Comments Add Comment

डेढ दर्जन देशका पर्यटन व्यवसायी लुम्बिनीमा

२७ पुस,बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार) शुरु भएको छ । मार्टको शुक्रबार (आज) लुम्बिनीस्थित पवित्र उद्यानमा औपचारिक उद्घाटन हुंदैछ ।

नेपालका विभिन्न पर्यटकीय गन्तव्य अवलोकनपछि १७ देशका पर्यटन व्यवसायी बुद्ध जन्मस्थल लुम्बिनीमा भेला भएका हुन् । तीन दिनसम्म चल्ने मार्टमा विभिन्न बौद्ध विद्धान, पर्यटन व्यवसायी लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०७६ र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सफल बनाउन उक्त कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ । मार्टमा म्यानमार, थाइल्याण्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीन लगायत गरी १७ वटा मुलुकबाट टूर अपरेटर, ब्लगरहरु, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरु सहभागी छन् ।

यस्तै चीनको एउटा टेलिभिजनका संचारकर्मी पनि यहाँ आएका छन् । मार्टका सदस्य सचिव तथा नाट्टाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अच्युत शर्मा गुरागाईका अनुसार लुम्बिनीमा विभिन्न मुलुकका पर्यटन सम्बद्ध ६७ जना व्यवसायी, ब्गलर, संचारकर्मीहरु आएका छन् । विश्व बजारमा नेपालका पर्यटकीय स्थलहरुको व्यापक प्रचारप्रसार गर्न मार्ट आयोजना गरिएको गुरागाईले बताए ।

नेपालका पर्यटकीय स्थलहरुमा अधिक विदेशी पर्यटक भित्राउने उद्देश्यसहित नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पहिलोपटक बुद्ध जन्मस्थलमा मार्ट सुरु भएको हो । मार्टले लुम्बिनी क्षेत्रमा आउने पर्यटकहरुको बसाई लम्ब्याउन समेत सहयोग गर्ने उनले बताए ।

मार्टको पहिलो दिन सहभागी विदेशी पर्यटन व्यवसायीले विभिन्न पर्यटकीय स्थलहरु घुमाइएको छ । बिहीबार उनीहरुलाई नवलपरासीको रामग्राम नगरपालिकाले अभिनन्दन समेत गरेको छ । अभिनन्दनपछि व्यवसायीको टोलीले बुद्ध मावली रुपन्देही देवदहको अवलोकन गरेको थियो । त्यहाँ देवदह नगरपालिकाले स्थानीय परिकारसहितको ‘मेयर लञ्च’ गराएको थियो । त्यसपश्चात व्यवसायीहरुले कपिलवस्तु र बुद्ध जन्मस्थल लुम्बिनी अवलोकन तथा भ्रमण गरेका छन् । यसअघि उनीहरुलाई काठमाडौं र चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाइएको थियो ।

ट्राभल मार्टले बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताहरुबीच सेवा तथा व्यापार विनिमयको अवसर श्रृजना गर्ने स्थानीय आयोजकका संयोजक सागर अधिकारीले बताए । लुम्बिनीसहित कपिलवस्तु, देवदह, रामग्रामलगायतका स्थानमा विदेशी पर्यटन व्यवसायी र टूर गाइडहरुलाई अवलोकन गराइएकाले यस क्षेत्रमा पर्यटकहरुको बसाइ लम्ब्याउनसमेत मार्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

कार्यक्रममा पर्यटन लक्षित बिभिन्न कार्यपत्र र नेपालका बौद्ध सर्किटको प्रबद्र्धनका बारेमा छलफल समेत हुनेछ भने बिटुबी मुख्य कार्यक्रम भएको आयोजकले जनाएका छन् । मार्टले नेपालमा होटल व्यवस्थापन राम्रो र पर्याप्त छैनन् भनेर विश्व बजारमा परेको गलत प्रभाव मेटाउन समेत भूमिका खेल्ने पर्यटन व्यवसायीको विश्वास छ । मार्टबाट लुम्बिनीसँगै बुद्ध जिवनीमा आधारित अन्य क्षेत्र र पाल्पाको रानीमहल, रिडी, रेसुंगा, स्वर्गद्वारी, सुपादेउराली, बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पोखरा, काठमाडौं, मुक्तिनाथ, सगरमाथा, पशुपतिनाथ, जानकी मन्दिर लगायत महत्वपूर्ण स्थलहरुको प्रबद्र्धन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment