Comments Add Comment

मुलुकी संहिता पत्रकारका लागि होइन, फोटो खिच्न पाइन्छः मुख्य न्यायाधीश

२९ साउन, पोखरा । उच्च अदालत पोखराका मूख्य न्यायाधीश कुमार चुडालले मुलुकी संहिता पत्रकारलाई लागू नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीले उच्च अदालत पोखरासँगको सहकार्यमा मंगलबार गरेको नयाँ मुलुकी संहिताका प्रावधान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले मुलुकी संहिता पत्रकारलाई लक्षित गरेर नआएको उल्लेख गर्दै यसमा उल्लेख बुँदाहरु पत्रकारमा आकर्षित नहुने बताए ।

मुख्य न्यायाधीश चुडालले पत्रकारका लागि पत्रकार ऐन छुट्टै हुने भन्दै मुलुकी अपराध संहिता आकर्षित नहुने स्पष्ट पारे । उनले भने, ‘पत्रकारलाई लक्षित गरेर मुलुकी ऐन आएको हैन, पत्रकारका लागि छुट्टै ऐन छ, पत्रकारलाई मुलुकी ऐन आकर्षित हुँदैन ।’

पत्रकारहरुले नयाँ मुलुकी ऐन २०७५ मा अनुमति बिना फोटो खिच्न नपाउने, लुकेर वा थाहा नदिई ध्वनी अंकन गर्न नपाइनेजस्ता बुँदा राखेर त्यस्तो गरे सजायको ब्यवस्था गरेको भन्दै आपत्ति जनाएपछि उनले पत्रकारका लागि मुलुकी संहिता आकर्षित नहुने बताएका हुन् । उनले भने, ‘पत्रकारले तस्वीर खिच्न पाउँछ, त्यसमा छेकबार लाग्दैन, खोजी पत्रकारिताका लागि प्रमाण राख्न ध्वनी अंकन पनि गर्न पाउँछ यसमा बन्देज छैन ।’

अधिवक्ता तथा पत्रकार सुरेन्द्र थापामगरले अहिलेको मुलुकी संहिता पत्रकारका लागि कठोर बनेर आएको बताए । पत्रकारका लागि मुलुकी संहिता कस्तो छ भन्नेबारेमा धारणा राख्दै उनले भने, ‘पत्रकारले सार्वजनिक ठाउँमा फोटो खिच्न र प्रमाणका लागि ध्वनी अंकन गर्न पाउनुपर्ने हो, तर अहिलेको मुलुकी संहिताले बन्देज लगाएको देखिन्छ, यस हिसाबले अहिलेको मुलुकी संहिता पत्रकारका लागि अत्यन्त कठोर छ ।’

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सार्वजनिक ठाउँमा फोटो खिच्न नपाउने, प्रमाणका लागि गोप्य ठाउँको ध्वनी अंकन गर्न नपाउनेजस्ता मुलुकी संहिताका बुँदाहरुप्रति महासंघको आपत्ति रहेको र यसबारे संस्थागत रुपमा विरोध जनाइसकेको जानकारी गराए ।

पत्रकार अपिल त्रिपाठीले अहिलेको मुलुकी ऐन पत्रकारका लागि पनि लागू हुने हो भने भदौदेखी खोजी पत्रकारिता बिलाउने भन्दै त्यसपछि पत्रकारिता छाडे पनि हुने टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment