्चालित मिनि क्यासिनो अवैध भएको दावी गरे ।

उनले नान्सको क्यासिनो सञ्चालकहरुसँग आफ्नो प्रा.लि.को कुनै पनि सम्बन्ध नरहेको बताए ।

संघीय प्रहरी इकाइ कार्यालय रुपन्देही प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र ढकालले एउटा लाइसेन्स देखाएर दुईवटा क्यासिनो सञ्चालन गर्नु गलत भएको बताउँदै आफू भर्खर आएकाले यसको विषयमा थप बुझेर कार्वाही अगाडि बढाउने बताए ।

रुपन्देहीका प्रमख जिल्ला अधिकारी उदयबहादुर रानाले यस बिषयमा अध्ययन गरेर मात्र प्रतिक्रिया दिने बताए ।

नेपालामा सात वटा ठुला क्यासिनो र ३ वटा मिनि क्यासिनोहरु सञ्चालन रहेका छन् । पछिल्लो समय क्यासिनो नियमावली २०७० आएसँगै सीमावर्ती क्षेत्रमा सन्चालनमा रहेका क्यासिनोलाई समस्या पर्दै आएको छ । उक्त नियमावलीले दसगजादेखि ५ किलोमिटर दूरीमा रहेका चारतारे होटलमा मात्रै क्यासिनो खोल्न सकिने नियम प्रस्ताव गरेको छ । यद्यपि सो नियमावली लागू हुन सकेको छैन ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?