२ पुस,काठमाडौं । नेकपा सांसद तथा महिला संघकी अध्यक्ष गोमा देवकोटाले आफूले संसद सचिवालयबाट घर भाडा बापतको रकम नलिएको दावी गरेकी छन् ।
सचिवालयले पहिलो महिनाको तलबसँगै घर भाडा पनि समावेश गराएर बैंक खातामा हालेपछि गत जेठमै आफूले सो रकम फिर्ता गरेको भन्दै संसद सचिवालयले यसबारे प्रष्ट पार्नुपर्ने बताएकी छन् ।
शहीद पत्नी देवकोटा नेकपाभित्र इमान्दार नेताका रुपमा परिचित छन् । उनको नाम पनि घर भाडा बुझ्ने सांसदको सूचीमा सचिवालयले समावेश गरेको भन्दै देवकोटाले सचिवालयले माफी माग्नुपर्ने बताएकी छन् ।
यसैबीच संसद सचिवालयका एक उच्च अधिकारीले देवकोटाले जेठदेखिनै घरभाडाको रकम नलिए पनि त्यसको रेकर्ड नराखिदा उनको नाम समेत घर भाडाा लिने सांसदको सूचीमा परेको बताएका छन् ।