+
+

जोशीलाई प्रधानन्याधीशको सुझाव : अदालतलाई बन्धक नबनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १८ गते १३:५६

१८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

बुधबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले जोशीलाई अदालतलाई बन्धक नबनाउन र निकास दिन आग्रह गरे ।

‘वरिष्ठ न्यायाधीशको हिसाबले अब उहाँले अदालतलाई बन्धक बनाउनु हुँदैन, अदालतलाई अझै विवादमा पार्नु हुदैन, मेरो उहालाई हार्दिक अनुरोध छ, अदालतलाई निकास दिलाउनुहुन्छ भन्ने विश्वास दिलाउँछु’ उनले भने ।

प्रधानन्यायाधीश जबराले अब जोशीको कुनै पेशी नतोकिने पनि बताए । ‘आज उहाँलाई पेशी तोकिएको छैन र भविष्यमा पनि तोकिने छैन’ उनले भने ।

अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा प्रश्न उठेकाले आफूले गम्भीर निर्णय लिएको पनि प्रधानन्यायाधीश जबराले बताए । ‘अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा कतै पनि प्रश्न उठ्न हुँदैन’ उनले भने ‘अदालतको जनआस्थामा यदि वृद्धि हुन्छ भने हामी सबैले हाम्रा विषयमा उठेका गम्भीर प्रश्नहरुबाट हामी बाटो लाग्नुपर्छ ।’

आफूले संसदीय सुनुवाइ समितिमा पनि यस विषयमा प्रतिवद्धता जनाएर आएको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले सार्वभौम संसदको निर्णय मान्नुपर्ने पनि बताए ।

‘सार्वभौम सम्पन्न संसदीय समितको निर्णयलाई मान्नुपर्छ र त्यसको निर्णयको सम्मान हुनुपर्छ, म प्रस्तावित प्रधानन्यायाधीशको हिसाबले प्रधानन्यायाधीशको पदमा आएँ भने म सुनुवाइ समितिको सम्मान गर्छु भनेको थिएँ’ उनले भने ‘यो (जोशीविरुद्धको निर्णय) मैले त्यहाँ गरेको प्रतिवद्धता हो ।’

आफूले सबै नागरिक, पत्रकार, सेवाग्राही, कानून ब्यवसायी र सबै न्यायाधीशको भावनाअनुसार कठोर निर्णय लिएको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले आफ्ना सहपाठी जोशीविरुद्ध यस्तो निर्णय गर्दा दुखी भएको बताए ।

‘आज मैले सबै नागरिक, पत्रकार, सेवाग्राही, कानून ब्यवसायी र सबै मित्रहरुको

भावनाबाट कठोर निर्णय गरेको छु’ उनले भने ‘साथीभाइको नाता सम्बन्धले मात्र हुँदैन । त्यसकारण मैले यो गम्भीर निर्णय लिएको हुँ ।’

सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी बुधबार प्रधानन्यायाधीश जबरालाई बधाइ दिन सर्वोच्च अदालत आएका थिए । तर पत्रकार सम्मेलनमा अरु सबै न्यायाधीशलाई सहभागी गराए पनि जबराले उनलाई सहभागी गराएनन् ।

शैक्षिक प्रमाणपत्र विवादलगायतका कारणले संसदीय सुनवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि यसअघि ओमप्रकाश मिश्रको कार्यकालमा भने उनी न्यायाधीशको भूमिकामा रहेका थिए । तर जबराले उनलाई न्यायाधीशको भूमिकामा पनि काम नगर्न सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?