Comments Add Comment

बैंकहरुले दिए २१ खर्ब ऋण, ४ बैंकको लगानी खर्बमाथि

४ भदौ, काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०७४/७५ को अन्त्य सम्ममा २१ खर्ब ११ अर्ब रुपैयाँ लगानी गरेका छन् । २८ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा ३ खर्ब ७६ अर्ब रुपैयाँ अर्थात २१.६७ प्रतिशत बढी लगानी गरेका हुन् ।

नेपाल बैंकर एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा वाणिज्य बैंकहरुले १७ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

वाणिज्य बैंकहरुले गत असार महिनाको पहिलो सातासम्म २० खर्ब ६९ अर्ब रुपैयाँ लगानी गरेका थिए । दोस्रो सातासम्म आइपुग्दा बैंकहरुको लगानी शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएर २० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो ।

यसैगरी असारको तेस्रो सातामा बैंकहरुको लगानी २० खर्ब ८० अर्ब रुपैयाँ पुगेको थियो भने चौथो सातासम्म २० खर्ब ८६ अर्ब लगानी पुगेको थियो ।

आर्थिक वर्षको अन्त्यसम्ममा भने वाणिज्य बैंकहरुको लगानी बढेर २१ खर्ब ११ अर्ब रुपैयाँ पुगेको एशोसिएसनका कार्यकारी निर्देशक शर्माले बताए ।

पहिलो नम्बरमा देखियो एनआईसी एशिया

गत वर्षको कर्जा लगानीका आधारमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा देखिएको छ । यस बैंकले गत आर्थिक वर्षको असारमसान्त सम्ममा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कर्जा लगानीकै आधारमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो नम्बरमा देखिएको छ । उसले १ खर्ब २० अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब २० अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरी तेस्रो भएको छ ।
सोही अवधिमा नबिल बैंकले १ खर्ब १२ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको छ । गत वर्ष १ खर्ब बढी लगानी गर्नेमा एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट र नबिलमात्रै हुन् । अन्य बैंकहरुको लगानी भने १ खर्ब भन्दा कम देखिएको छ ।

त्यसपछिको कृषि विकास बैंकले ९९ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी ग्लोबल आइएमई बैंकको ९३ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment