+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
155/6 (18.5)
Shares

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा फेरि लाग्यो ताला

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते ९:५०

१४ असोज, चितवन । आठ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय सरकारले खारेज गरे पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आन्दोलन सकिएको छैन । बीचमा केही सुसुप्त बनेको आन्दोलन फेरि सुरू भएको छ ।

विश्वविद्यालयका विद्यार्थी संगठनहरुले चितवनको रामपुरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले लगाएको तालाका कारण विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष नगेन्द्र दहाल, अनेरास्ववियुका अध्यक्ष हेमराज कठायत, नेविसंघ सभापति मन्दिप पोखरेल र अखिल छैठौंका अध्यक्ष सुवास सापकोटाले संयुक्त विज्ञप्ति जारी गरी सरकारले गरेको निर्णय कार्यान्वयन नगरी निजी सम्बन्धनमा गरिएको सम्पूर्ण श्रृंखलावद्ध गतिविधिको विरोधमा विश्वविद्यालयको परीक्षा र शैक्षिक कार्यक्रमबाहेक सम्पूर्ण कामकारबाही बन्द गरिएको जनाएका छन् ।

विश्वविद्यालयको कार्यकारी परिषदले गत असार २० गते एक वनविज्ञानसहित आठ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । त्यसविरुद्ध प्राध्यापक र विद्यार्थीले केन्द्रीय कार्यालयसहितका संकायहरु २७ दिन बन्द गराए । सरकारले विश्वविद्यालयको निर्णय मन्त्रिपरिषदबाट साउन १४ मा रद्ध गरेको थियो ।

विद्यार्थी संगठनले निजी कलेज सञ्चालकहरुले प्रशासनकै आडमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको दावी गरेका छन् । भदौ १२ गते भएको सुनुवाइमा प्रतिवादीको तर्फबाट विश्वविद्यालयको वकिलले निजी सम्बन्धनकै पक्षमा वकालत गरेको र सरकारको निर्णय कार्यान्वयनमा जिम्मेवार नबनेको आरोप विद्यार्थी संगठनले लगाएका छन् ।

अनेरास्ववियुका इकाइ अध्यक्ष हेमराज कठायतले विश्वविद्यालयलाई नै विपक्षी बनाइएको मुद्दामा डटेर लाग्नुपर्नेमा उल्टै निजी कलेजसँग पदाधिकारीहरुले हिमचिम बढाएको आरोप लगाए । निजी कलेजहरुका लागि समेत विद्यार्थी भर्ना गर्ने उद्देश्यले फर्म खुलाउने तयारी गरिएको उनको दावी छ । यसअघि यही मुद्दामा विश्वविद्यालय भित्रका प्राध्यापकहरुका दुई संगठन नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल प्रगतिशिल प्राध्यापक संगठनले गत भदौ १९ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालावन्दी गरेका थिए । सो तालावन्दी विश्वविद्यालयका उपकुलपति प्रा.डा. इश्वरीप्रसाद ढकालसँगको समझदारीमा खुलाइएको थियो ।

काम गर्न दिइएन, अराजकता फस्टायोः रजिष्ट्रार

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. मनराज कोलाक्षपतिले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई नै धरासायी बनाउने उद्देश्यले पटकपटक तालावन्दी गर्ने गरिएको टिप्पणी गरे । विद्यार्थी वा प्राध्यापकका जायज मुद्दामा विश्वविद्यालय खुलाएर सँगै बसेर वार्ता गर्न सकिनेमा त्यसो हुने नगरेको उनको गुनासो छ । पटकपटकको बन्दले विश्वविद्यालयको छवि धुमिल भएको भन्दै रजिष्ट्रार प्रा. डा. मनराज कोलाक्षपतिले भने, ‘काम गर्न दिइएन अराजकता हावी भयो ।’

पछिल्लो बन्दका बारेमा टिप्पणी गर्दै रजिष्ट्रार प्रा. डा. मनराज कोलाक्षपतिले भने, ‘अदालतमा विचाराधीन मुद्दाका विषयमा ताला लाग्नु दुःखद हो । लोकतन्त्रका नाममा अराजकता फस्टाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?