Comments Add Comment

आजका पत्रपत्रिकाः १० वर्षपछि नेपालमा कोही आवासविहीन नहुने

प्रधानमन्त्रीले भने– खोला तार्ने युवाले लिने शुल्क कर होइन

१ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा मुलुकी ऐन प्रतिष्थापन भएर नयाँ कानुन लागू भएको विषय परेको छ । १६५ वर्ष पुरानो मुलुकी ऐन प्रतिष्पथापन भएर नयाँ लागू भएकोलाई पत्रपत्रिकाहरुले विभिन्न जोड–कोणबाट व्याख्या–विश्लेषण गरेका छन् ।

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधन भएको विषयलाई पनि आजका अखबारहरुले कभरेज गरेका छन् । भारतीय जनता पार्टीका संस्थापक मध्येका एक ९३ वर्षीय वाजपेयीको बिहीबार निधन भएको हो ।

गरिबीको रेखामुनि रहेका आवासविहीन नेपालीलाई आवासको अधिकार दिन त्यससम्बन्धी विधेयक तयार भएको समाचार पनि आजको पत्रिकामा छापिएको छ । समाचार अनुसार १० वर्षपछि सबै नेपालीको घर हुनेछ ।

यसका अतिरिक्त नेपाल वायु सेवा निगम विमान खरिद चलखेल, स्थानीय तहको कर, सिक्टा सिँचाइ अनियमिततालगायत विषयमाथि पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा खबर लेखेका छन् ।

अन्नपूर्णले ‘दुई विमान किन्दा ठूलै चलखेल’ शीर्षक दिएर नेपाल वायु सेवा निगमको विमान खरिद अनियमितताबारे मुख्य समाचार छापेको छ । ६० वर्षमा दुई वाइड बडी खरिद गर्वको कुरा भए पनि जहाज खरिद गर्दा सबैजसो कारोबार नक्कली गरिएको समाचारको सार छ । समाचार अनुसार, प्रस्तावबाटै कानुन उल्लंघन गरेको निगमले नयाँ विमान खरिदका लागि अनेक नाटक रचेको थियो ।

कान्तिपुरमा ‘मुलुकमा अब संहिता’ शीर्षकको मुख्य समाचार छापिएको छ । संहितामा उल्लेख भएका व्यवस्थाबारे चर्चा गरेको कान्तिपुरले विज्ञको भनाइलाई समेत समेटेको छ । विज्ञहरुले नयाँ कानूनबारे नागरिकलाई जानकारी नै नदिइ दण्ड दिनु नागरिकविरुद्ध षड्यन्त्र हुने भएकाले सबैभन्दा पहिले जानकारी दिन सुझाएका छन् ।

नयाँ पत्रिकाले आज पनि स्थानीय तहले लगाएको करकै विषय उठाएको छ । समाचार अनुसार आफूलाई भेट्न आएका गाउँपालिका महासंघको टोलीलाई प्रधानमन्त्रीले ढुक्क हुन ढाडस दिएका छन् । पुल विस्थापित गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्रीले स्थानीय तहका जनप्रतिनिधिसँगको भेटका क्रममा भने खोला तार्ने युवाले पैसा लिनुलाई जायज भएको बताएका छन् ।

सिक्टा सिँचाइ अनियमितताबारे निरन्तर चासो देखाउँदै आएको नागरिकले निर्माण सामग्री परीक्षण ठेकेदारकै ल्याबमा गरिएको खुलासा गरेको छ । आजदेखि नयाँ कानून लागू हुन लागेको, स्थानीय सरकारको कामप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको लगायत समाचारले पनि नागरिकको पहिलो पृष्ठमा ठाउँ पाएका छन् ।

गोरखापत्रराजधानी दुवैले समान विषय मुलुकी ऐन प्रतिष्थापनलाई मुख्य समाचार बनाएर लेखेका छन् ।

कारोबार दैनिकले गरिबीको रेखामुनि रहेका आवासविहीन नेपालीलाई आवासको अधिकार दिनका लागि आवासको अधिकारसम्बन्धी विधेयक तयार भएको जनाएको छ । २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यान्वयन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको हो ।

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले कारोबारसँग आगामी ५ देखि १० वर्षभित्र आवासविहीन नेपालीको अन्त्य गर्ने गरी मन्त्रालयले योजना अघि बढाएको बताएका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment