Comments Add Comment

खादा विवादमा मुछिएका मेयरले भनेः आई एम सरी !

२० पुस, काठमाडौैं । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी ‘खादा’ को विवादमा मुछिएका छन् । स्वागत तथा सम्मान कार्यक्रमहरुमा व्यापक प्रचलनमा रहेको खादाका विषयमा उनले तीन दिन अगाडि विवादास्पद अभिव्यक्ति दिएका थिए ।

गुरुङ समुदायले मनाउने पर्व तमू ल्होसारका अवसरमा बिर्तामोड–१० सैनिक बजारस्थित धर्मचक्र गुम्बामा आयोजित कार्यक्रममा मेयर सिवाकोटीलाई प्रमुख अतिथि बनाइएको थियो । सो कार्यक्रममा खादा लगाएर स्वागत गर्न खोज्दा सिवाकोटीले अस्वीकार गरेका थिए ।

आफ्नो मन्तव्यका क्रममा उनले खादाको बढ्दो प्रयोगप्रति असन्तुष्टि व्यक्त गरेका थिए । ‘यो खादा यहाँबाट घर त लगिन्छ, तर न केटाकेटीको आची पुछ्न काम लाग्छ, न घरमा पोछा लगाउन नै,’ सिवाकोटीले भनेका थिए, ‘यो केही काममा नआउने खादा म लगाउँदिनँ ।’

कार्यक्रममा बोल्ने क्रममा मेयर सिवाकोटीले अरुलाई पनि खादाको प्रयोग नगर्न सुझाएका थिए । ‘मैले बारम्बार भन्दै आएको छु, यो नगरभित्र खादा लगाउन पाइँदैन, तर मेरै नगरको वडाध्यक्षले लगाएर बसेका छन्,’ उनले बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङतिर हेर्दै भनेका थिए ।

उक्त कार्यक्रममा मेयरको भनाइमा कसैले विरोध गर्ने हिम्मत जुटाएनन् । तीन दिनपछि तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति झापाले पत्रकार सम्मेलन नै गरेर मेयरको अभिव्यक्तिको विरोध गर्‍यो ।

‘हामी बौद्ध धर्म मान्नेहरुको लागि खादाको ठूलो धार्मिक महत्व छ, यसलाई हामी शुभ कार्य र मृत्यू कर्ममा समेत प्रयोग गर्छौं,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति झापाका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘खादाको विषयमा मनपरि बोल्ने मेयरले आफ्नो भनाई नसच्याए हामी आन्दोलनमा उत्रिन्छौं ।’

यसबारे अनलाइनखबरले मेयर सिवाकोटीसँग प्रश्न गर्दा उनले यस्तो प्रष्टीकरण दिएः

मलाई जुनसुकै कार्यक्रममा खादाको प्रयोग पहिलेदेखि नै चित्त बुझ्दैनथ्यो । मेयर भएदेखि यता सयौं कार्यक्रममा मैले खादाको विरोधमा बोल्दै आएको छु । आफू पनि खादाको प्रयोग नगर्ने र आफ्नो नगरमा अरुलाई पनि प्रयोग गर्न नदिने बताइरहेको छु । अहिलेसम्म कतै विवाद उब्जेको थिएन ।

मेरो धारणा के हो भने यो कुनै प्रयोगमा आउने वस्तु नै होइन भने बेकारमा किन यसमा पैसा खर्च गर्ने ? खादा किन्ने पैसा अन्धा–अपांगलाई दिउँ, धर्म हुन्छ । मानिसका घर दुईवटा हुन्छन् । एउटा भौतिक र अर्को आध्यात्मिक । आध्यात्मिक घर भनेको धर्म नै हो । यदि हामीले खादा प्रयोग गर्ने पैसा बचाएर कुनै गरिब दुखी अन्धा–अपांगलाई दियौं भने उनीहरुले हामीलाई आशिर्वाद दिन्छन् ।

तर, जब अस्तिको कार्यक्रममा बोलेको कुरालाई लिएर केही विवाद भयो, त्यसपछि मैले खादाको विषयमा अलि बढी गहिरिएर अध्ययन गरेँ । अनि बुझेँ कि यो उहाँहरुको धर्म र संस्कृतिसँग जोडिएको वस्तु रहेछ । मैले पहिले अञ्जानमा टिप्पणी गरेको हुँ । यसबाट उहाँहरुको चित्त दुख्नु स्वाभाविकै हो । बल्ल मैले कुरा बुझेँ । अब म खादा लगाउन इन्कार गर्दिनँ । मेरो अभिव्यक्तिबाट चोट पुगेकाहरुसँग आई एम सरी भन्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment