Comments Add Comment

रामेछापमा मिर्गौलाको निःशुल्क डायलासिस सेवा सुरु

११ पुस, रामेछाप । सदरमुकाम मन्थलीको तामाकोसी सहकारी अस्पतालमा मिर्गौलाको निशुल्क डायलासिस सेवा सुरु भएको छ ।

बुधबारदेखि ५ वटा मेसिनमार्फत डायलासिस सेवा सञ्चालन गरिएको अस्पताल सञ्चालन समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिए ।

अस्पताललाई चुजी फाउण्डेसन मलेसियाले उपचारका लागि आवश्यक उपकरणहरु अनुदानमा उपलब्ध गराएको हो ।

केन्द्रीय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा अस्पतालले मन्थली मिर्गौला उपचार केन्द्र स्थापना गरी सेवा आरम्भ गरेको हो । रामेछाप जिल्लामा मात्रै एकसय ५० भन्दा बढी मिर्गौला रोगी भएको अवस्थामा डायलासिस सेवाले सहज हुने अध्यक्ष घिमिरेले बताए ।

रामेछापबाहेक पूर्वमा विराटनरमा मात्र डायलासिस सेवा भएकोले सोलुखुम्बु, ओखलढुंगा, दोलखा, सिन्धुली, महोत्तरीलगायतका जिल्लाका विरामीलाई पनि उपचारको लागि मन्थली पायक पर्ने घिमिरले बताए ।

सो उपचार केन्द्रमा एक पटकमा ५ जना विरामीको डायलासिस हुन्छ । एकजना विरामीको उपचारमा ४ घण्टा लाग्ने भएकोले एक दिनमा १५ जना विरामीको उपचार हुने उनले बताए । यो सेवा विरामीहरुले निशुल्क पाउने छन् ।

तामाकोसी सहकारी अस्पताल मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा सञ्चालित अस्पताल हो । यो अस्पताल सहकारीका शेयर सदस्यहरुबाट सञ्चालनमा रहेको छ । सो अस्तापलले आँखा तथा दाँतको सेवा लगायत अत्याधुनिक उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment